राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका जाने मनस्थिती बनाएको बुझिएको छ । अहिलेकै अवस्थामा कुनै पनि हालतमा सरकारमा जान नसिकने बताउँदै आएको रास्वपाले सरकारका न्युनतम साझा कार्यकार्यक्रमको पुनर्लेखन र आफूहरुको चाहना अनुसारका मन्त्रालय पाएको खण्डमा सरकारमा जाने मनिस्थिती बनाएको हो । सरकारलाई दिएको समर्थन नै रास्वपाले फिर्ता लिन सक्ने सो पार्टीका सभापति रवि लामिछानेले बताइरहेका बेला पार्टीका महामन्त्रीदेखि लिएर अन्य केही नेताहरु सरकारमा जानुपर्ने पक्षमा देखिएका छन् ।
प्रतिपक्षमा बसेर भन्दा सरकारमा गएर जनताका पक्षमा काम गर्न सकिने भन्दै उनीहरुले पार्टी सभापति रवि लामिछानेलाई सरकारमा जाने माहोल तयार गर्नका लागि आग्रह गर्न थालेको बुझिएको छ । शुक्रबार मात्रै पार्टी सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य पदको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिलेकै अवस्थामा आफूहरु सरकारमा जाने सोचमा नरहेको बताएका थिए ।
पुस १० को सहमतिपछि बनेको सरकारमा आफूहरु एजेण्डाका आधारमा सहभागी भएको बताउँदै उनले त्यतिबेला सरकारका न्य्ुनतम साझा कार्यक्रममा रहेको भ्रष्टाचार छानबिन गर्ने विषय अहिले हटाइएकोमा आफूहरु आश्चर्यचकित भएको बताएका थिए । भ्रष्टाचारका विषयमा अन्य दलहरुको सोच नै फरक रहेको भन्दै उनले अन्य दलहरु भ्रष्टाचर संरक्षण गर्ने र आफूहरु अन्त्य गर्ने लाइनमा रहेकाले कुरा नमिलेको दाबी गरेका थिए । तर, भ्रष्टाचार अन्त्यका लागि जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिनका लागि सत्तारुढ दलहरु न्युनतम साझा कार्यक्रममा नै त्यो बुँदा समावेश गर्न तयार भएको खण्डमा सरकारमा जानुपर्ने पक्षमा रास्वपाका अन्य नेताहरु देखिएका छन् । पार्टी सभापतिलाई सरकारमा जाने कुरामा सहमत गराउँनका लागि महामन्त्री मुकुल ढकाल लगायतका नेताहरु लागेको रास्वपाका एक नेताले जानकारी दिए । उनका अनुसार यसअघि रास्वपाले पाएका मन्त्रालय र थप अर्को एउटा मन्त्रालय पाएको अवस्थामा सरकारमा जाने मुडमा पार्टी सभापति रवि लामिछाने समेत रहेका छन् । यसअघि रास्वपाले ३ मन्त्री र १ राज्यमन्त्री पाएको थियो । गृह तथा उपप्रधान, शिक्षा, श्रम तथा रोजगार र स्वास्थ्य राज्यमन्त्री रास्वपाको भागमा परेको थियो । अहिले थप अर्को एउटा मन्त्रालयका लागि रास्पाले लबिङ गर्नुपर्ने र अर्को एउटा मन्त्रालय पाएको खण्डमा सरकारमा जानुपर्ने रास्वपाका केही नेताहरुको भनाई छ ।
उपनिर्वाचनबाट रास्वपाले संसदमा थप एक सिट बढाएको अवस्थामा अहिलेको जनमतको सम्मान ठूला दलहरुले गर्दै रास्वपालाई थप अर्को मन्त्रालय दिनुपर्ने उनीहरुको तर्क छ । नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरी तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा.स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँन प्रधानमन्त्री तयार रहेको अवस्थामा रास्वपा सरकारमा सहभागी हुन सक्ने बुझिएको छ । अर्थ र गृह सहितका मन्त्रालय सम्हाल्न पाउँदा रास्वपाले जनताको अपेक्षा अनुसारको काम गर्न सक्ने आँकलन त्यो पार्टीका केही नेताहरुले गरेका छन् । तर, अर्थ र गृह जस्ता पावरफुल मन्त्रालय नै रास्वपालाई दिने विषयमा सत्ता समिकरणमा सहभागी दलहरुबीच कुरा मिल्न सक्ने सम्भवाना भने अत्यन्तै कम देखिन्छ । अहिले अर्थ नेपाली कांग्रेसको भागमा र गृह माओवादी केन्द्रको भागमा परेको छ । सत्ता सहयात्री दलहरुका भागमा परेका महत्वपूर्ण मन्त्रालय नै रास्वपालाई जिम्मा लाउँदा सत्ता समिकरण नै फेरबदल गर्नुपर्ने र त्यो सम्भावना नरहेको माओवादी केन्द्रका एक नेताले बताए ।
तर, माओवादी केन्द्रबाट मन्त्री बनेका सुदन किराँतीले भने रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर भएपनि सरकारमा सहभागी गराउँनुपर्ने शुक्रबार मात्रै बताएका थिए । रास्वपा सभापति रवि लामिछानेले सांसद पदको सपथ लिएकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं माओवादी नेता सुदन किरातीले रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले लामिछानेलाई जनताले लोकप्रिय मत दिएका कारण उनलाई रोजेको मन्त्रालय दिन प्रधानमन्त्री तयार हुनुपर्ने बताएका हुन् ।
जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएको भन्दै उनले जनमतको सम्मान गर्नका लागि पनि रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका थिए । त्यसका लागि आफूले त्याग गर्नुपर्ने भए जस्तोसुकै त्याग गर्न तयार रहेको उनको भनाई थियो ।
माओवादीका मन्त्रीको यो भनाई सार्वजनिक भएपछि रास्वपा नेताहरु उत्साहित भएका हुन् । माओवादी मन्त्री सुदन किराँतीको त्यो बोली प्रधानमन्त्री प्रचण्डकै बोली भएको भन्दै उनीहरु यही समयमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँग मन्त्रालयको बार्गेनिङ गर्नुपर्ने पक्षमा देखिएका छन् । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेर पार्टी सभापतिले चेतावनी दिइसकेपछि प्रधानमन्त्री प्रचण्ड तर्सिएको र यस्तो अवस्थामा गृह, अर्थ सहितका मन्त्रालय माग्दा पनि प्रधानमन्त्री प्रचण्ड रास्वपाका पक्षमा आउन सक्ने उनीहरुको बुझाई छ ।








