Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

टोपबहादुरलाई खोज्न घरमै पुग्यो प्रहरी


नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि एकाएक फरार रहेका नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ । सातदोबाटो स्थित रायमाझीको निवासमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खानतलासी गरेको हो । अघिल्लो साता अर्घाखाँचीको एक विद्यालयमा सभामुख देवराज घिमिरेसँगै विशेष अतिथिका रुपमा पुगेका रायमाझी त्यही दिन आफ्ना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि त्यहाँबाट फरार भएका थिए । त्यसयता उनी कहाँ छन् प्रहरीले फेला पारेको छैन । तर, प्रहरीले उनलाई फेला नपारेपछि केहीले भने प्रहरीमाथि नै शंका गरेका छन् । उच्च राजनीतिक दबाबमा प्रहरीले उनलाई नदेखेजस्तो गरेको केहीको आरोप छ । यद्यपि प्रहरी अधिकारीहरु भने यो आरोपमा सत्यता नभएको बताउँछन् । रायमाझीलाई पक्राउ गर्नकै लागि उनको घरमा खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीको भनाई छ ।

निवासमा खानतलासी गरिएपनि रायमाझी भने फेला नपरेको प्रहरीले जनाएको छ । यो प्रकरणसँग सम्बन्धीत अरु केही सामग्री फेला परे या नपरेको भन्ने विषयमा भने प्रहरीले केही बताएको छैन । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि अर्घाखाँची हुँदै भैरहवासम्म आइपुगेका उनी त्यहाँबाट भने सम्पर्कविहीन भएका थिए । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि उनले अर्घाखाँचीमा पत्रकारलाई छोटो प्रतिकृया समेत दिएका थिए । आफ्नो कुनै गल्ती नभएको बताउँदै उनले आफूलाई फसाउने षड्यन्त्र रचिएको बताएका थिए । यो सँगै रायमाझीले प्रहरीलाई आफूले सहयोग गर्ने समेत बताएका थिए । त्यस्तो बताएर अर्घाखाँचीबाट बुटवल हानिएका उनी त्यसयता कहाँ छन् अत्तोपत्तो छैन । उनलाई पक्राउ गर्न माग गर्दै संसददेखि सडक सम्म आवाज उठेको छ । एमालेकै केही नेताहरुले समेत रायमाझीलाई सम्पर्कमा आएर प्रहरीलाई सघाउन आग्रह गरेका छन् । तर, रायमाझी यो सबै सुनेको नसुने झैं गरिरहेका छन् ।

पक्राउ पुर्जी जारी गरेर पनि प्रहरीले भेटाउन नसकेका रायमाझीले प्रहरीलाई नराम्रोसँग छक्काइदिएका छन् । अर्घाखाँचीको कार्यक्रम सकेपछि त्यो रात बुटवल बस्ने टोपबहादुर रायमाझीको योजना थियो । पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक हुनुपूर्व नै रायमाझीले त्यो दिन बुधबार बुटवलमै बस्ने भन्दै एउटा होटलमा कोठा समेत बुकिङ गरेका थिए । तर, पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि उनी बुटवल गएपनि होटलमा गएनन् । बरु उनले भैरहवाबाट काठमाडौंका लागि प्लेनको टिकट लिन आफू निकटलाई लगाए । उनी जहाज चढ्न भैरहवा एयरपोर्ट पुग्ने अनुमानका आधारमा प्रहरी उनलाई समात्न सादा पोसाकमा तैनाथ थिए । तर, उनी एयरपोर्ट नै गएनन् । यता काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि सुरक्षाकर्मीहरु टोपबहादुरलाई पक्रन तम्तयार अवस्थामा थिए । तर, उनका लागि गरिएको प्रतिक्षा बेकार बन्यो । प्रहरीलाई छक्याएर उनी अन्तै लागे । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार त्यो दिन रायमाझीको अन्तिम लोकेसन भैरहवामा ट्रयाक भएको थियो । तर, त्यसपछि भने उनको लोकेसन पत्ता लागेको छैन । बुटवलको होटलमा पक्राउ गर्न होटल आसपास तैनाथ भएका सादा पोशाकका प्रहरीलाई टोपबहादुरले त्यहिँ छक्काइदिए । टोपबहादुर होटल नै नगएपछि प्रहरी रित्तो हात भयो । काठमाडौं जान आफू निकटकालाई प्लेनको टिकट काट्न टोपबहादुरले अह्राएको सुइँको पाएपछि प्रहरीले एयरपोर्टबाटै उनलाई पक्राउ गर्ने प्लान बनायो । तर, टोपबहादुरले प्रहरीको प्लानलाई नै माथ खुवाउनेगरी आफ्नो प्लान बदले । प्लेनको प्लान बदलेर उनी अन्यत्रै लागे ।

पक्राउ पुर्जी जारी भएपछि उनका छोरा पक्राउ परेपनि रायमाझी ‘फरार’ रहँदै आएका छन् । दुवै जनामाथि नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप छ । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझी लगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । उक्त प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने कांग्रेसका केही नेता समेत मुछिएका छन् ।

टोपबहादुर रायमाझी फरार रहिरहेका बेला यो विषयलाई विभिन्न व्यक्तिले विभिन्न तबरले विश्लेषण गरेका छन् । केहीले रायमाझी देश बाहिर गइसकेको आशंका गरेका छन् भने केहीले उच्च तहका नेताको घरमा लुकाएर राखेको भनेका छन् । अनुसन्धानका मामलामा अन्तर्राष्ट्रिय ख्याती नै कमाएको नेपाल प्रहरी हाइ प्रोफाइलका व्यक्ति समात्ने मामलामा चाहिँ किन कमजोर देखिन्छ भनेर यतिबेला प्रश्न समेत उठेको छ । कुनै क्लु नै नभएका घटनाको समेत सुक्ष्म अनुसन्धान गरेर दोषीलाई सार्वजनिक गर्ने गरेको प्रहरी ठूला नेताहरुका मामलामा दबाबमा पर्ने गरेको जुन आरोप छ यसलाई अन्यथा भन्न नसकिएला । जो कोहीले जहाँतहिँ चिन्न सक्ने प्रकारका व्यक्ति हुन् टोपबहादुर रायमाझी । उनको हुलियाका विषयमा सम्भवतः प्रहरी सेवामा काम गर्नेलाई मात्रै होइन अन्य जो कोहीलाई पनि राम्रोसँग थाहा छ । प्रहरीले उनको मोबाइल कनेक्सन को को सँग भइरहेको छ भनेर ट्रयाक गर्ने हो भने केही मिनेटमै उनी पक्राउ पर्ने नेपाल प्रहरीकै केही पूर्व अधिकारीहरु बताउँछन् । तर, प्रहरीले राजनीतिक दबाबमा त्यो काम गर्न नसक्ने उनीहरुको स्विकारोक्ति छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार