Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

काठमाडौंमा मेयर बालेन र हर्कको भेट, अरु क कसलाई भेटे हर्कले ? (भिडियोसहित)


काठमाडौंमा धरानका मेयर हर्क साम्पाङ यतिबेला व्यस्त छन् । प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रीलाई धमाधम भेटिरहेका साम्पाङले यसबीचमा काठमाडौंका मेयर बालेन साहसँग पनि भेट गरेका छन् ।

केहीमहिनाअघि काठमाडौं आएका बेला धरानका मेयर हर्क साम्पाङलाई काठमाडौंका मेयर बालेन साहले बाल मतलब दिएका थिए । त्यसको झोक साम्पाङले सामाजिक सञ्जालमा व्यापक मात्रामा पोखे ।

केही साता त सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन साहको दोहोरी नै चल्यो । एकले अर्कालाई भन्न केही बाँकी राखेनन् । हर्क साम्पाङले त दिनमा बालेन विरोधी १० वटा सम्म फेसबुक स्टाटस लेखे ।

बालेन र हर्कको स्टाटस वार हेर्दा लाग्थ्यो यी दुई अब कहिल्यै मिल्न सक्दैनन् । तर, स्वतन्त्र हैसियतमा स्थानीय तहको निर्वाचन जितेका यी दुई मेयरले मिल्न सक्दैनन् भन्ने आंकलनलाई गलत सावित गरिदिए ।

सोमबारदेखि काठमाडौंमा भेटघाटमा व्यस्त हर्कले काठमाडौंका मेयर बालेन साहलाई उनकै कार्यकक्षमा गएर भेट मात्रै गरेनन् भेट सकिसकेपछि बालेनको प्रशंसामा केही शब्द पनि खर्चिए । बालेनसँग भेट गरेको तस्बीर सामाजिक सञ्जालमा अपलोड गर्दै हर्कले लेखे, कथाले माग्यो अब । स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन साहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ । यो बेला अरुले साथ दिउन् नदिउन् तर, मेरो साथ रहनेछ ।

हर्क साम्पाङले बालेनसँग भेट गर्दाका धेरै तस्बीर अपलोड गरेका छन् र भनेका छन्, आज बालेन साहज्यूसँग पहिलो भेट भयो । रमाइलो भयो कुराकानी । तर, कुराकानी के के भयो भन्ने विषय भने उनले खुलाएका छैनन् । भेटका तस्वीरमा बालेन र हर्कले एक अर्कालाई लोगो लगाइदिएको देखिन्छ र दुबै मेयर प्रसन्नँ मुद्रामा देखिन्छन् ।

बालेनलाई भेट्नुअघि साम्पाङले सोमबार प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई भेट गरेका थिए । प्रधानमन्त्री दाहालसँगको भेटमा मेयर साम्पाङले धरानमा कोशीबाट पानी ल्याउने योजना आउँदो बजेटमा राख्न आग्रह गरेको बताएका छन् । उनले धरानमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि कोशीबाट खानेपानी ल्याउने योजना नै प्रधानमन्त्रीलाई बुझाएका छन् । धराने जनतालाई पानी खुवाउने मूख्य योजनाका साथ आफू धरानको मेयर बनेको भन्दै उनले केही काम आफ्नो पहलमा गर्न सफल भएपनि संघीय सरकारको प्रत्यक्ष सहयोग आफूहरुलाई आवश्यक भएको बताएका छन् । प्रधानमन्त्रीलाई भेटेपछि धरानका मेयर हर्क साम्पाङ शहरी विकासमन्त्री सीता गुरुङलाई भेटन् गएका थिए । गुरुङसँग पनि खानेपानीको विषयमा नै कुरा भएको उनको भनाई छ ।

प्रधानमन्त्रीपछि मन्त्री भेटको दौडमा रहेका साम्पाङले धरान क्षेत्रबाटै प्रतिनिधिसभामा निर्वाचित जसपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राइसँग पनि भेट गरेका छन् । राईलाई भेटेर बधाई दिनुका साथै धरानको शैक्षिक समस्याका विषयमा मन्त्रीलाई अवगत गराएको उनले बताएका छन् । यस्तै मेयर राईले मंगलबार नै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासँग पनि भेट गरेका छन् । धरानको भौतिक पूर्वाधारमा सहयोग गर्न उनले मन्त्री ज्वालासँग आग्रह गरेको बताएका छन् भने भौतिक पूर्वाधारमन्त्रीसँग भेट गरेलगत्तै उनले उर्जा मन्त्री शक्ति बस्नेतसँग पनि भेट गरेका छन् । धरानको हाइटेन्सन लाइनका विषयमा मन्त्री बस्नेतसँग कुराकानी भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

मेयर साम्पाङले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग पनि भेट गरेका छन् उनले श्रेष्ठसँग भेट मात्र गरेनन् धरानको विकासका विषयमा सकारात्मक नबन्ने हो भने काठमाडौंमा अनसन नै बस्ने सम्मको चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा अपडेट भइरहने मेयर साम्पाङले हरेक भेटका तस्बीर अपलोड गरेका छन् भने सिहदरबारमा विभिन्न व्यक्तिले उनीसँग खिचेको सेल्फी पनि पोष्ट गरेका छन् । काठमाडौंको घेटघाट सकेर आफूलाई धरान फर्किने हतारोमा रहेको उल्लेख गर्दै उनले फेसबुकमै भनेका छन् ः मैले धरानमा भइरहेको श्रमदानवाला कामलाई असाध्यै मिस गरिरहेको छु ।


प्रतिक्रिया दिनुहोस !
विचार