
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ कुरिरहन नपर्ने बताएका छन् । रवि लामिछानेले नेपाली नागरिकता पुनःप्राप्त गरेकै दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर लामिछानेलाई गृहमन्त्री बनाइहाल्न दबाब दिएका ओलीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरुले नपाउने समेत दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्ण फैसलाको पाठ कुरिरहन नपर्ने बताउँदै भने, पूर्ण पाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?
सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म रवि लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई गराएसँगै केपी शर्मा ओलीको कडा प्रतिकृया सार्वजनिक भएको हो । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले फैसलाको पूर्ण पाठ कुर्न भनेका थिए । तर, फैसलाको पूर्ण पाठ आउनुअघि नै लामिछानेलाई गृहमन्त्री बनाउन ओलीले प्रचण्डलाई पटकपटक दबाब दिइरहेका छन् भने गृहमन्त्रालय आफूहरुले नपाए सरकारबाट बाहिरिने रास्वपाले चेतावनी दिँदै आएको छ ।
यसैबीच लामिछानेलाई गृहमन्त्री बनाउँन ओलीले दबाब दिइरहँदा उता लामिछानेको पार्टी नै खारेज गर्न माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा उजुरी दायर गरेका छन् । रवि लामिछानेको नागरिकताको विषयलाई लिएर यसअघि सर्वोच्च अदालत गएका सफलले लामिछानेको पार्टीका आधा दर्जन बढी सांसदले दोहोरो पासपोर्ट बोकेको समेत आरोप लगाएका छन् ।