Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

बालेन गृहमन्त्रीमाथि खनिए, प्रहरी बीटमै हाने डोजर


काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए लगत्तै डोजर अभियानलाई तिव्रता दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समयमा थप आक्रामक बनेका छन् । अनधिकृत संरचनामा डोजर चलाउन गृहमन्त्रालयले सहयोग नगरेपछि सिंहदरबारमा बस्नेहरुमाथि नै खनिएका बालेन बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिए । गृहमन्त्री श्रेष्ठले अनधिकृत संरचनाको संरक्षण गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीलाई प्रश्न गरे : गृहमन्त्रीज्यू कहिलेसम्म अनधिकृत संरचनाको संरक्षण गरेर बस्नुहुन्छ  ?

केही साताअघि नै सिनामंगलको सुकुम्बासी वस्तीमा डोजर चलाउन अघि सरेका बालेनलाई गृहमन्त्रालयले सहयोग नगरेको खबर सार्वजनिक भएको थियो । त्यसयता उनका कडा भन्दा कडा स्टाटस सामाजिक सञ्जालमा अपलोड भइरहेका छन् । सुकुम्बासी वस्तीमा डोजर चलाउने उनको योजनामा सिंहदरबारले साथ नदिएपछि मेयर बालेन साहले सिंहदरबारका नेताहरुलाई नै सिसडोलमा डम्प गर्नुपर्ने सम्मका स्टाटस लेखेका थिए । देश सफा गर्नका लागि सिंहदरबारभित्रका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै उनले सिंहदरबारको फोहोर नउठाउने अड्डी लिए । फोहोर व्यवस्थापनमा सिंहदरबारले सहयोग नगरेको भनेर भनिएपनि त्यतिबेलाको अन्तर्य डोजर प्रकरण नै थियो । पछि सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले नै महानगरपालिकाका नाममा आदेश जारी गर्नुप¥यो ।

बुधबार मेयर बालेन साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुकुम्बासी बस्तीका अवैध संरचना संरक्षण गरेर बसेको भन्दै २०७६ साउन २० मा सर्वोच्च अदालतले दिएको आदेश स्मरण गराउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखे :
स्मरणका लागि २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो ।

आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ । यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् । यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु  ? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?

गृहमन्त्रीलाई प्रश्न सहितको यो स्टाटस लेख्नुपूर्व मेयर बालेन साहले मंगलबार पुरानो बसपार्क क्षेत्रमा रहेको प्रहरीको अस्थायी संरचना भत्काइदिएका थिए । फुटपाथ मिचेर प्रहरीले नै अस्थायी संरचना बनाएको भन्दै उनले संरचनामा डोजर चलाइदिएका हुन् । गृहमन्त्रालयले सुकुम्बासी बस्तीका संरचनामा डोजर चलाउन सहयोग नगरेपछि महानगरपालिकाले मापदण्ड मिचेर बनाएका प्रहरीकै संरचनामा डोजर चलाउने नीति लिएको बालेन निकट एक सहयोगीले बताए ।
गृहमन्त्रायले सहयोग नगरेको झोक बालेनले संरचना मिचेर बनाएका प्रहरीका अस्थायी संरचनामा पोखेपछि यसले गृहमन्त्रालयमा नै तरंग सृजना गरेको छ । यसअघि मेयर बालेन साहले केही महिनाअघि मैतिदेवी स्थित प्रहरीको अस्थायी संरचनामा डोजर चलाइदिएका थिए ।

अनधिकृत संरचना जो कसैले बनाएको भएपनि नछाड्ने बताउँदै आएका मेयर बालेनले अनधिकृत संरचना तत्काल खाली गर्न चेतावनी दिँदै आएका छन् । महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि मेयर बालेन केही समय त आफैं डोजरको अघिपछि लागेर हिँँडेका थिए । काठमाडौंको बानेश्वर क्षेत्रमा डोजर चलाउँदा केहीदिन बालेनको दैनिकी नै डोजरसँसँगै हिँड्ने भएको थियो । बानेश्वरको अल्फाबिटामा डोजर चलाउँदा अल्फाबिटाका सञ्चालकसँग चलेको भनाभन सामाजिक सञ्जालमा भाइरल बनेको थियो । मेयर साहले जथाभावी डोजर चलाउँदै हिँडेको भन्दै त्यतिबेला ठूला राजनीतिक दलका उच्च तहका नेताहरुले नै बालेनको विरोध गरेका थिए भने सामाजिक सञ्जालमा मेयर बालेन साहको वाहवाही भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार