राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज देखेर ठूला दलका शीर्ष नेताहरु चकित परेका छन् । चितवन, तनहुँ र बाराको मतगणना भइरहेका बेला सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ठूला दलका नेताहरुको बैठक बसेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु बैठकका सहभागि थिए । बैठकले औपचारिकता लिनुअघि नेताहरुबीच उपनिर्वाचनको सामान्य समीक्षा भएको थियो । तनहुँमा स्वर्णिम वाग्लेले पाएको मत र चितवनमा रवि लामिछानेले पाएको मतबारे नेताहरुले चर्चा गरेका थिए ।
बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार निर्वाचन मत परिणामको विषयलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा र प्रचण्डलाई ठट्यौलीमा पारामा जिस्क्याएका थिए । उनको ठट्यौली थियो ः के हो गठबन्धन गरेर पनि रविको पार्टीलाई त रोक्न सक्नु भएन नि । जवाफमा देउवा र प्रचण्डले तपाईँको ताल पनि त देखियो नि भनेपछि नेताहरुबीच हासो चलेको थियो ।
संवैधानिक परिषद सम्बन्धी विधेयक, टिआरसी र संसदीय समितिको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठकको अनौपचारिक समयमा शीर्ष नेताहरुले केहीबेर रवि लामिछाने नेतृत्वको पार्टीले लिइरहेको अग्रताका विषयमा चर्चा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तपाईँका त उम्मेदवार थिएनन् तनाव नै भए नि होइन भनेर छेड हानेका थिए । ओलीलाई सिधा जवाफ नदिएका प्रधानमन्त्री प्रचण्डले भो अब विषयवस्तुमा प्रवेश गरौं भनेको ती नेताले जानकारी दिए ।
बैठकमा चुनावको विषयलाई लिएर हासो र ख्यालठट्टा चलेपनि तुलनात्मक रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा भने केही तनावमा देखिन्थे । यसअघि कांग्रेसको पोल्टामा रहेको तनहुँ क्षेत्र नं १ रास्वापाको पोल्टामा गएको र स्वर्णिम वाग्लेलाई कांग्रेसमा जोगाउँन नसकेको आरोप पार्टी वृत्तमा लागेपछि देउवा तनावमा देखिएका हुन् । यसअघि आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि देउवाले तनहुँको निर्वाचन परिणामप्रति चिन्ता व्यक्त गरेका थिए । तनहुँमा सोच्दै नसोचेको परिस्थिती उत्पन्न भएको भन्दै देउवाले अब एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै पार्टीका सांसदहरुलाई भनेको संसदीय दलको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
अघिपछि बैठकमा प्रफुल्लित मुद्रामा देखिने देउवा सोमबारको संसदीय दलको बैठकमा भने तनावपूर्ण मुद्रामा प्रस्तुत भएका थिए । बैठकमा सहभागी नेताले भने : अघिपछि पनि पार्टी सभापति हड्बडाएको भावमा देखिनुहुन्थयो । तर, आजको बैठकमा भने उहाँ ज्यादा नै हड्बडाएको र खिन्नँ शैलीमा देखिनुभयो । बैठक सकिएपछि पनि आफू निकटका नेतासँग देउवाले तनहुँमा स्वर्णिमले यति धेरै मत ल्याउला भनेर आफूले नसोचेको बताएका थिए । उनको भनाई थियो ः स्वर्णिमले यति धेरै मत ल्याउला भनेर मैले सोच्दै सोचेको थिइनँ, केटोले त तहल्कै पिटेछ ।
पार्टी संसदीय दलको बैठकमा कुनै पनि नेताले मुखै खोलेर देउवासँग स्वर्णिमलाई पार्टीमा टिक्न नदिएको तपाईँले त हो नि भन्न नसकेपनि बैठक सकिएपछि भने स्वर्णिमलाई जोगाउँन नसक्नु देउवाको कमजोरी रहेको टिप्पणी गरेका थिए ।
तनावै तनावका बीचमा प्रधानमन्त्री कार्यालयमा शीर्ष नेताको बैठकमा सहभागी भएका देउवा त्यहाँ पनि मुड अफ देखिन्थे । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ख्यालठट्टा चलेपनि देउवा भने खासै नबोलेको र बैठक सकिनासाथ हिँडिहालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । रवि लामिछाने नेतृत्वको पार्टीले यही गति लिने हो भने आउँदो निर्वाचनमा ठूला दलहरुका लागि सिंहदरबार र संसद भवन सपना हुन सक्ने भन्दै गम्भिर हुनुपर्नेमा सबै नेताहरु सहमत भएको बताइएको छ । तर, बैठकमा सहभागी दोस्रो तेस्रो तहका नेताहरुले भने रास्वपाको उदयबाट त्यति धेरै आत्तिनपर्ने अवस्था नरहेको बताएका थिए ।





