
नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं २ को उपचुनावमा उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले रवि लामिछाने चितवनमा पराजित हुने बताएका छन् । नेपाली कांग्रेसले आफूलाई उम्मेदवार तय गरे लगत्तै श्रेष्ठले आफ्नो जीत सुनिश्चित भएको बताएका हुन् । रवि लामिछानेलाई हावाहुरीको संज्ञा दिँदै श्रेष्ठले हावाहुरी सधै नचल्ने बताए । मंसिरको चुनाव हावाहुरी रहेको भन्दै उनले हावाहुरी ल्याउने मान्छे नै आफ्नो पहिचान खोज्दै हिँडेको बताए । रवि लामिछानेको बोली र व्यवहारमा स्थिरता नदेखिएको बताउँदै उनले सत्ताका लागि जे पनि गर्न तयार रहेको मान्छेका रुपमा रवि चित्रित भएको दाबी गरे ।
आफू झण्डै ३ दशकदेखि जनताका माझमा रहेको बताउँदै उनले जनताका सुख दुःखको सहयात्रीलाई जनताले जिताउने बताए । चितवन सचेत जनता भएको ठाउँ उल्लेख गर्दै उनले मंसिरको चुनावी परिणाम अहिले नरहने जिकिर गरे । रवि लामिछानेको चरित्र मंसिरमा जनताले राम्रोसँग बुझ्न नपाएको भन्दै उनले त्यतिबेला राम्रै सोचेर जनताले मत दिएको भएपनि यो बीचमा जनताले रविको चरित्रबारे परिचित हुने अवसर पाएको बताए ।
यसैबीच चितवन कांग्रेसका पूर्व सभापति जीतनारायण श्रेष्ठको उम्मेदवारी तय भएसँगै चितवनमा राजनीतिक सरगर्मी बढेको छ । यता नेकपा एमालेले भने यो समाचार तयार पार्दासम्म चितवन २ मा कसलाई उम्मेदवार बनाउँने भन्ने निर्णय गरेको छैन । चितवन २ मा यसअघि उम्मेदवार रहेका कृष्णभक्त पोखरेलले पुनः उम्मेदवार बन्ने इच्छा देखाएका छैनन् भने एमालेका हेभीवेट अन्य नेताले रवि लामिछानेसँग भिड्ने या नभिड्ने निक्र्योल गरेका छैनन् ।
एमालेका स्थायी कमिटि सदस्य काशीनाथ अधिकारी, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, पूर्व मेयर गोपी श्रेष्ठ र तिलचन्द्र भट्टराई मध्ये एकजनालाई उम्मेदवार बनाउँने एमाले चितवनको तयारी छ । तर, एमाले केन्द्रमा भने रवी लामिछानेसँग चुनाव लड्न हेभीवेट उम्मेदवारलाई नै पठाउने कि भन्ने चर्चा पनि छ । दाङमा रेखा शर्मासँग पराजित भएका महासचिव शंकर पोखरेललाई चितवनमा रविसँग भिड्न केही नेताले आग्रह गरेपनि उनले आँट नगरेको एमालेका एक नेताले बताए । पार्टी अध्यक्ष, महासचिव लगायतका नेताहरु रवि लामिछानेसँग सम्बन्ध बिगार्न नहुने पक्षमा देखिएको भन्दै उनले रवि लामिछानेलाई सहज हुनेगरी उम्मेदवार तय गर्ने पक्षमा शीर्ष नेतृत्व रहेको बताए । रवि लामिछाने नेतृत्वको पार्टीले कोही कसैसँग तालमेल नगरी उपनिर्वाचन लड्ने निर्णय गरेको भएपनि एमालेले रवि लामिछानेलाई सहज हुनेगरी कमजोर उम्मेदवार उठाउन सक्ने उनले बताए ।
यसैबीच चितवन २ मा रवि लामिछानेलाई सहज हुनेगरी उम्मेदवार तय गर्ने सत्ता गठबन्धनबीच अनौपचारिक सहमति भएपनि चितवन कांग्रेसका पूर्व पार्टी सभापतिलाई नै कांग्रेसले अघि सारेपछि गठबन्धनभित्र चिसो पसेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सत्ता गठबन्धनकै एक सहयात्री दलका रुपमा रहेको छ ।