Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

आरजु राणाले भनिन् : मेरा विरुद्ध अन्तर्वार्ता दिने अभियान चल्यो


नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले केही समययता आफूमाथि विभिन्न व्यक्तिले निराधार आरोप लगाइरहेको भन्दै आपत्ति जनाएकी छिन् । आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले निराधार आरोप लगाएको भन्दै उनले प्रेस विज्ञप्ती निकालेर भनेकी छिन् : दुषित मनसाय लिएर केही व्यक्तिले मलाई लक्षित गरी निराधार र कपोकल्पित आरोप लगाइरहेका छन्, त्यसप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

उनले आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार कसैलाई नभएको पनि बताएकी छिन् । हरेक व्यक्तिलाई आ–आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भएपनि हुँदै नभएका र आधारहिन आरोप लगाउँने अधिकार कसैलाई नभएको सांसद राणाले उल्लेख गरेकी छिन् । आफ्ना विरुद्ध आधारहिन कुरा गरेर अन्तर्वार्ता दिँदै हिँड्नेहरुमा रिस, कुण्ठा र आवेग रहेको उनको भनाई छ । उनले ती व्यक्तिहरुका अभिव्यक्तिलाई आधारहिन कुण्ठाका रुपमा बुझिदिन आग्रह समेत गरेकी छिन् । केही व्यक्तिहरूले सञ्चार माध्यमका अन्तर्वार्तामा आफूमाथि नियोजित रूपमा गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने जस्ता अभियान नै चलाएको उनको भनाई छ । सांसद राणाले आधारिहन र तथ्यहीन कुरा गर्नेहरुलाई सञ्चार माध्यममा स्थान नदिन समेत सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । तर, राणाले कसले कुन सन्दर्भमा कस्ता प्रकारका आधारहीन आरोप लगाएका हुन् भन्ने कुरा भने उल्लेख गरेकी छैनन् ।
केही समयअघि अहिलेका रास्वपा सांसद डा.स्वर्णिम वाग्लेले कांग्रेस छाड्नुअघि नेपाली कांग्रेसलाई दाजु भाउजुको पार्टी भन्दै आरजु राणाप्रति चित्त दुखाएका थिए । आरजु राणाको व्यवहारकै कारण आफूले कांग्रेस छाड्नुपरेको भन्दै उनले कतै घुमाउरो त कतै सिधा अव्यिक्ति दिएपछि सार्वजनिक सञ्चार माध्यममा आरजु राणा लक्षित टिप्पणीहरु धेरै आएका थिए । सम्भवतः डा. स्वर्णिम वाग्लेको त्यो अभिव्यक्ति र त्यसमा आधारित रहेर आएका अन्तर्वार्ताप्रति आरजु राणाको गम्भिर ध्यानाकर्षण भएको हुन सक्ने ठानिएको छ । यद्यपि आरजु राणाले कसैको पनि नाम नतोकेका कारण उनको विज्ञप्ती कसप्रति लक्षित हो भन्ने छुट्याउँन भने कठिन छ । आरजु राणाले मंगलबार निकालेको विज्ञप्तीका पूर्ण पाठ यस्तो रहेको छ ।

पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरुले मलाई लक्षित गरेर निराधार र कपोकल्पीत आरोप लगाउदै दुस्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हरेक व्यक्तिलाई आफ्नो बिचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ, तर कसैलाई पनि कोही विरुद्ध आधारहिन गालि गलौज र लान्छाना लगाउने अधिकार छैन ।

नियोजीत रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले संचार माध्यममा अन्तर्वार्ता दिदै म विरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ । तथ्यमा रहेर कसैको हस्तक्षेप बिना विचार राख्ने र मिडिया मार्फत सूचना र विचारहरू दिन सकिन्छ तर नियोजीत रुपमा म बिरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुदै नभएका आधारहिन बिभिन्न बिबादहरुमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरुको व्यक्तिगत रिस, कुण्ठा र आबेगमा सम्पूर्ण संचार माध्यम र संचारकर्मीहरुले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

हरेक जसो अन्तवार्तामा केही व्यक्तिहरु नियोजीत रुपमै मेरो बिरुद्ध व्यक्तिगत गालीगलैज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहिन, निराधार, तथ्यहिन र चरित्रहत्या गर्ने दुसित उदेश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आम संचारमाध्यमलाई आग्रह गर्दछु ।


प्रतिक्रिया दिनुहोस !
विचार