Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

तनहुँमा स्वर्णिमले जित्ने पक्का, ठूला दललाई झडका


तनहुँमा ठूला दलहरुको अस्तित्व नै संकटमा पार्नेगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले मत ल्याएपछि डा.वाग्लेको चर्चा फेरि चुलिएको छ । डा.वाग्लेले कांग्रेस र एमालेका उम्मेदवारलाई निकै पछि पार्दै अग्रता लिइरहका छन् । छिनछिनमा अपडेट भइरहेको तनहुँको मतपरिणाम हेर्दा डा. वाग्लेको जित अब सुनिश्चित छ । यो समाचार तयार पार्दाका बखत सम्म एमाले र कांग्रेसका उम्मेदवारले प्राप्त गरेको कुल मत भन्दा दोब्बर मत डा.स्वर्णिम वाग्लेले प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको यो निर्वाचन क्षेत्रलाई ठूला दलले प्रतिष्ठाको विषय बनाएका थिए । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका डा. वाग्लेलाई टुरिष्ट उम्मेदवार भन्नेदेखि लिएर अवसरवादी सम्मका बिल्ला ठूला दलले भिराइदिएका थिए । कांग्रेस महामन्त्री गगन थापा नेपाली कांग्रेसको चुनावी कमाण्डर बनेर डा.वाग्लेलाई हराउन तनहुँमा डेरा जमाएर बसेका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि ठूला दलका ठूला नेताहरु डा. वाग्लेलाई हराउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन तनहुँमा लामेलस्कर लागेर पुगेका थिए । नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्रनाथ खनाललाई चुनावी मैदानमा उतारेको थियो भने खनाललाई जिताउँन एमालेले सिंगो पार्टीको बल तनहुँमा लगाएको थियो । तर, चुनावी परिणाम सार्वजनिक भइरहँदा ठूला दल मतपरिणामका हिसाबले अत्यन्तै होचा देखिएका छन् । तनहुँमा सानदार मतसहित डा.स्वर्णिम वाग्लेले बाजी मार्ने पक्का हुँदा यसले ठूला दलमा भने आन्तरिक भुइँचालो ल्याइदिएको छ ।

यता डा.स्वर्णिम वाग्लेले चुनाव जित्ने पक्का भएपछि अब रास्वपामा उनलाई कस्तो प्रकारको भूमिका दिने भन्ने विषयमा समेत शीर्ष नेताहरुमा अनौपचारिक छलफल शुरु भएको छ । उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि रास्वपा सरकारमा जाने र डा. वाग्लेलाई अर्थमन्त्रालयका लागि लबिङ गर्ने रास्वपा नेताहरुको तयारी छ । पार्टीभित्र आर्थिक विभागको प्रमुख सहित वरिष्ठ उपसभापति बनाउँने विषयमा पनि छलफल भइरहेको रास्वपा नेताहरुले बताएका छन् । अर्थविज्ञताका हिसाबले अन्तर्राष्ट्रिय ख्याती कमाएका डा.वाग्लेले गएको मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसको घोषणापत्र लेखेका थिए भने उनी २०७० सालमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा पहिलोपटक राष्ट्रिय योजना आयोगको सदस्य, २०७३ सालमा फेरि योजना आयोगकै सदस्य र २०७४ मा योजना आयोगको उपाध्यक्ष बनेका थिए । उनले विश्व बैंकदेखि लिएर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुमा काम गरिसकेका छन् ।

डा.वाग्लेलाई हराउँन तनहुँमा ठूला पार्टीले भएभरको बल लगाउँदा समेत नसकेको स्थितीमा उनलाई रास्वपाले विशेष सम्मानका साथ पार्टीको ब्राण्डिङका लागि प्रयोग गर्नुपर्ने तर्क उठ्न थालेको छ । पार्टी सरकारका जाने स्थिती हुँदा जसरी पनि अर्थ मन्त्रालय लिने र त्यो मन्त्रालय उनलाई दिने रास्वपाको योजना छ । अघिल्लोपटक गृहमन्त्रालयलाई प्रतिष्ठाको विषय बनाए झैं यसपटक अर्थमन्त्रालयमा जोडदार दाबी गर्नुपर्ने आवाज पार्टीभित्र बुलन्द बनेको छ । वर्तमान सरकारमा अर्थ मन्त्रालय नपाउने अवस्थामा सरकारमै नजानेसम्मका रणनीतिमा रास्वपा रहेको रास्वपाका नेताहरुले बताएका छन् ।

विषय विज्ञताका हिसाबले पनि डा.वाग्लेका लागि अर्थमन्त्रालयको माग अस्वभाविक नहुने र वाग्लेलाई अर्थमन्त्री बनाएरै छाड्ने कुरा पार्टीका आन्तरिक बैठकहरुमा पार्टी सभापति रवि लामिछानेले गरेका कारण पनि रास्वपामा फरक प्रकारको उत्साह आएको छ । पार्टीमा विभिन्न विषयका विज्ञहरुको प्रवेशलाई समेत डा.वाग्लेको जितले सहज तुल्याउने अनुमान गरिएको छ ।

यता डा.वाग्लेलाई हराउन चुनाव प्रचारका बेला अनेक प्रकारका अफबाह फैलाइएपनि ती कुनै अफबाहले काम नगरेको भन्दै रास्वपाका नेताहरु मतपरिणाम सार्वजनिक भइरहँदा सामाजिक सञ्जालमा खुसी साटासाटमा लागेका छन् । डा.स्वर्णिम हाईहाई अरु दल बाईबाई लगायतका स्टाटसले सामाजिक सञ्जाल भरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार