Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

ओली र प्रचण्ड उस्तै हुन् : रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डमा कुनै भिन्नता नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड र ओली उस्तै रहेको बताएका हुन् ।

सञ्चारकर्मीले लामिछानेलाई तपाइँ तुलनात्मक रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक देखिनुहुन्छ नि के हो भनेर प्रश्न गरेका थिए । जवाफमा लामिछानेले ओली र प्रचण्डलाई आफूले फरक नदेखेको बताउँदै पुराना पार्टीका प्रायः नेताहरुको सोच उस्तै रहेको बताएका हुन् । उनले एमालेसँग रास्वपा नजिक भनेर गलत भाष्य बनाइएको दाबी गरे । उनले भने : यदि त्यस्तो कोही कसैले भन्छ भने म त्यो कुराको खण्डन गर्छु ।

आफूहरु एजेण्डाका आधारमा कोहीसँग नजिक या टाढा रहने तर, व्यक्तिलाई आधार मानेर कसैलाई आफूले नजिक या टाढाको व्यवहार नगर्ने उनको भनाई थियो । एमालेसँग रास्वपा नजिक भएको हो भनेर सञ्चारकर्मीले राखेको प्रश्नमा उनले थप भने : यदि त्यस्तो भएको हुन्थ्यो भने राष्ट्रपतिको निर्वाचनमा हामी एमालेका उम्मेदवारलाई समर्थन गरिहाल्थ्यौं नि । हामीले त्यतिबेला गठबन्धनका उम्मेदवारलाई समर्थन ग¥यौं ।

लामिछानेले त्यो प्रश्नको जवाफ दिने क्रममा उपराष्ट्रपति निर्वाचनको सन्दर्भ पनि उल्लेख गरे । उपराष्ट्रपति निर्वाचनमा आफूहरुले खेलेको भूमिका सम्झन आग्रह गर्दै उनले त्यसैबाट यी प्रश्नहरुको जवाफ निस्कने बताए ।

अघिल्लोपटक सर्वोच्चको आदेशसँगै लामिछानेको सांसद र मन्त्री पद गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैह्र सांसद भएपनि लामिछानेलाई ६ महिना सम्म गृहमन्त्री बनाउँदा फरक नपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको खबर सार्वजनिक भएपछि लामिछानेलाई ओलीले माया गर्ने गरेको राजनीतिक वृत्तमा चर्चा थियो । तर, त्यो सन्दर्भ फरक भएको भन्दै रास्वपा नेताहरुले आफूहरु कुनै दलसँग नजिक या टाढा नरहेको बताउँदै आएका छन् । एमाले, माओवादी, कांग्रेस लगायतका दलहरु एउटै ड्याङका रहेका रास्वपा नेताहरुको भनाई छ । ती दलका नेताहरु ठिक भएको भए आफूहरु राजनीतिमा आउनुपर्ने बाध्यता नै नहुने उनीहरुको तर्क छ ।

यसैबीच चितवन २ बाट रवि लामिछाने सांसद पदमा निर्वाचित भएपछि ओलीले लामिछानेलाई सबैभन्दा पहिले बधाई दिने अपेक्षा गरिएका बेला प्रचण्डले ओलीलाई उछिनेका छन् । सांसद निर्वाचित भएपछि प्रचण्डले लामिछानेलाई फोन नै गरेर बधाई दिएका हन् । आफूलाई प्रचण्डले फोन गरेर बधाई दिएको कुराको रास्वपा सभापति रवि लामिछानेले पुष्टि गरे । चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेले शुक्रबार सांसद पदको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफूलाई फोन गरेर बधाई दिएको जानकारी दिए ।

ओलीसँग रास्वपा सभापति लामिछाने नजिक देखिएको भए प्रचण्डको भन्दा पहिले ओलीको फोन लामिछानेलाई जानुपर्ने तर्क राजनीतिक वृत्तमा चलेको छ । रास्वपादेखि लिएर अन्य दलका नेता र केही राजनीतिक विश्लेषकले समेत यस्तो तर्क गरेका छन् । ओलीले लामिछानेलाई फोन गरेको खबर सार्वजनिक नहुनु तर, प्रधानमन्त्री दाहालले चाहिँ फोन नै गरेर बधाई दिनुलाई कतिपयले लामिछानेसँग प्रचण्ड चाहिँ नजिक रहेको बताएका छन् । प्रचण्ड यसअघि नजिक नभएको भएपनि अब नजिक हुन हतारिएको अर्काथरीको विश्लेषण छ । रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी चितवनबाटै दिएपछि रवि लामिछानेसँग नजिकिन प्रचण्डलाई हतारो भएको उनीहरुको बुझाई छ ।

रास्वपाले समर्थन फिर्ता लिएको खण्डमा संसदमा फेरि विश्वासको मत लिनुपर्ने बाध्यता प्रचण्डलाई आइलाग्ने भएका कारण पनि प्रचण्ड रवि लामिछानेसँग नजिकिन खोजेको केहीको बुझाई छ । रास्वपा सभापति रवि लामिछानेलाई समर्थन फिर्ता लिनबाट रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेको तर्क राजनीतिक वृत्तमा भइरहेका बेला माआवादीका नेताहरुले भने यसलाई सानो चित्त भएका मान्छेहरुको छुद्र टिप्पणी भनेका छन् । निर्वाचित भएका सांसदलाई बधाई दिनु एउटा राजनीतिक संस्कार भएको बताउँदै उनीहरुले संस्कारहीनहरुले त्यसबारे अनेक अर्थ लगाएको उनीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार