रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाइँबीचको अडियो प्रकरणले राष्ट्रिय राजनीति तरंगित बनिरहेका बेला अडियो प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।
स्वास्थ्य मन्त्री बन्न पार्टीको कोर टिमले दुई करोड रुपैंयाँ मागेको र त्यसको व्यवस्था गरिदिन भन्दै व्यवसायी दुर्गा प्रसार्इँलाई सांसद ढाकाकुमार श्रेष्ठले आग्रह गरेको भनिएको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो प्रकरणबारे छानबिन गर्न भन्दै उजुरी नपरेपनि सार्वजनिक सञ्चार माध्यममा आएका समाचार र अडियोलाई नै आधार मानेर अख्तियारले अनुसन्धान प्रकृया अघि बढाएको बुझिएको छ ।
अनुसन्धानका लागि सांसद श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईँसँगै यो प्रकरणमा जोडिएका सम्भावित व्यक्तिहरुको स्पष्टिकरण लिन लागिएको अख्तियार स्रोतले बताएको छ । दुईदिनयता सार्वजनिक सञ्चार माध्यममा २ करोडवाला अडियो छ्याप्छ्याप्ती भएपछि सोमबार अख्तियारका पदाधिकारीबीच छलफल भएको थियो । प्राप्त जानकारी अनुसार छलफलका क्रममा पदाधिकारीहरुले तत्कालै अनुसन्धान प्रकृया अघि बढाउनुपर्ने बताएका थिए ।
सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईँबीचको फोन संवाद सार्वजनिक भएको केही घन्टामै यो प्रकरणसँग जोडिएको अर्को अडियो समेत सार्वजनिक भएको छ । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाकाकुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् ।