Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

बालेनले भने : सिंहदरबार अन्तै सारे हुन्छ


देश सफा गर्न सिंहदरबारमा रहेका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै पाँच दिनअघि विवादास्पद फेसबुक स्टाटस लेखेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदबारलाई काठमाडौं महानगरपालिकाबाट अन्तै सार्न संघीय सरकारलाई चेतावनी दिएका छन् । काठमाडौंको हितमा काम नगर्ने हो भने सिंहदरबारलाई अरु नै नगरपालिकामा सार्न भन्दै उनले सिंहदरबारलाई जहाँसुकै सारेपनि आफूहरुलाई मतलब नहुने बताएका छन् । उनले फेसबुकमा लेखेका छन् :
कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुस् । हामी काठमाडौबासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति हैन ।

उनको यो स्टाटसप्रति मिश्रित प्रतिकृया आएका छन् । यसअघि पाँच दिन पहिले उनले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै लेखेको स्टाटसले मन्त्रीपरिषद बैठकमै चर्चा पाएको थियो । मन्त्रीपरिषद बैठकमै बालेनको स्टाटसलाई अराजक भन्दै मन्त्रीहरुले आपत्ति जनाएका थिए भने संसद बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो । कांग्रेस महामन्त्री गगन थापाले बालेनसँग प्रधानमन्त्रीले वार्ता गर्नुपर्ने भन्दै संसद बैठकमै बालेनका विषयमा बोलेका थिए । बालेनले पाँचदिनअघि लेखेको स्टाटस चाहिँ यस्तो थियो :
आजबाट सिंहदरबारको फोहोर उठ्दैन, साच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।

पछिल्लोपटक एकपछि अर्को गर्दै बालेनका विवादास्पद स्टाटस आइरहेका बेला केहीले भने विवादास्पद स्टाटसमा बालेनलाई धरानका मेयर हर्क साम्पाङसँग तुलना गरेका छन् । साम्पाङले पनि केही महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा लगातार विवादास्पद स्टाटसहरु लेखेका थिए । तर, पछिल्लोपटक उनले स्टाटस लेखनमा आफैंले आफूमाथि लगाम लगाएका छन् । त्यतिबेला उनका स्टाटस बालेन लक्षित थिए भने फेसबुकमा उनी र बालेनकाबीचमा दोहोरी चलेको थियो । तर, हर्क साम्पाङ केहीदिनअघि काठमाडौं आएपछि उनले बालेनसँगको सम्बन्ध मात्रै सुमधुर बनाएनन् स्वतन्त्र मेयर बालेनलाई काठमाडौंमा काम गर्न नदिने हो भने स्वतन्त्रहरु एकजुट हुने चेतावनी नै दिए ।

काठमाडौंका मेयर बालेनलाई काठमाडौंमा संघीय सरकारले काम गर्न नदिएको र विभिन्न राजनीतिक दलका नेताहरुले घेराबन्दीमा पारेको हर्क साम्पाङको बुझाई छ । केही दिन पानी बाराबारको स्थितीमा पुगेका थिए मेयर हर्क र बालेन । तर, पछिल्ला दिनमा उनीहरुको सम्बन्ध सुध्रिएसँगै फेसबुक स्टाटस लेखनमा पनि दुबैको लय भने मिलेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार