
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा डा.स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतार्दै गर्दा नेकपा एमालेले पूर्व एआइजी सर्वेन्द्रनाथ खनाललाई त्यो क्षेत्रमा चुनाव लड्न पठाउने निर्णय गरेको छ । शनिबार बसेको नेकपा एमालेको बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउँने निर्णय गरेको हो ।
पूर्व एआइजी सर्वेन्द्रनाथ खनाल यसअघि गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए । काठमाडौंमा पराजित भएका पूर्व एआइजी सर्वेन्द्रनाथ खनाल केही महिनाअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसले भने तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँने निर्णय यसअघि नै गरिसकेको छ । गोविन्द भट्टराईलाई उम्मेदवार बनाउँने निर्णय कांग्रेसले गरेलगत्तै पार्टी नै परित्याग गरेर रास्वापामा पुगेका डा.स्वर्णिम वाग्ले र काठमाडौं ६ मा पराजित भएर पनि तनहुँबाट चुनाव जित्ने आँटका साथ चुनावी मैदानमा उत्रन लागेका सर्वेन्द्र खनालको उम्मेदवारीले तनहुँ १ को उपनिर्वाचन रोचक हुने देखिएको छ ।
तनहुँ १ मा गएको मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो । अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन जितेको त्यो क्षेत्र यसपटक कसको पोल्टामा पर्ने हो अहिल्यै यसै भन्न सकिन्नँ । नेपाली कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिँदा दिँदै पनि कांग्रेसले जितेको यो क्षेत्र यसपटक कांग्रेसले जोगाउला या गुमाउला त्यसका लागि वैशाख १० कुर्नुको विकल्प छैन । तर, जे होस् डा.स्वर्णिम वाग्ले, सर्वेन्द्रनाथ खनाल र गोविन्द भट्टराई जस्ता चर्चित व्यक्तिहरुको उम्मेदवारीले तनहुँ १ मा सबैको ध्यान भने तान्न शुरु गरिसकेको छ ।
गएको मंसिर ४ को निर्वाचनमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले एमालेका एकबहादुर रानालाई ५ हजार ३ सय ८० मतान्तरले हराएका थिए । एमाले केन्द्रले यसपटक पनि एकबहादुर रानालाई त्यो क्षेत्रमा उम्मेदवार बनाउँन चाहेको थियो । तर, रानाले उम्मेदवार बन्न अनिच्छा देखाएपछि सर्वेन्द्र खनालले अवसर पाएका छन् ।
मंसिर ४ को निर्वाचनमा पौडेलले २५ हजार ३ सय ६१ मत ल्याउँदा रानाले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीले ६ हजार ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । यस क्षेत्रमा राप्रपाको २ हजार ४ सय ८४ मत छ ।