
ललितपुर, २४ फागुन । क्यान्सरका विरामीहरुको उपचारमा पुरयाएको सेवाको कदर गर्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा कार्यरत १५ जना नर्सलाई बुधबार सम्मान गरिएको छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
क्यान्सरको उपचार पछि निको भई पुर्नजीवन पाएका क्यान्सर सर्भाइभरहरुको ४० औं भेलामा नेपाल क्यान्सर सहयोग समूहले उपचारको लागि सहयोगी हातको सहयोगमा ति नर्सहरुलाई सम्मान गरेकोे हो ।
नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठ, समूहका उपाध्यक्ष शशांक शर्मा र महासचिव गणेशभक्त श्रेष्ठ लगायतले ती नर्सहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
यसरी सम्मानित भएका नर्सहरुमा लहरमाया भासिंका, अनुजा शर्मा, रेजिना कट्टेल, प्रविना खड्का, उषा पौडेल, मन्दिरा बानियाँ, रोजिना महर्जन, प्रजना महर्जन, पुजा ढुंगाना, ऋचा श्रेष्ठ, अमिका श्रेष्ठ, संगिता महर्जन, विजयलक्ष्मी तण्डुकार र निर्जना अधिकारी छन् ।
त्यस अवसरमा नेपाल क्यान्सर सहयोग समूहकी संयोजक एवम् नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी निर्देशक स्वरुपा श्रेष्ठलाई क्यान्सर निको भएकाहरुले महंगा उपहार दिएर सम्मान गरेका थिए भने सम्मानित नर्सहरु र क्यान्सर निको भएकाहरुको सम्मानमा केक काटेर रमाइलो गरिएको थियो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा क्यान्सर उपचारको लागि आएका सबै विरामीहरुलाई नेपाल क्यान्सर सहयोग समूह आवश्यक परामर्श र आर्थिक अवस्था नाजुक भएका विरामीको उपचारको लागि उपचारको लागि सहयोगी हातहरुले आर्थिक सहयोग समेत गर्दै आएको छ ।