नेकपा एमाले परित्याग गरेका कम्युनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता भूसालले आफु नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको स्वघोषणा गर्दै पार्टीको सदस्यता नविकरण गर्न निवेदन दिने बताएका हुन् । नेता भूसालले समाजवादको कार्यदिशालाई अघि बढाउनका लागि समाजवादी जस्तो अरु कुनै पार्टी आफुले नदेखेको दावी गरे ।
त्यस्तै उनले कम्युनिस्ट आन्दोलनका लागि एकीकृत समाजवादी असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको जिकिर गरे । राजनीति र अदालतको गठजोरले कम्युनिष्ट पार्टी बिभाजन गरेको र त्यसपछि बनेका अन्य दलहरुले समाजवादको कार्यदिशा अघि बढाउन नसक्ने उनले आरोप लगाए ।
भूसालले आजको समाजवादलाई माओवादको टोपीले समेट्न नसक्ने र एमालेको सिद्धान्त पनि अहिले जबजको व्याज मात्रै खाने माध्यम बनाएको धारणा राखे । उनले नेकपाको खास उतराधिकारी नेकपा एकीकृत समाजवादी नै भएको र नर्वौ महाधिवेशनका बाँकी कामहरु पुरा गर्नुपर्ने आफ्नो मागलाई पुरा गर्ने आश्वासन पनि नेतृत्वबाट पाएको बताए ।
नेता भूसालले नेकपा गठन हुँदाको कार्यदिशा कार्यान्वयन हुन नसक्दा भ्रष्टाचार नियन्त्रणका साथै कृषि क्रान्ति सम्भव हुन नसकेको तर्क गरे । उनले केपी ओलीकै कारण मुलुकले पटक पटक ठूलो अवसर गुमाएको र ओलीले नै एमालेलाई २०४७ सालमा फर्काएको आरोप लगाए ।