Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

स्वर्णिमले रचे स्वर्णिम इतिहास, ३४४८० मत ल्याएर विजयी


राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले आफ्नो जीवनकालको स्वर्णिम इतिहास रचेका छन् । तनहुँ क्षेत्र नं १ मा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले ल्याएको मत भन्दा ९११९ र अहिले आफ्ना निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले ल्याएको मत भन्दा १४३८८ मत बढी ल्याएर विजयी हुँदै स्वर्णिम इतिहास रचेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा डा.वाग्लेको उम्मेदवारीलाई नै स्वर्णिम युगको शुरुवात भनिरहेका बेला डा.वाग्लेले आफ्नो राजनीतिक जीवनकै कठिन राजनीतिक परीक्षा सहजै उत्तिर्ण गरेका हुन् ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्रै प्राप्त गरेका छन् । खनालले प्राप्त गरेको मत रास्वपाका वाग्लेले प्राप्त गरेको मत भन्दा २५९२५ कम हो ।

आइतबार भएको उपनिर्वाचनमा ६५ हजार भन्दा बढी मत खसेको थियो भने खसेको कुल मतको आधा भन्दा बढी मत स्वर्णिम वाग्लेलाई परेको हो । वाग्लेले ५२ प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका गोविन्द भट्टराईले ३० प्रतिशत र खनालले १३ प्रतिशत मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ १ मा कांग्रेसबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए ।

लामो समय नेपाली काग्रेसको राजनीतिमा रहेका डा. वाग्ले गएको चैत १५ गते कांग्रेस छाडेर रास्वपा प्रवेश गर्दै रास्वपाबाट तनहुँ १ को उम्मेदवार बनेका थिए । तर, उनको उम्मेदवारीलाई अवसरवादको उम्मेदवार भन्दै गठबन्धनले जसरी पनि हराउने रणनीति लिएको थियो । यद्यपि उनी फराकिलो मत अन्तर सहित तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए ।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनले स्नातक तहको अध्ययन बिएस्सी इकोनोमिक्स लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात अर्थविदको पहिचान बनाउन सफल डा. वाग्ले नेपाल फर्किनुअघि विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए । उनले युएनडिपीको वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर पनि काम गरिसकेका छन् । डा. वाग्ले विश्व बैंकमा कार्यरत रहेकै बेला सुशील कोइरालाले आफ्नो प्रधानमन्त्रीकालमा नेपाल बोलाएर राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका थिए । पछि पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा पनि उनी दोस्रोपटक योजना आयोगको सदस्य बने । अघिल्लोपटक शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाग्लेलाई देउवाले योजना आयोगको उपाध्यक्ष बनाएका थिए । तर, गएको मंसिर ४ को निर्वाचनमा नै सांसद पदको टिकटका आकांक्षी रहेका वाग्लेलाई देउवाले टिकट नदिएपछि उनी रुष्ट बने । त्यतिबेला वाग्लेलाई कांग्रेस महामन्त्री गगन थापा लगायतको पहलमा कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा लगियो । उनले कांग्रेसका लागि चुनावको घोषणापत्र मस्यौदा पनि लेखे । तर, अहिले उपनिर्वाचनका बेला कुनै क्षेत्रमा आफूले टिकट पाइएला भन्ने आशामा रहेका वाग्लेलाई कतैबाट पनि टिकट नदिइएपछि उनी रास्वपा प्रवेश गरे र रास्वपाबाट फराकिलो मत अन्तर सहित चुनाव जिते ।

कांग्रेसमा रहँदा महामन्त्री गगन थापादेखि लिएर सभापति शेरबहादुर देउवा सम्म उनको राम्रो सम्बन्ध रहेको भएपनि २०७८ असारबाट भने देउवासँग उनको सम्बन्ध चिसिएको थियो । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष सहितका महत्वपूर्ण स्थानमा अवसर दिँदादिँदै पनि अमेरिकातिरै जागिर खान उनले विशेष रुची देखाएपछि देउवासँग सम्बन्ध बिग्रिएको कांग्रेस वृत्तमा चर्चा छ । वाग्ले २०७८ को असारमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गर्न गएका थिए । नेपाली कांग्रेसका माथिल्लो तहका नेताहरुले वाग्लेले त्यतिबेला जागिरलाई महत्व दिएको आरोप लगाएपनि वाग्लेले भने कांग्रेसका नेताहरुसँगको सल्लाहमै युएनडिपीमा काम गर्न गएको बताउँदै आएका छन् ।

२०७८ असारमा अमेरिका गएका उनी ०७९ को असारमा चुनाव लड्ने चाहना सहित नेपाल फर्किएका थिए । तर, देउवाले उनलाई अघिपछि फुर्सद भयो कि अमेरिका कुद्ने अनि चुनावमा टिकट चाहियो भन्दै नेपाल आउने भन्दै त्यतिबेला टिकट नदिएको बताइन्छ । तर, कुरा जे होस् कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका उनी कांग्रेस सहितको गठबन्धनका बाबजुत पनि फराकिलो मत अन्तरका साथ चुनाव जित्न सफल भए ।


प्रतिक्रिया दिनुहोस !
विचार