राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेको अवस्थामा फेला परेका छन् । लामिछानेको चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट उनी तल खसेको अवस्थामा फेला परेका हुन् । उनको अवस्था अहिले गम्भिर रहेको बुझिएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३९ वर्षिय शम्भु भनिने दिलबहादुर थापा रवि लामिछानेको नीजि सवारीका चालक हुन् । उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन पुगेको थियो ।
लामिछाने घरको भुईँ तलामा र अन्य नेता सहित सवारी चालक माथिल्लो तलामा सुतेको बुझिएको छ । बिहान ४ः३० बजेको समयमा उनी छतबाट खसेको अवस्थामा भेटिएको बताइएको छ । अहिले दिलबहादुरको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ । गएराती तनहुँबाट चितवन पुगेका लामिछाने सहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम थियो । आइतबार मात्रै लामिछानेलाई लिएर सवारी चालक थापा तनहुँको दमौली पुगेका थिए भने भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।
रवि लामिछाने र उनको पार्टीका विषयमा विभिन्न समाचार सार्वजनिक भइरहेका बेला लामिछानेका नीजि सवारी चालक नै घरको छतबाट खसेको खबर सार्वजनिक भएपछि यसलाई कतिपयले शंकाको दृष्टिले हेरेका छन् । यद्यपि प्रहरीले घटनाको सत्य तथ्य विवरण सार्वजनिक गर्ने बताएको छ । नीजि सवारी चालक घाइते भएको घटनालाई कतिपयले षडयन्त्रपूर्ण रुपमा लिएका छन् । यता यो समाचार सार्वजनिक भएपछि समाचारका विषयवस्तु नै नहेरी विभिन्न प्रकारका कमेन्ट सामाजिक सञ्जालमा लेख्नेहरु समेत देखिएका छन् । कोही व्यक्ति घाइते भएको अवस्थामा उसको स्वास्थ्य लाभको कामना गर्ने सामान्य प्रचलन छ । तर, स्वस्थ्य लाभको कामना गर्नुको साटो कमेन्ट बक्समा गुड लक रवि दाई, बेष्ट अफ रवि दाई लेख्नेहरु प्रशस्तै देखिएका छन् ।





