Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

नयाँ मन्त्रीहरुको सपथ १ बजे, राजेन्द्र लिडदेन उपप्रधान तथा उर्जा मन्त्री


आज १ बजे नयाँ मन्त्रीहरुले सपथ लिँदैछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको जानकारी अनुसार नयाँ मन्त्रीहरुले १ बजे सपथ लिने भएका हुन् । सोमबार बसेको सत्तारुढ दलहरुको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएसँगै मन्त्रीहरुको सपथको समय समेत तय भएको हो ।

सोमबार बसेको सत्तारुढ दलहरुको बैठकमा राप्रपाले उपप्रधान सहित उर्जा, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय पाउने सहमति भएको छ भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र श्रम मन्त्रालयसहित थप एक राज्यमन्त्री पाउने भएको छ ।

राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिडदेन आफैंले सरकारको नेतृत्व गर्नेछन् । सरकारलाई बाहिरै बसेर सघाउने बताउँदै आएका लिडदेन उपप्रधान तथा उर्जा मन्त्री सहित सरकारमा सहभागी हुन लागेका हुन् । युवा मन्त्रालयमा ज्ञानेन्द्र शाही वा दिपकबहादुर सिंह मध्ये एकलाई पठाउने तयारी छ । खानेपानी मन्त्रालय विक्रम पाण्डेको भागमा पर्ने राप्रपाका एक प्रवक्ताले जानकारी दिए । यद्यपि यसबारे अन्तिम निर्णय लिने अधिकार राजेन्द्र लिडदेनलाई नै दिइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शिशिर खनाल स्वास्थ्य मन्त्री बन्ने लगभग निश्चित छ भने श्रम मन्त्रालयमा डोलप्रसाद अर्याललाई पठाउने रास्वपा स्रोतको भनाई छ । रास्वपाले दाबी गर्दै आएको स्वास्थ्य मन्त्रालय भने नेकपा एमालेको भागमा परेको छ । यद्यपि अन्तिम समय सम्म भएपनि स्वास्थ्य मन्त्रालय आफ्नो दलतिर तान्ने प्रयासमा गृहमन्त्री रवि लामिछाने देखिएका छन् । स्वास्थ्य मन्त्रालयसँग श्रम मन्त्रालय साटफेर गर्ने उनको योजना छ । विज्ञताका आधारमा मन्त्री नियुक्त गर्ने बताउँदै आएका लामिछाने डा.तोषिमा कार्कीलाई मन्त्री बनाउँन चाहन्छन् । तर, स्वास्थ्य मन्त्री एमालेको भागमा पर्दा डा.तोषिमा मन्त्रपिरिषदमा अटाउने सम्भावना छैन । यता सोविता गौतम भने मन्त्रिपरिषदमा नअटाउने भएपछि उपसभामुखको लबिडमा लागेकी छिन् । सोमबार बसेको सत्तारुढ दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भइसकेको छ ।

सोमबारको सहमति अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । एमालेले उपप्रधान सहित अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ । यस्तै माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । उसले पनि उपप्रधान सहित भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ । जनमत पार्टीको भागमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय परेको छ भने जसपाको भागमा शहरी विकाससहित दुई मन्त्रालय परेपनि उपराष्ट्रपति पद नपाएको झोकमा ऊ सरकारमा जाने सम्भावना न्यून छ ।


प्रतिक्रिया दिनुहोस !
विचार