Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगियो


केहीदिनदेखि बिरामी परेका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पाँच दिन त्रिवि शिक्षण अस्पताल बसेर डिस्चार्ज भएका पौडेल सोमबार मात्रै नियमित फलोअप गरी फर्किएका थिए । तर, राष्ट्रपति पौडेलको स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी मंगलबार पुनः त्रिवि शिक्षण अस्पतालमा आकस्मिक भर्ना भए ।

शिक्षण अस्पतालमा आकस्मिक भर्ना भएका पौडेललाई चिकित्सकहरुले तत्कालै नयाँ दिल्ली लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको हो । १० बजे पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्स सिआरजे २०० मार्फत नयाँ दिल्ली लगिएको बताइएको छ ।

नयाँ दिल्लीको एम्स अस्पतालमा पौडेलको उपचार हुनेछ । राष्ट्रपति पौडेलले यसअघि पनि एम्स अस्पतालमा आफ्नो स्वास्थ्योपचार गर्दै आएका थिए । तर, राष्ट्रपति बनेपछि स्वदेशमै उपचार गराउन थालेका पौडेल स्वदेशमा उपचार सम्भव नभएपछि दिल्ली गएका हुन् । चिकित्सकहरुले दिल्ली जान सल्लाह दिइहरँदा पौडेलले भने सम्भव भएसम्म नेपालमै उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए । तर, परिवारका अन्य सदस्य र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको जोडबलपछि उनी दिल्ली जान सहमत भएको बुझिएको छ । पेटमा समस्या देखिएका पौडेलको रोग के हो भन्ने कुरा भने खुलेको छैन ।

उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार राष्ट्रपति पौडेलको शुरुमा छातीमा संक्रमण देखिएको थियो । शिक्षण अस्पतालमा भर्ना हुनेबित्तिकै पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण समेत गरिएको थियो । प्रारम्भिक परीक्षणमा संक्रमणबाहेकका अन्य अवस्था सामान्य देखिएपछि केहीदिन अस्पतालमै आराम गरेर राष्ट्रपति पौडेल शितल निवास फर्किएका थिए । शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको छातीको एमआरआई र सिटी स्क्यान समेत गरिएको थियो । तर, ती परीक्षणमा पौडेलको स्वास्थ्य रिपोर्ट नराम्रो भने देखिएको छैन । छातीमा देखिएको संक्रमण घटाउँनका लागि एन्टिबायटिक चलाइएको थियो । तर, एण्टिबायटिकले जुन मात्रामा काम गर्नुपथ्र्यो त्यस्तो गरेको नदेखिएपछि चिकित्सिकहरुले पौिडेललाई दिल्ली जान सुझाएका हुन् ।

शितलनिवास स्रोतले दिएको जानकारी अनुसार सोमबार फलोअप गरेर फर्किएका पौडेल मंगलबार बिहान सम्म ठिकठाक झैं देखिएका थिए । तर, दिउँसोपख अकस्मात रिंगटा लागेजस्तो भएपछि उनलाई शिक्षण अस्पताल लगियो । उनको उपचारमा डा.रोशन शर्मा, दिनेश राई लगायतको टोली सहभागी थियो । राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्स मार्फत दिल्ली लैजादा चिकित्सकको टोली सहित राष्ट्रपति कार्यालयका केही अधिकारी र परिवारका सदस्यहरु समेत सँगै गएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार