तनहुँ १ मा डा.स्वर्णिम वाग्लेले जित्दै गर्दा नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा भने पहिरो जाने संकेत देखिएको छ । तनहुँ १ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको नेपाली कांग्रेसमा स्वर्णिम वाग्लेको विजय यात्राले पहिरो जाने संकेत देखिएको हो ।
यसअघि डा. वाग्ले नेपाली कांग्रेसको थिंक टयांकका रुपमा मानिदै आएका थिए भने उनी चुनावको मुखमा कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात अर्थविदका रुपमा चिनिएका वाग्लेको रास्वपा प्रवेशले नै अन्तर्राष्ट्रिय क्षेत्रमा कांग्रेसमाथि प्रश्न उठेको थियो भने अहिले उनको विजय यात्राले काग्रेस थप संकटमा पर्ने देखिएको छ ।
स्वर्णिम वाग्लेले तनहुँमा प्राप्त गरेको मत देखेर कांग्रेस सभापति शेरबहादुर देउवा चकित परेका छन् । कांग्रेस संसदीय दलको बैठकमा देउवाले तनहुँमा कांग्रेसले हार्ने स्थिती आउनु चिन्ताको विषय भएको बताए । सोमबार तनहुँको मतपरिणाम हेर्दै बैठकमा सहभागी भएका देउवाले अब यस्तो पाराले कांग्रेस अघि बढ्न नसक्ने बताएका हुन् ।
संसदमा स्वर्णिम वाग्लेको प्रवेशले यसअघि नेपाली कांग्रेसको खातामा रहेको एक सिट त घट्ने छ नै यसले कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक भविष्यमा समेत असर गर्ने देखिन्छ । गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं ४ मा गगन थापा र काठमाडौं ५ मा प्रदीप पौडेललाई जिताउँन स्वर्णिम वाग्ले घुँडा टेकेर लागेका थिए । स्वर्णिम वाग्ले त्यतिबेला कांग्रेसमा नभएको भए गगन थापा र प्रदीप पौडेलहरुलाई चुनाव जित्न हम्मे पर्ने कतिपय कांग्रेस नेताहरुले बताउने गरेका छन् । गगन र प्रदीप पौडेलहरुकै दाहिने हात मानिएका स्वर्णिम वाग्ले कांग्रेसमा नभएपछि अब कांग्रेसको ठूलो युवा पंक्ति रास्वपातिर सर्ने आंकलन गरिएको छ । स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेकै बखत गरिएको यो आंकलनलाई स्वर्णिमको विजय यात्राले भने थप बलियो बनाएको छ ।
कांग्रेसमा असन्तुष्ट रहेका एक नेताका अनुसार डा.स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेकै समयमा केही कांग्रेसका युवाहरु रास्वपा जाने मनस्थितीमा थिए । तर, त्यसमध्येक केहीको सोच तनहुँमा स्वर्णिमले जित निकाले रास्वपा जाने नत्र नजाने भन्ने थियो । अहिले स्वर्णिम वाग्लेले विजय यात्रा तय गरेपछि दोधारमा रहेको कांग्रेसको त्यो युवा समुह रास्वपा प्रवेश गर्न हतारिएको छ । निर्वाचन पूर्व र निर्वाचनको दौरानमा पनि डा.वाग्लेको सम्पर्कबाट टाढा रहेको त्यो समुहले रास्वपा प्रवेशका लागि सहज बाटो बनाउन अहिले डा.स्वर्णिमको मोबाइलमा बधाईको म्यासेज पठाउन शुरु गरिसकेको बुझिएको छ ।
रास्वपा प्रवेश गरेर विजय यात्रातर्फ लम्किएका डा.स्वर्णिमको विजयले कांग्रेसका महामन्त्री गगन थापालाई सबैभन्दा ठूलो नैतिक संकट परेको छ । तनहुँ १ मा स्वर्णिमलाई हराएर कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँ खटिएका थापाको क्षमतामाथि कांग्रेसको एक पंक्तिले प्रश्न उठाउन शुरु गरिसकेको छ । गगन थापा स्वयंले पनि तनहुँ १ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थिए । चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गगन थापाले डा. स्वर्णिमलाई चरम अवसरवादी र टुरिष्ट उम्मेदवारको संज्ञा दिएका थिए । लामो समय तनहुँमै रहेर कांग्रेस उम्मेदवारका पक्षमा भोट माग्दा पनि गगनलाई भन्दा जनताले स्वर्णिमलाई पत्याएको रुपमा अहिलेको चुनावी परिणामलाई हेरिएको छ । कतिपयले अहिलेको चुनावलाई स्वर्णिम वाग्ले र गोविन्द भट्टराई बीचको प्रतिष्पर्धाका रुपमा मात्रै नभएर स्वर्णिम र गगन थापाको सिधा सिधा प्रतिष्पर्धाका रुपमा हेरेका छन् । गगन थापा दिलो ज्यान दिएर चुनावी मैदानमा उत्रँदा पनि कांग्रेस उम्मेदवारले राम्रो नतिजा प्राप्त नगर्नु कांग्रेसको अधोगतीको यात्राका रुपमा यसलाई विश्लेषण गरिएको छ ।
स्वर्णिम वाग्लेकै शब्दमा कांग्रेसभित्र दाइ भाउजुको पेलानमा परेको एउटा ठूलो समुह छ । त्यो समुहले निर्वाचन नतिजापछि कांग्रेस छाडेको अवस्थामा नौलो नहुने कतिपयको बुझाई छ । पार्टी सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणालाई स्वर्णिमले दाई भाउजु भन्दै उनीहरुको हेपाहा प्रवृत्तिका कारण कांग्रेस छाड्नुपरेको बताएका थिए । कांग्रेसभित्र क्षमतावान ठूलो पंक्ति रहेको भएपनि दाई भाउजुको हेपाहा प्रवृत्तिका कारण त्यो पंक्तिले काम गर्न नपाएको उनको भनाई थियो ।
अहिले तनहुँबाट स्वर्णिम वाग्लेले संसदको यात्रा तय गर्दैगर्दा दाइ भाउजुको पेलानमा रहेकाहरु पेलिएरै कांग्रेसमा बस्लान् या नयाँ बाटो तय गर्लान् त्यो भने भोलिको दिनमा देखिएला ।





