Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

रवि लामिछानेका ड्राइभर खसेको विषयमा प्रहरीको अनुसन्धान तिब्र, के छ पछिल्लो अपडेट ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर छतबाट खसेको घटना अनुसन्धान गर्न प्रहरीले पार्टीका महामन्त्री मुकुल ढकालका चालकलाई नियन्त्रणमा लिएको छ । लामिछानेका ड्राइभर दिलबहादुर थापासँगै सुतेको भनिएका मुकुल ढकालका ड्राइभर कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो । घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले मुकुल ढकालका ड्राइभर बाहेक अन्य व्यक्तिसँग पनि सोधपुछ गरिरहेको चितवन प्रहरीले जनाएको छ । सँगै सुतेको भनिएको मुकुलका ड्राइभरले भने घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन् । प्रहरीलाई उनले दिएको बयानमा अरु मानिसले हो हल्ला गरेपछि मात्रै आफू ब्युँझिएको भनेका छन्

यसैबीच प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ । तर, उनीहरुले रक्सी खाए नखाएको विषयमा भने परीक्षण गर्न स्याम्पल पठाइएको चितवन प्रहरीले प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको रवि लामिछानेको भाडाको घरको तेस्रो तलाबाट दिलबहादुर सोमबार बिहान ४ः३० बजे खसेको अवस्थामा फेला परेका थिए । तर, उनी के कसरी खसे भन्ने कुरा प्रहरीको अनुसन्धानमै रहको छ । यसैबीच आज बारामा चुनावी प्रचार प्रसारमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्धारित बाराको कार्यक्रम स्थगित गरेर चितवनमै बसेका छन् । तर, लामिछानेले यो समाचार तयार पार्दासम्म घटनाबारे केही बोलेका छैनन् । यता घटनाको सिसिटिभी फुटेज भने सार्वजनिक भएको छ । विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै उनलाई दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ ।

घरको छतबाट खसेका चालक थापाको सोमबार दिउँसो भरतपुरस्थित पुरानो मेडिकल कलेजमा शल्यक्रिया गरिएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार उनको अवस्था अहिले स्थिर छ । थापालाई अस्पताल पु¥याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

चितवन प्रहरीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ । माथिबाट खस्दा घाँटी गमलामा परेको र घाँटीको हड्डी भाँचिएको बताइएको छ । गम्भिर तर, स्थिर अवस्थामा रहेका थापाको वास्तविक अवस्थाका विषयमा केहीबेरपछि अस्पताल प्रशासनले विज्ञप्ती नै जारी गरेर जानकारी गराउँने तयारी भइरहेको बुझिएको छ ।

चितवनमा रवि लामिछानेका ड्राइभर घरको छतबाट खसेपछि सामाजिक सञ्जालमा भने विभिन्न टिका टिप्पणी भइरहेका छन् । विभिन्न आशंकायुक्त टिप्पणी सामाजिक सञ्जालमा पोष्ट भइरहँदा यो घटनाको सत्य तथ्य छिटो भन्दा छिटो बाहिर ल्याउन केहीले माग समेत गरेका छन् । विभिन्न आरोपसहितका टिका टिप्पणीले सामाजिक अराजकता र शंसय झनै पैदा गर्न सक्ने भन्दै घटनालाई राजनीतिकरण नगर्न र प्रहरी अनुसन्धानको रिपोर्ट कुर्न केहीले आग्रह गरेका छन् । तर, सामाजिक सञ्जाल यो विषयमा अनेकन टिका टिप्पणीले भरिएको छ ।

यसैबीच यो घटनाको सत्यतथ्य सार्वजनिक गर्न रवि लामिछाने स्वयंले चितवन प्रहरीका अधिकारीहरुलाई आग्रह गरेको बुझिएको छ । अनुसन्धानको रिपोर्ट आउँन जति ढिला हुन्छ त्यति नै यो विषयलाई अनावश्यक राजनीतिकरण गर्न सक्ने आशंका गर्दै उनले द्रुत रुपमा अनुसन्धान अघि बढाउँन आग्रह गरेको बताइएको छ । प्रहरीले पनि यो घटनाको सत्य तथ्य बाहिर ल्याउँन ढिलाई नगर्ने बताउँदै गएराती लामिछानेको घरमा सुतेका सबैसँग पालैपालो सोधपुछ गर्दैछ । प्रहरीले रवि लामिछानेदेखि लिएर दीपक बोहोरा, मुकुल ढकाल र गएराती लामिछानेको घरमा सुतेका तथा उनीहरुको सम्पर्कमा आएका सबैसँग सोधपुछ गर्न लागेको चितवन प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार