Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

चुनावमा खरेल र खनालको हरिबिजोग, किन भयो यस्तो ?


नेपाल प्रहरीको आइजीपीबाट अवकाश पाएपछि राजनीतिमा होमिएका सर्वेन्द्र खनाल र सर्वेन्द्र खनाललाई आइजीपी बनाएपछि राजीनामा दिएर राजनीतिमा होमिएका रमेश खरेल दुबै उपनिर्वाचनमा पछारिएका छन् । तनहुँमा सर्वेन्द्र खनाल र बारामा रमेश खरेल पछारिएका हुन् । फरक फरक निर्वाचन क्षेत्रबाट फरक फरक चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिएका यी दुई पूर्व प्रहरी चुनावमा नराम्रोसँग पछारिए । सांसद बन्ने सपना सहित तनहुँ क्षेत्र नं १ को चुनावी मैदानमा होमिएका सर्वेन्द्र खनालले तनहुँ १ मा विजयी भएका रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको भन्दा २५ हजार कम मत ल्याए । एमालेबाट चुनाव लडेका सर्वेन्द्र खनालले यसअघि सोही क्षेत्रमा एमालेबाटै चुनाव लडेका एकबहादुर रानाको भन्दा आधा मत पनि ल्याउन सकेनन् ।

रास्वपाबाट जितेका उम्मेदवार डा.स्वर्णिम वाग्लेले ३४४८० मत प्राप्त गर्दैगर्दा एमाले उम्मेदवार सर्वेन्द्र खनालले जम्मा ८ हजार ५ सय ५५ मत मात्रै प्राप्त गरे । यता तनहुँ र चितवनमा रास्वपा उम्मेदवारले फराकिलो मत अन्तरसहित ऐतिहासिक जित हासिल गरिरहँदा रास्वपाबाटै बारामा उम्मेदवार बनेका रमेश खरेल भने निकै पछि रहे । तनहुँ र चितवनमा रास्वपाका उम्मेदवारले निकटतम प्रतिष्पर्धीलाई फराकिलो मत अन्तरले पराजित गर्दैगर्दा रमेश खरेल रास्वपाकै उम्मेदवार भएपनि निकटतम प्रतिष्पर्धी बन्न सकेनन् । रास्वपाका उम्मेदवारले तनहुँ र चितवनमा दुनियाँलाई चकित पार्नेगरी मत प्राप्त गर्दैगर्दा रमेश खरेलले भने उनी रास्वपाकै उम्मेदवार हुन्र भने जसरी मत ल्याए ।

बारामा रमेश खरेलको सट्टा अरु कसैलाई चुनावी मैदानमा उतारेको भए चुनाव जित्न सकिने रास्वपाका केही नेताहरुको भनाई छ । यसअघि गएको मंसिर ४ को निर्वाचनमा काठमाडौं १ बाट चुनाव लडेका रमेश खरेल काठमाडौंमा नराम्रोसँग पराजित भएका थिए । आफ्नै नेतृत्वमा रहेको सुशासन पार्टीबाट त्यतिबेला आमा चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिएका खरेलले थोरै मत ल्याएका थिए । उनको पोजिसन निकै पछाडि रहेको थियो । एउटा चुनावमा पराजित भएपछि अर्को चुनाव लड्न नैतिकताका हिसाबले पाँच वर्ष पर्खनुपर्ने हो । तर, रमेश खरेल पाँच वर्ष त के पाँच महिना पनि पर्खन सकेनन् । आफ्नो नेतृत्वमा सुशासन पार्टी रहँदा रहँदै उनले पार्टी अलपत्र पारेर रास्वपाबाट टिकट लिए ।

रास्वपाबाट टिकट लिँदा उनले जित्ने सामान्य दाबी मात्रै गरेका थिएनन् अरु दललाई क्लिन स्विप नै गरिदिने बताएका थिए । तर, रास्वपाले अन्य दुई स्थानमा सानदार मतसहित विजय हासिल गर्दैगर्दा उनकै कारणले यो उपनिर्वाचनमा रास्वपाले क्लिन स्विपको रेकर्ड राख्ने अवसर गुमायो । रास्वपाले चितवन र तनहुँमा फराकिलो मत सहित जित हात पार्दै गर्दा बारामा लज्जाजनक पराजय बेहोर्नु रास्वपाका शुभेच्छुकहरुका लागि चिन्ताको विषय हो । क्लिन स्विपको रेकर्ड राख्ने अवसर गुमाउनुको मूख्य कारण रमेश खरेललाई बारामा टिकट दिइनु रहेको रास्वपाका केही नेताहरुको बुझाई छ । पाँच महिनाअघि मात्र काठमाडौंमा पराजित भएका उम्मेदवारलाई तत्कालै टिकट दिइनु रास्वपाको कमजोरी भएको कतिपयको तर्क छ ।

रमेश खरेल राजनीतिमा आउनुअघि नेपाल प्रहरीमा डिआइजी थिए भने आफ्ना सहब्याची सर्वेन्द्र खनाललाई आइजीपी बनाएर आफ्नो अपमान गरिएको भन्दै उनले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनले सुशासन पार्टी खोलेका थिए । तर, त्यो पार्टी अहिले अलपत्र अवस्थामा छ ।

यता सर्वेन्द्र खनाल पनि गएको मंसिर ४ को निर्वाचनमा काठमाडौंमा पराजित भएका उम्मेदवार हुन् । नेपाल प्रहरीको आइजीपीबाट अवकास भएपछि नेकपा एमाले प्रवेश गरेका खनाललाई एमालेले मंसिर ४ को निर्वाचनमा काठमाडौं ६ बाट उम्मेदवार बनाएको थियो । त्यतिबेला रास्वपाका शिशिर खनालसँग पराजित भएका खनाल यसपटक पनि रास्वपाकै नेताबाट पराजित भए । तर, त्यतिबेला शिशिर खनालका निकटम प्रतिष्पर्धी बन्न सफल भएका सर्वेन्द्र खनाल यसपटक भने रास्वापाका स्वर्णिम वाग्लेका निकटतम प्रतिष्पर्धी पनि बन्न सकेनन् । काठमाडौंमा पराजित भएपछि उनले पनि सांसद बन्ने महत्वाकांक्षा ५ वर्षका लागि स्थगित गर्लान् भन्ने धेरैको बुझाई थियो । तर, उनले पनि पाँच वर्ष त के पाँच महिना पनि धैर्य गर्न सकेनन् ।

रमेश खरेल होउन् या सर्वेन्द्र खनाल । उनीहरु दुबैको पार्टी ड्याङ फरक भएपनि प्रवृत्ति भने उस्तै देखियो । धैर्य गर्न सक्दै नसक्ने प्रवृत्ति । नेपाल प्रहरीको सेवाबाट बाहिरिएपछि राजनीतिमा हाम फालेका यी दुईलाई अब फेरि सांसद बन्ने भूत कहिलेबाट जाग्ने हो त्यो भने उनीहरु नै जानुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार