Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

चुनाव सकिए लगत्तै रवि लामिछाने फेसबुकमा, के भने त्यस्तो ? (भिडियोसहित)


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक मुस्किलसँग लड्ने साहस दिएको भन्दै चितवनवासीप्रति नमन गरेका छन् । देशका तीनवटै निर्वाचन क्षेत्रको उपनिर्वाचन सकिए लगत्तै लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत चितवनबासीलाई विशेष नमन गरेका हुन् । उनले तनहुँ क्षेत्र नम्बर १, चितवन २ र बारा क्षेत्र नम्बर २ का जनताप्रति आभार प्रकट गर्दै उपनिर्वाचन सम्पन्न गर्न खटिने सबैमा धन्यवाद दिएका छन् । निर्वाचन सकिएर मतगणना शुरु हुनुपूर्व उनले सामाजिक सञ्जाफ फेसबुकमार्फत भनेका छन् :
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ वासी बुबा आमा, दाजुभाइ दिदीबहिनीहरूमा नमस्कार ! आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाइदिनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं । हाम्रो चुनावी यात्रामा अहोरात्र खट्ने हाम्रा साथीहरू, सुरक्षा निकाय, निर्वाचन आयोग, आम संचारकर्मीहरु र सबै निकायले यस निर्वाचन सम्पन्न गर्न खेल्नु भएको भूमिकाको लागि विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
अन्तमा, निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन् ।

चितवन क्षेत्र नम्बर २ बाट गएको मंसिर ४ को निर्वाचनमा देशभरकै सबैभन्दा धेरै मतान्तरका साथ जितेका लामिछाने यसपटक पनि निर्वाचन जित्नेमा ढुक्क छन् । त्यसो त विभिन्न संस्था र सञ्चार माध्यमहरुले चितवन २ मा रवि लामिछानेको जित निश्चित भएका सर्वेक्षण यसअघि नै सार्वजनिक गरिसकेका छन् । यसपटक पनि ठूलो मतान्तरका साथ रवि लामिछानेले चुनाव जित्ने उनीहरुको भनाई छ ।

निर्वाचन सकिए लगत्तै विभिन्न पक्षलाई धन्यवाद दिएका लामिछानेले आइतबार मात्रै दुई पटक भिडियो सन्देश जारी गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना शुभेच्छुक र समर्थकलाई सम्बोधन गरे । पहिलो सम्बोधनमा उनले निर्वाचनका दौरान रास्वपाबारे विभिन्न भ्रम फैलाएको भन्दै भ्रममा नपर्न सर्वसाधारणलाई अपिल गरे भने फेक न्युजका कारखाना बन्द गर्न ठूला दल र नेतालाई चेतावनी दिए । उनको दोस्रो सम्बोधन दिउँसो आयो । निर्वाचनका दौरान विभिन्न मतदान स्थलको अवोलोकनमा जाँदा ठूलो भीड लिएर हिँँडेको भन्दै विपक्षीहरुले अबरोध गरेपछि उनले आफूलाई हिँड्न सम्म नदिएको भनेर जनतासँग गुहार मागे । उनले सामाजिक सञ्जाल मार्फत बोलेको विषयलाई नै विपक्षीहरुले बिरोधको मसला बनाइदिए । चितवन क्षेत्र नं २ को निर्वाचन कार्यालयमा त उनीविरुद्ध नेपाली कांग्रेसले उजुरी नै हाल्यो । सामाजिक सञ्जालको प्रयोग गरी मौन अवधिमा मतदातासँग मत मागेको नेपाली कांग्रेसको आरोप छ । दिउँसो कतै धकेलाधकेल त कतै आलोचना र विरोध भएपछि अब रवि लामिछानेले सन्ध्याकालिन प्रतिकृया के जनाउलान् भनेर चिया पसल र चोकमा चर्चा भइरहेका बेला उनले सबैलाई धन्यवाद दिए ।

त्यसो त निर्वाचनका दौरान भएका विभिन्न गतिविधीप्रति आफ्ना भागको जिम्मेवारी लिने भन्दै दिउँसो नै रास्वपाले माफी मागेपछि सामाजिक सञ्जालमा रवि लामिछाने र रास्वपाको प्रशंसा पनि भएको छ । माफी माग्ने शालिन राजनीति रास्वपाले शुरु गरेको भन्दै रास्वपाका विरोधीहरुले समेत रास्वपाको प्रशंसा गरेका छन् । सामान्यतया राजनीतिक गल्ती र कमजोरीकाप्रति तत्कालै माफी माग्ने चलन नेपाली राजनीतिमा छैन । तर, रास्वपाले यो राजनीति शुरु गर्नु वैकल्पिक राजनीतिको यात्रामा रहेकाहरुका लागि महत्वपूर्ण कदम भएको केहीको भनाई छ ।

आइतबार दिउँसो मतदानका बेला रवि लामिछाने विभिन्न मतदान केन्द्रमा जाँदा उनका समर्थकहरुले नाराबाजी गरेको भन्दै विरोधीहरुले आलोचना गरेका थिए भने त्यो निर्वाचन आचारसंहिता उल्लंघनको काम भएको समेत उनीहरुको तर्क थियो । निर्वाचन शुरु हुनुअघिको ४८ घन्टा र निर्वाचन नसकिएसम्म मौन अवधी रहने भएकाले विपक्षीको आलोचना या कोही कसैको समर्थनमा नाराबाजीलाई मौन अवधिको उल्लंघन मानिने उनीहरुको भनाई छ । रवि लामिछाने विभिन्न मतदान केन्द्रमा जाँदा नाराबाजी भएको विषयलाई निर्वाचन कार्यालयले समेत मौन अवधीको उल्लंघन भएको भनेपछि रास्वपाले आइतबार दिउँसो माफी मागेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार