नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रका पक्षमा लाग्नेहरुलाई स्वार्थी, फटाहा र अज्ञानीको संज्ञा दिएका छन् । राजसंस्था र राजसंस्था पक्षधरमाथि केही समययता खनिन थालेका ओलीले राजसंस्थाको पक्षमा लाग्नेहरुलाई फटाहा र अज्ञानीको संज्ञा दिएका हुन् ।
अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थी र अज्ञानीले मात्रै राजतन्त्र मान्ने गरेको टिप्पणी गरे । उनले भने ‘राजतन्त्र भनेको कि फटाहले मान्छ, स्वार्थी फटाहले । कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओली यतिमा मात्रै रोकिएनन् उनले राजसंस्थाका पक्षमा लाग्नेहरुमाथि थप आक्रामक हुँदै भने ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन् ।’
राजसंस्था मान्नेहरुलाई उनले दलाल र बुद्धि नभएका समेत भन्न भ्याए । उनले भने ‘दलालहरू र बुद्धि नभएकाहरूले पनि राजतन्त्र मान्छन् । ’ ओली राजसंस्था पक्षधरमाथि केहीदिनयता यति धेरै आक्रामक हुनुलाई केहीले अर्थपूर्ण रुपमा लिएका छन् । देशमा ६२÷०६३ को आन्दोलन हुँदाताका बयलगाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रप्रति अनिच्छा देखाएका ओली अहिले आफैं राजसंस्थाका कट्टर विरोधी देखिनु अनौठो भएको केहीको भनाई छ । उनीहरुले पछिल्ला समयमा ओलीले दिएको राजसंस्था विरोधी चर्का अभिव्यक्तिमा राजसंस्था फर्काउने नियत नै रहेको आरोप समेत लगाएका छन् । राजसंस्था विरोधी चर्का कुरा गर्दा त्यसले राजसंस्थाका पक्षमा माहोल बन्ने मनसायका साथ ओलीले बेला न कुबेला राजसंस्थाका विरुद्धमा चर्का कुरा गर्न थालेको उनीहरुको बुझाई छ । अहिले राजसंस्थाका विरुद्धमा यति धेरै चर्का कुरा गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनीहरुले ओलीको नियत बुझिनसक्नुको रहेको सामाजिक सञ्जालमा टिप्प्णी समेत गरेका छन् ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्थाका पक्षमा लाग्नेहरुलाई फटाहा, अज्ञानी र बुद्धि नभएकाहरु भनिरहँदा राजसंस्था पक्षधरहरुले भने ओलीलाई नै त्यो आरोप फर्कादिएका छन् । ओलीको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै राजसंस्था पक्षधरहरु सामाजिक सञ्जालमा ओलीमाथि खनिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजतन्त्र पक्षधरप्रति दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै भनेका छन् : राजसंस्थाका पक्षमा रहेकाहरु फटाहा हुने भए के तपाईँ पनि ६२÷६३ अघि फटाहा हुनुहुन्थ्यो ? राजसंस्थाका पक्षमा रहेकाहरु अज्ञानी हुने भए तपाईँ पनि ६२÷६३ अघि अज्ञानी हुनुहुन्थ्यो ? राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको भनाईप्रति थप आक्रामक हुँदै भनेका छन् : राजसंस्थाका पक्षमा रहेकाहरु मुर्ख र दलाल हुने भए के तपाईँ पनि ६२÷६३ अघि मुर्ख र दलाल हुनुहुन्थ्यो ? राजसंस्था पक्षधरलाई बुद्धि नभएको भनेर तपाईँले टिप्पणी गर्दैगर्दा तपाईँलाई चाहिँ के भन्ने ?
केहीदिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व युवराज्ञी हिमानी शाह नामको फेक टुइटरमा गरिएको टुइटलाई लिएर पनि राजसंस्था र पूर्वराजपरिवारका सदस्यमाथि खनिएका थिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छोरा बुहारी अघि नसार्न चेतावनी दिँदै धेरै फुरफुर गरे राम्रो नहुने भनेका थिए । गएको बुधबार हिमानी शाह नाम गरेको फेक टुइटर ह्याण्डलबाट एमाले अध्यक्ष केपी शर्मा ओलीका विषयमा गरिएको टुइटले ओलीलाई आक्रोशित तुल्याएको थियो । तर, त्यो फेक टुइट भएपनि ओलीले त्यसलाई वास्तविक सम्झिएका थिए । फेक टुइटलाई लिएर पूर्व राजपरिवारप्रति खनिएका ओलीले क्षमा माग्नुपर्ने आवाज राजसंस्था पक्षधरबाट उठिरहेका बेला ओली फेरी राजसंस्था पक्षधरमाथि खनिएका हुन् । आफ्नो अज्ञानता छोप्न ओलीले पुनः चर्का कुरा गरेको राजसंस्था पक्षधरहरुको आरोप छ । टुइट वास्तविक हो या फेक भन्ने समेत नछुट्याई जथाभावी बोल्नेले राजसंस्था पक्षधरलाई अज्ञानी र बुद्धिहिन भन्नु अज्ञानताको पराकाष्ठा भएको उनीहरुको भनाई छ । आफ्नो अज्ञानता र मुख्र्याइपन छोप्नका लागि अनेकथरी कुरा गर्न ओली खप्पिस रहेको भन्दै उनीहरुले ओलीलाई सुध्रन चेतावनी समेत दिएका छन् ।








