Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

स्वर्णिमका बुवाको गाडी फुटाउने को ? चाबीले उब्जायो गम्भिर प्रश्न (भिडियोसहित)


तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका आशंकायुक्त पोष्टहरु सार्वजनिक भएका छन् । गाडी कसले तोडफोड गरेको हो भन्ने कुरा पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रकारका आशंका गरेका हुन् । रास्वपाकै कार्यकर्ताले गाडी तोडफोड गरेको हुन सक्नेदेखि लिएर रास्वापा विरोधीले तोडफोड गरेको हुन सक्ने सम्मका आंशकाले यतिबेला सामाजिक सञ्जाल भरिएको छ । तर, घटनाको सत्य तथ्य सार्वजनिक गर्न प्रहरीले ढिलाई गरिरहँदा उपनिर्वाचनको मौन अवधिमा यो विषयले भने व्यापक हल्लीखल्ली मच्चाएको छ ।

तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा ११ च ४२५० नम्बरको मारूती गाडी बिहिबार राती तोडफोड भएको थियो । उक्त गाडी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका बुबाले चढ्ने गरेको गाडी रहेको बुझिएको छ । रास्वपा उम्मेदवार स्वर्णिमका बुवा बिहिबार राती सोही होटलमा बसेको र गाडी होटलबाहिर सडकमा पार्किङ गरेको भनिएको छ ।

गाडी तोडफोड भएको सूचना भने प्रहरीले शुक्रबार बिहान ६ बजे मात्रै पाएको थियो । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार वि.कको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । तनहुँ प्रहरीले घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाहीको दायरमा ल्याउँने बताएको छ भने अनुसन्धानका लागि घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरिएको जानकारी दिएको छ ।

तर, प्रहरीको रिपोर्ट सार्वजनिक गर्न ढिलाई भइरहँदा यता सामाजिक सञ्जालमा भने तोडफोड भएको गाडीका विभिन्न तस्बीर र आशंकायुक्त पोष्टहरु धमाधम सार्वजनिक भइरहेका छन् । गाडीको ड्राइभर सिटको यो तस्बीर यतिबेला भाइरल भएको छ । जहाँ ड्राइभर सिटमा एउटा इँटा देखिन्छ भने चाबी पनि गाडीमै देखिन्छ । आशंका गर्नेहरुले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् : पार्किङ गरेर राखेको गाडीको चाबी पनि कहिँ गाडीभित्रै हुन्छ ? उनीहरुको यो आशंका स्वर्णिमकै समर्थकहरुप्रति तेर्सिएको छ । गाडीभित्र नै चाबी रहेको देखिनुले आंशका त उब्जाएको छ तर, अनलाइन प्रविधीको यो जमानामा फोटो इडिट गरेर फोटोमा चाबी देखाउँन नसकिने होइन । फोटो इडिट गरेर जे जस्तो पनि देखाउँन सकिन्छ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो इडिटेड हो या के हो त्यो भने यसै भन्न सकिन्नँ । तर, फोटो इडिटेड नभई वास्तविक नै हो भने चाहिँ यो गम्भिर प्रश्न हो । अर्को प्रश्न पनि सामाजिक सञ्जालमा तेस्र्याइएको छ ।

त्यो हो :  ड्राइभर सिटमा इँटा छ तर, ड्राइभर सिट र ड्राइभर सिटसँगैको अर्को सिटको झ्यालका सिसा फुटेको देखिदैन । अगाडिका सिसा नफुटी त्यहाँ कसरी इँटा आइपुग्यो ? उनीहरुको भनाई छ : इँटा त्यहाँ थपक्क राखेजस्तो देखिन्छ । पछाडिको भाग फुटेको ठाउँमा इँटा नहुने अनि अगाडि सिटमा चाहिँ इँटा आइपुग्ने ? यी र यस्ता विविध प्रश्न सामाजिक सञ्जालमा उठाइएका छन् । यस्तो प्रश्न उठाउनेको आशंका स्वर्णिमका समर्थकहरुप्रति देखिन्छ । चुनावी फण्डाका लागि उनीहरुले यस्तो गरेको हुनसक्ने उनीहरुको आरोप छ । तर, यता केहीले भने रास्वपाको बढ्दो लोकिप्रयता देखिसहन नसकेर विरोधीहरुले गाडी तोडफोड गरेको बताएका छन् ।

गाडी तोडफोड गरेको समाचार सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा अनुसन्धान अधिकृत झैं देखिनेहरुको होडबाजी चलेको छ । यो विषयमा केन्द्रित रहेर धेरैले आफ्नो मनगढन्ते रिपोर्ट समेत सञ्जालमा पोष्ट गर्न भ्याएका छन् । ठोकुवा नै गरेर यसै भएको हो भन्नेहरु बग्रेल्ती देखिएका छन् । यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न प्रहरीले जति ढिलाई गर्छ सामाजिक सञ्जालमा अनुसन्धान अधिकृतहरुको संख्या पनि त्यति नै बढ्ने देखिन्छ । त्यसैले उपनिर्वाचनको मौन अवधीलाई शान्त र होहल्लारहित बनाउँने हो भने प्रहरीले छिटो भन्दा छिटो घटनामा संलग्न जो कोहीलाई कानुनी दायरमा ल्याउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !
विचार