रसुवाको चिलिमे इलाका क्षेत्रमा निर्माणाधीन तल्लो साञ्जेन जलविद्युत् आयोजनाको अधिकांश संरचना निर्माण पूरा भएको छ। ४२ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ देखि सुरू भएको उक्त आयोजनाले तीन हजार ६३० मिटर हेडरेस् सुरुङ, एक हजार ५१ मिटर उचाइको सर्ज ट्यांक, ४७८ मिटर पेनस्टक सुरूङ तथा विद्युत्गृहसमेत निर्माण सम्पन्न गरिसकेको छ।
विद्युत्गृहमा पानी ल्याउने सुरूङको निर्माणपश्चात् कंक्रट तथा पेनस्टक सुरूङमा पाइप राख्ने कामसमेत धमाधम अगाडि बढिरहेको आयोजनाले जनाएको छ। संरचना निर्माणको समग्र प्रगति ८४ प्रतिशत पूरा भए पनि विद्युत्गृहभित्र कामको जिम्मालिने डिइसी नामक चिनियाँ कम्पनीका प्राविधिक नआएका कारण उपकरण जडानको काम बिलम्व हुँदै गएको बताइएको छ ।
आयोजना प्रमुख अर्पणबहादुर सिंहले छिटोभन्दा छिटो उपकरण जडान गरिदिन प्राविधिक समूहसँग संवाद भइरहेको जानकारी दिए। उपकरण जडानको प्रगति ५० प्रतिशत हासिल गर्नुपर्ने समय बितिसक्दा कामको जिम्मा लिने सो कम्पनीका प्राविधिकले भने कोरोनाको समस्या देखाइ कार्यस्थलमा आउन आनाकानी गरिरहेको जनाइएको छ।
विद्युत्गृहमा जडान हुने चौसठ्ठी प्रतिशत उपकरण आयोजनाको निर्माणस्थलमा ल्याइसकिएको र बाँकी सामग्री ल्याउने तयारी गरिएको बताइन्छ। उक्त विद्युत् आयोजना सम्पन्न गर्न प्रतिमेगावाट १२ करोड ६३ लाख रुपैयाँ खर्च हुने लागत अनुमान गरिएको आयोजना प्रमुख सिंहले जानकारी दिए। विद्युत्गृहको उपकरण जडानका लागि कार्य प्रारम्भ भएको मितिले लगभग एक वर्ष लाग्ने भएकाले जडानकर्तालाई छिटो आइदिन ताकेता भइरहेको बताइन्छ। यस्तै १४ दशमलब आठ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाले पनि निर्माण गर्नुपर्ने ९८ प्रतिशत संरचना तयार पारी उपकरण जडानका लागि चिनियाँ प्राविधिकको प्रतीक्षा गरिरहेको छ।
चिनियाँ प्राविधिक नआएकै कारण सिम्बुगाउँमा निर्माण भएको माथिल्लो विद्युत्गृहमा समेत उपकरण जडान हुन नसकेको आयोजना प्रमुख सुदन महतले बताए। विद्युत् विकासको काम द्रुतरूपले अगाडि बढाउन सञ्जेन जलविद्युत् कम्पनीले दुई स्थानमा रहने विद्युत्गृहका लागि छुट्टाछुट्टै आयोजना प्रमुख तोकी कार्य अगाडि बढाइरहेको छ।





