तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले प्राप्त गरेको मत देखेर कांग्रेस सभापति शेरबहादुर देउवा आश्चर्यचकित परेका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा तनहुँको मतपरिणामबारे टिप्पणी गर्दै देउवाले पार्टीसामु गम्भिर परिस्थिती उत्पन्न भएको बताएको कांग्रेसका एक सांसदले जानकारी दिए ।
निन्याउरो अनुहार सहित संसदीय दलको बैठकमा प्रवेश गरेका देउवाले यस्तो परिस्थिती आउला भनेर आफूले सोच्दै नसोचेको बताएका थिए । कांग्रेसमा निष्ठाको राजनीति गर्दै आएका गोविन्द भट्टराईलाई जनताले नपत्याएको देखेर आफू अचम्मित भएको कुरा संसदीय दलको बैठकपछि पनि उनले आफू निकटाहरुसँग दोहो¥याएका थिए । देउवा निकटका एक नेताले भने : स्वर्णिमले यति धेरै मत ल्याउला भनेर मैले सोच्दै सोचेको थिइनँ, केटोले त तहल्कै पिटेछ ।
पार्टीलाई एकताबद्ध बनाएर चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने देउवाले बैठकमा धारणा राखेका थिए । बैठकको सुरुवातमै धारणा राखेका देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताएका थिए । राष्ट्रपतिले चुनाव जित्दै आएको तनहुँमा कांग्रेस हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको हो । कांग्रेसका लागि गम्भिर स्थिति सिर्जना भएको छ । अब केही सोच्नुपर्ने भयो । यसमा सबै साथीहरू गम्भीर हुन आवश्यक छ,’ देउवाले भने ।
देउवाले आफ्ना धारणा राखेर बाहिर गएपछि देउवा इत्तरका नेताहरुको भने खासखुस चलेको थियो । देउवाकै कारण स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेका भन्दै उनीहरुले आफ्नी श्रीमति आरजु राणालाई नाइँ भन्न नसक्नु देउवाको कमजोरी भएको बताएका थिए । संसदीय दलको बैठक सकिएपछिको चिया गफमा देउवा इत्तरका नेताहरुले देउवाको कुरा काटेका हुन् ।
स्वर्णिम वाग्लेले कांग्रेसमा देउवा र आरजुको पेलान सहन नसकेर बाहिरिनु परेको बताउँदै आएका छन् । रास्वपा प्रवेश गर्ने क्रममा लामो फेसबुक स्टाटस लेखेका वाग्लेले कांग्रेसलाई दाजु भाउजुको पार्टीको संज्ञा दिएका थिए । उनले दाजु भाउजुको पार्टीमा बसेर देश र जनताको हितमा काम गर्न समस्या भएको बताएका थिए । कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका वाग्लेले उम्मेदवारी घोषणा सभामा पनि कांग्रेस छाड्नुको कारणबारे लामो प्रष्टिकरण दिएका थिए ।
यसैबीच स्वर्णिम वाग्लेले तनहुँमा सानदार मत प्राप्त गरेपछि कांग्रेसमा महामन्त्री गगनकुमार थापाको पनि आलोचना शुरु भएको छ । कांग्रेस भित्रका केही नेताहरुले गगन थापाको क्षमतामाथि प्रश्न उठाएका छन् । स्वर्णिमलाई हराउँन भनेर तनहुँ १ मा खटिएका गगन थापाले कतै उल्टै स्वर्णिमलाई नै सहयोग गरेर फर्किएका त होइनन् भन्दै केहीले शंका गरेका छन् । त्यसो त गएको मंसिर ४ को निर्वाचनमा पनि कांग्रेस महामन्त्री गगन थापामाथि रास्वपालाई सघाएको आरोप लागेको थियो । उनी उम्मेदवार रहेको काठमाडौं ४ मा रास्वपाले उम्मेदवार नउठाएपछि गगन थापा र रास्वपाको साँठगाँठको आशंका गरिएको थियो । तर, त्यसलाई गगन थापाले अस्विकार गर्दै आएका छन् ।
गगन थापाको कोर टिममा रहेका स्वर्णिम वाग्लेले कांग्रेसको गढ मानिएकै ठाउँ तनहुँ १ मा रास्वपाबाट चुनाव जित्नुले कांग्रेस वृत्तमा स्वभाविक रुपमा हलचल पैदा भएको छ । कांग्रेसको गढ मानिएको ठाउँमा नै नयाँ दलका उम्मेदवारले सानदार मत प्राप्त गरेपछि कांग्रेसले चुनावको समीक्षाका लागि एउटा समिती बनाउँने र तनहुँ कांग्रेसलाई हारको कारण समिक्षा गर्दै एकताबद्ध भएर अघि बढ्न निर्देशन दिने तयारी गरेको छ ।
कांग्रेसका लागि तनहुँको निर्वाचनमा गुमेको एक सिट भन्दा पनि स्वर्णिमको बढ्दो लोकप्रियता र उनीप्रति कांग्रेसी युवाहरुको बढ्दो आकर्षणले कतै पार्टीको ठूलो युवा हिस्सा नै उतै लाग्ने त होइन भन्ने चिन्ता थपिएको छ । यो चिन्ता चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा पार्टी सभापति शेरबहादुर देउवादेखि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माहरुसम्म रहेको बुझिएको छ ।





