Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

रवि लामिछानेले जुन मन्त्रालय रोज्नुहुन्छ त्यही दिनुपर्छ : मन्त्री किराँती


रास्वपा सभापति रवि लामिछानेले सांसद पदको सपथ लिएकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं माओवादी नेता सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएका कारण उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन् ।

जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएको भन्दै उनले जनमतको सम्मान गर्नका लागि पनि रवि लामिछानेले रोजेको मन्त्रालय दिनुपर्ने बताए । जनताले रवि लामिछानेलाई दिएको लोकप्रिय मतका सम्मान गर्नका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । लामिछानेको सम्मानका लागि आफू मन्त्री पदबाट बाहिरिन समेत तयार रहेको उनले संकेत गरे ।

अहिलेको मन्त्रीपरिषदका लोकप्रिय मन्त्रीका रुपमा रहेका किराँतीको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रुपमा लिइएको छ । रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताइरहेका बेला माओवादीका मन्त्री किराँतीले यसो भन्नुलाई कतिपयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै बोली भनेका छन् । प्रचण्डकै मुखबाट लामिछानेलाई सार्वजनिक कार्यक्रममा ल रोजेको मन्त्रालय लिन आउनुस् भन्दा अप्ठ्यारो हुने भएका कारण प्रचण्डले मन्त्री सुदन किराँती मार्फत यो प्रस्ताव राखेको हुन सक्ने बुझिएको छ । अहिलेको मन्त्रीपरिषदमा सुदन किराँतीलाई कामप्रति इमान्दार र प्रचण्डसँग निकट सम्बन्ध बनाएका मन्त्रीका रुपमा लिइन्छ ।

माओवादीकै मन्त्री सुदन किराँतीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएपछि माओवादी नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भने अप्ठ्यारो पर्ने देखिएको छ । रवि लामिछाने यसअघि पनि उपप्रधान तथा गृहमन्त्री रहेको र सर्वोच्चको आदेशसँगै मन्त्री पद गुमाएका लामिछानेले त्यतिबेला फेरि गृहमन्त्रालयकै दाबी गरेको खबर सार्वजनिक भएको थियो । गृह मन्त्रालयमा प्रचण्डले रवि लामिछानेलाई पुनः इन्ट्री गराउँन उतिबेला आनाकानी गरेपछि रवि लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिएको थियो ।

यता रास्वपा सभापति रवि लामिछानेले भने यही अवस्थामा सरकारमा जाने कल्पना आफूहरुले नगरेको बताएका छन् । शुक्रबार सांसद पदको सपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानी गदै उनले यही अवस्थामा सरकारमा जान सम्भव नभएको बताएका हुन् । सरकारमा जान धेरै कुरा मिल्नुपर्ने उनको भनाई थियो । सञ्चारकर्मीले लामिछानेलाई तपाईँ सरकारमा कहिले जाने भनी प्रश्न गरेका थिए । जवाफमा लामिछानेले यही अवस्थामा आफूहरुले सरकारमा जाने कुरा नसोचेको बताएका थिए । गएको पुस १० पछि आफूहरु सरकारमा सहभागी हुँदा सरकारका न्युनतम साझा कार्यक्रममा आफूहरुले भ्रष्टाचारको अन्त्यलाई प्राथमिकताका साथ राखेको स्मरण गर्दै उनले भने ः हामीलाई जनताले भ्रष्टाचार अन्त्यका लागि भूमिका खेल्न लोकप्रिय मत दिएका थिए । त्यहीअनुसार सरकारका न्युनतम साझा कार्यक्रममा हामीले भ्रष्टाचार अन्त्यका लागि जुनसुकै कालखण्डका भ्रष्टाचार छानबीन गर्ने भनी उल्लेख ग¥यौं । तर, अहिले त्यसलाई सरकारका न्युनतम साझा कार्यक्रमबाटै हटाइयो । जो गम्भिर आपत्तिजनक छ ।

भ्रष्टाचार छानबिन गर्ने भन्ने विषयलाई नै सरकारको साझा कार्यक्रमबाट हटाइनुलाई आफूहरुले आश्चर्यजनक रुपमा लिएको बताउँदै उनले यस्तो सरकारमा सहभागी हुन नसकिने बताए । सोच नै नमिल्नेसँग सरकारमा सँगै बस्न कहाँ सकिन्छ र ? लामिछानेले भने ।

लामिछानेलाई सञ्चारकर्मीले सरकारमा नजाने हो भने समर्थन चाहिँ के गर्नुहुन्छ भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर निर्णय गर्ने बताए । सरकारमा सहभागी हुने सम्भावना भने अत्यन्तै कमजोर रहेको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार