
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि इलामका एक व्यवसायी प्रेम प्रसाद आचार्य सन्ताषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडि अगाडि आएर आफ्नो शरीरमा आगो लगाएको केहि समयमै प्रहरी आगो निभाई उनलाई किर्तिपुर अस्पताल पुर्याएको थियो ।
उनलाई अस्पताल पुर्याएको केहि घण्टा नबित्दै स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्की आचार्यलाई भेट्न भनि कीर्तिपुर अस्पतालको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुगेकी थिइन् । उनीसँगै केहि क्यामेराम्यानहरु पनि अस्पताल पुगेका थिए । अस्पतालले आचार्यलाई इमर्जेन्सीमा राखिएको थियो ।
राज्यमन्त्रीले घाइते भएका आचार्यसँग गरेको संवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसका साथसाथै उक्त भिडियो विवादास्पद पनि बनेको छ । राज्यमन्त्रीले अस्पतालमा कसैको पनि अनुमति नलिइकन आचार्यलाई भेट्न गएको बुझिएको छ र भिडियो खिच्नका लागि पहिला अस्पताल प्रशासनसँग अनुमति लिनुपर्नेछ र दास्रो बिरामीको अनुमति लिनुपर्छ तर राज्यमन्त्रीले यी कुनैको पनि अनुमति नलिएको अस्पतालको भनाइ छ ।
घाइते भएका आचार्यलाई राखिएको स्थान अति नै संवेदनशिल स्थान हो । त्यहाँ कोहि पनि जाँदा मास्क, गाउन, पञ्जा आदि लगाएर मात्र प्रवेश गर्न सकिन्छ तर भिडिओमा देखिएअनुसार राज्यमन्त्री कार्कीले गाउन र मास्क लगाएपनि पञ्जा भने लगाएकी छैनन् । योसँगै सुरक्षा प्रोटोकलको कुरामा पनि उनले न्यूनतम मापदण्ड मात्र पालना गरेको देखिएको छ । उनले ह्यान्ड स्यानिटाइज गरे पनि पञ्जा लगाउनु न्यूनतम सुरक्षा प्रोटोकलभित्र पर्छ ।
जलेका भागहरुमा किटाँणुले छिटो आक्रमण गर्ने हुँदा सबै कुराहरुको ख्याल गर्नुपर्ने अस्पतालका बर्न युनिटका सर्जरी विभागका प्रमुख डाक्टर सुरेन्द्र बस्नेतले बताए । कार्की राज्यमन्त्री मात्रै नभएर डाक्टर पनि भएका कारण उनले यी कुराहरुमा ख्याल गर्नुपर्ने आम मानिसको भनाइ छ ।
नेपालमा धेरै जसो बर्नका बिरामीहरूको मृत्यु संक्रमणका कारण हुने उल्लेख गर्दै डा. बस्नेतले भने, ‘बर्नको पुरानो केस हो भने फरक पर्दैन किनभने त्यस बेलासम्म उहाँहरूमा संक्रमण भइसकेको हुन्छ तर जो मान्छेलाई अहिले बर्न भयो र तुरून्त अस्पताल लगियो भने ती बिरामीलाई संक्रमणबाट सक्दो जोगाउनुपर्छ र त्यसका लागि एउटा भनेको भिजिटर कन्ट्रोल नै हो । तर यो घटनालाई संक्रमणसँग जोड्न भने मिल्दैन । उनको शरीरको ८० प्रतिशत भन्दा बढि भागहरु जलिसकेका कारण मृत्यु भएको हो ।’
यसलाई कतिले राज्यमन्त्री कार्कीले राम्रो गर्नुभएको भनेका छन् भने कतिपयले यसलाई पब्लिसिटीका लागि गरेको भनिरहेका छन् । बिरामी भेटेर बाहिर आएर प्रतिकृया दिएको भए त्यसलाई ठिक राम्रो मान्न सकिन्थ्यो तर बिरामीसँगै गरेको प्रत्यक्ष संवादले उहाँलाई विवादमा ल्याएको एक व्यवसायीको भनाइ छ ।