आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्।
१६३४३ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।
वाग्लेले ९१९८ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३८०६ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २४६० मत ल्याएका छन्।
हालसम्म ८ वडाको अन्तिम मतपरिणाम आएको छ। आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को मतगणना सकिएको हो।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।




