आम जनमासमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने कौतुहलता भइरहेको बेला सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुबीच बालकोटमा छलफल भइरहेको छ ।
सरकार बन्नका लागि २७० सिटमध्ये १३८ सिट चाहिन्छ तर कुनै पनि दलले बहुमत ल्याउन नसक्दा कसको नेतृत्वमा सरकार गठन होला भन्ने धेरैको चासोको विषय बनेको छ । सरकार बनाउनका लागि आज बिहानैदेखि दलका शिर्ष नेताहरु छलफलमा जुटिरहेका छन् । एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा १६७ सिट हुन्छ र सजिलै सरकार बनाउन सकिन्छ तर त्यो सम्भावना अति न्युन देखिन्छ ।
आज बिहान सत्ता गठबन्धनका नेताहरु सरकार गठनका लागि बालुवाटारमा बैठक बसेका थिए तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबिच सहमति हुन नसक्दा प्रचण्ड बैठक छाडेर बालकोटमा नेकपा एमालेका अध्यक्ष ओलीसँग र्वार्ता गर्नका लागि गएका थिए ।
एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपाका नेताहरुबीच हुँदै गरेको छलफललाई हेर्ने हो भने ओली अथवा प्रचण्डको नेतृत्वमा सरकार गठन हुनसक्ने सम्भावना ज्यादा देखिन्छ । बिहान सत्ता गठबन्धनको बैठकबाट बाहिँरिदै प्रचण्डले अब सत्ता गठबन्धनको औचित्य नरहेको बताएका थिए । त्यस्तै कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका थिए ।
एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपा मिल्दा १५६ सिट हुन्छ, यसलाई हेर्ने हो भने अहिले बसिरहेको बैठकमा सहमति जुट्यो भने सजिलै सरकार बन्छ । तर प्रधानमन्त्री को बन्छ यो भने यत्तिकै भन्न सक्ने अवस्था छैन ।





