Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

रास्वपामाथि ओलीको प्रहार : नयाँ बोत्तलको पुरानो रक्सी


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीमाथि खनिएका छन् । रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिई ओलीले रास्वपालाई नयाँ बोत्तलको पुरानो रक्सी भनी टिप्प्णी गरे । राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा उनले रास्वपाको नाम नलिई ४–६ महिनाअघि खुलेको भए पनि उक्त पार्टीलाई बुढो पार्टीको संज्ञा दिए । ‘नेपालमा सबैभन्दा नयाँ भने पनि, सबैभन्दा पुरानो पार्टी भने पनि नेकपा एमाले नै हो’ ओलीले भने, ‘अहिले ४ महिना ६ महिना, १० महिनाअघि खोलेको भए पनि बुढो विचार बोकेको पार्टी नयाँ कसरी हुन्छ ? यो नयाँ संस्करण मात्रै हो ।

रास्वपाको नाम नलिई रास्वपामाथि आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भिजन बिनाका पार्टी अघि बढ्न नसक्ने बताए । उनले भने, ‘यी बोतल जुनसुकै कलरका, जेसुकै होउन् बोतल नयाँ होला रक्सी उस्तै हो । उही रक्सी बोकेर हिँडेको छ । जे सुकै चिन्ह बोकुन् , भिजनबिना देश बन्दैन, भिजन बेगर गन्तव्यमा पुग्न सकिन्नँ । समृद्ध नेपाल सुखी नेपालीजस्तो क्लियर भिजनबिना, अघि बढ्न सकिन्नँ ।

राजनीतिमा कहिले काहिँ ह्वीम चल्ने भन्दै ओलीले विगतमा नेकपा माओवादीले २४० निर्वाचन क्षेत्रमध्ये १२० वटामा जित हासिल गरेको उदाहरण दिए । ओलीले भने  : ‘यस्ता ह्वीम कहिले कहिले आउँछन्, त्यस्तो ह्वीम हामीले देखेका छौं । एकपल्ट २४० सिटमध्ये १२० माओवादीले ल्यायो, धेरैले अब माओवादीले खायो खायो भने । मैले भनेँ, कहिले कहिले यस्तो हुन्छ’ अहिले उदाएका नयाँ दलहरुलाई ओलीले कराहीमा बसालेको दुधको उदहरण दिँदै भने, ‘कराहीमा २ माना दूध हालेर बेस्सरी आगो लगाइदियो भने त्यसको रापतापले दूध कराहीभरि हुन्छ र पोखिन्छ । तर यो टेम्पररी फेनोमोना हो । पर्मानेन्ट होइन । उनले छोटो आयु भएका अल्पायु चिजहरु छिटो हलक्क बढ्ने बताए ।

उपनिर्वाचनपछि पूर्व राजा र राजसंस्था विरुद्ध खनिएका ओली सोमबार भने रास्वपाविरुद्ध खनिएका हुन् । यसअघि ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह र राजसंस्था पक्षधरलाई अज्ञानी, फटाहा र मुर्खको संज्ञा दिएका थिए । राजसंस्था पक्षधरलाई अज्ञानी भनेपछि राजसंस्था पक्षधर ओलीप्रति आक्रोशित भएका थिए । सोमबार ओलीले रास्वपालाई नयाँ बोत्तलको पुरानो रक्सी भनेपछि उनीमाथि रास्वपा पक्षधर खनिएका छन् ।

गएको मंसिर ४ को निर्वाचन आसपास रास्वपाबारे कडा टिप्पणी गर्ने गरेका ओलीले त्यसयता भने रास्वपामाथि नकारात्मक टिप्पणी गरेका थिएनन् । मंसिर ४ को निर्वाचनअघि रास्वपाको नाम र चुनाव चिन्हमाथि नै उनले प्रश्न उठाएका थिए । अमेरिकाको फ्रिडम पार्टी र उसको चुनाव चिन्हसँग रवि लामिछाने नेतृत्वको पार्टीको नाम र चुनाव चिन्ह मिलेको भन्दै उनले त्यतिबेला रास्वपा कहाँबाट चल्दैछ भनेका थिए । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ओलीको त्यो टिप्पणीबारे कडा आलोचना गरेपछि उनले केही समय रास्वपाबारे टिप्पणी गरेनन् । बरु चुनावपछि पुस १० मा रास्वपा सहितको गठबन्धन बनाएर रास्वपालाई सरकारमा सहभागि हुने चाँजोपाँजो मिलाए ।

रवि लामिछाने गृहमन्त्री भएपछि त ओली रवि लामिछानेका पक्षमा प्रचण्डसँग खम्बा नै बनेर उभिए । त्यतिबेला रवि लामिछानेलाई गृहमन्त्री बनाउँन ओलीकै दबाबले काम गरेको भनिन्छ । लामिछानेका बारे नागरिकता विवाद प्रकरणमा सर्वोच्चको आदेश आउँदा पनि ओलीले रोष्ट्रमबाटै घुमाउरो पारामा असन्तुष्टी जनाएका थिए । त्यतिमात्रै होइन, लामिछानेले नागरिकता पुनः प्राप्त गरेपछि ओलीले गैह्र सांसद भएपनि रविलाई ६ महिनाका लागि गृहमन्त्री बनाउनुपर्ने भन्दै अडान लिए । त्यो अडानको रास्वपा पक्षधरहरुले खुलेर प्रशंसा गरे । कतिपयले त रवि लामिछानेको रास्वपा र एमाले मिल्न लागेको आंकलन समेत गरे । तर, सोमबार आइपुग्दा ओली रास्वपाप्रति पुरै युटर्न भए ।

ओलीको यो युटर्न केहीदिनअघि रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्तिका कारण भएको केहीले अनुमान गरेका छन् । उपनिर्वाचनमा अत्याधिक मत सहित विजयी भएपछि काठमाडौं आएका लामिछानेलाई पत्रकारले सोधेका थिए ः तपाईँ एमाले अध्यक्ष ओलीसँग नजिक देखिनुहुन्छ के हो कुरा ? पत्रकारको त्यो प्रश्नको जवाफमा लामिछानेले आफ्ना लागि ओली र प्रचण्डमा कुनै फरक नभएको प्रतिकृया दिए । ओली र प्रचण्ड पुराना दलका पुराना र भिजनलेस नेता भएको उनको टिप्पणी थियो । रास्वपा सभापति लामिछानेको यही टिप्पणीले ओली चिढिएको कतिपयको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार