Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

पक्राउ परेका खाँणको विगत यस्तो थियो


पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायरामा तानिएका खाँणलाई प्रहरीले बिहानै उनकै निवासबाट पक्राउ गरेको हो । यो प्रकरणमा यसअघि पक्राउ परेका केही व्यक्तिले बालकृष्ण खाँणको पनि संलग्नता रहेको भनेपछि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो । यसबीचमा उनले आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ती निकालेका थिए भने आफ्ना विरुद्धमा अनर्गल प्रचार नगर्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेका थिए । यही प्रकरणमा मुछिएका एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।
पूर्वगृहमन्त्री खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाँणपत्नी मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ । अडियोमा बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसँगै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पनि संलग्नताबारेको अडियो छ । तर, त्यो अडियोको वास्तविकतालाई लिएर काग्रेस नेताहरुले आशंका गरिरहेको अवस्थामा पूर्व गृहमन्त्री खाँणलाई पक्राउ गरिएको हो ।
नक्कली भुटान्ी शरणार्थी प्रकरणमा आफ्नो नाम सार्वजनिक भएपछि उनी जोगिन विभिन्न नेताहरुकोमा दौडधुप गरिरहेका थिए । दुई दिनअघि मात्रै खाँण टेकु प्रहरी परिसर पुगेर आफू बोलाइएको जुनसुकै बेलामा हाजिर हुन तयार रहेको जानकारी प्रहरीलाई दिएर फर्किएका थिए । यसअघि पक्राउ गरेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेको बयानका आधारमा पूर्व गृहमन्त्री खाँणको नाम पनि अगाडि आएको थियो ।
गृहमन्त्री भएपछि पाण्डेलाई खाणले गृह मन्त्रालयको सचिव बनाएका थिए । गृहमा गएपछि पाण्डेले ठगी गिरोहसँग मिलेर काम गरेको खुलेको छ । केही दिनदेखि प्रहरीको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानको क्रममा पूर्व गृहमन्त्री खाँणको नाम लिएका थिए । उनको नाम आएपछि अनुसन्धान नहुने त होइन भन्ने आशंका समेत उब्जिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणासँगै खाँणको पनि नाम आएपछि अनुसन्धान हुनेमा धेरैले आशंका गरेका थिए । तर, प्रहरीले त्यो आंशका चिर्दै खाँणलाई पक्राउ गरेको छ ।
कांग्रेस नेता खाण २०७८ असार २९ गतेदेखि २०७९ पुस ११ गतेसम्म गृह मन्त्री भएका थिए । त्यतिखेर नै उनले सचिवको रुपमा पाण्डेलाई गृह मन्त्रालयमा ल्याएका थिए । खाण गृह मन्त्री भएको एक महिनामै पाण्डेको सरुवा गृहमा भएको थियो । गृह मन्त्रीबाट बाहिरिनुभन्दा दुई महिना अगाडि उनको सरुवा भएको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी पनि छिटै पक्राउ पर्ने प्रहरीले जनाएको छ । टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी यसअघि नै पक्राउ परिसकेको छन् । यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित ८ जनालाई पक्राउ परिसकेको छ । खाँण प्रचण्ड नेतृत्वको सरकार बन्नुअघिसम्म गृहमन्त्री थिए । गएको मंसिर ४ को निर्वाचन उनकै सुरक्षा कमाण्डमा सम्पन्न भएको थियो । तर, आफैं गृहमन्त्री भएर सम्पन्न गरेको चुनाव पनि खाँणलाई फापेन । उनी रुपन्देहीमा राप्रपा उम्मेदवार दीपक बोहरासँग पराजित भएका थिए । ०४८ देखि तीनपटक रुपन्देहीबाटै चुनाव जितेर पटक पटक मन्त्री बनेका खाँण कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र समेत हुन् । खाँण अघिल्लोपटक भने समानुपातिकबाट सांसद बनेका थिए । ०७४ मा समानुपातिकबाट सांसद बनेका खाँण प्रतिपक्षमा रहुन्जेल प्रमुख सचेतकको भूमिकामा थिए । प्रधानमन्त्री देउवा भएका बखत उनी विदेश जाँदा देउवाले खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत दिएका थिए । यसअघि खाँण शिक्षा र सिंचाईमन्त्री भएका थिए । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेपनि देउवाले उनलाई महामन्त्रीका रुपमा भने अघि सारेनन् । तर देउवा समूहभित्रै शक्तिशाली नेताका रुपमा भने स्थापित भएका थिए । कांग्रेसको विद्यार्थी र युवा भ्रातृ संस्था नेविसंघ र नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष समेत भएका खाँण पार्टीभित्र देउवाका उतराधिकारी बन्ने प्रयासमा थिए ।

मसिर ४ को निर्वाचनमा कांग्रेसको टिकट वितरणको डाडु पन्यु आफैसँग लिएका खाँणले आफ्नी श्रीमति मञ्जु खाँणलाई समानुपातिक सुचीबाट सांसद बनाएका थिए । आफु प्रत्यक्षमा उम्मेदवार भएर श्रीमती मन्जु खाँणलाई समानुपातिक सूचीमा राखेपछि पार्टीभित्रै उनी विवादित बनेका थिए । त्यसो त खाँण जिल्लामै पनि सर्वस्वीकार्य नेता थिएनन् । उनलाई आफ्नै भाइलाई जिल्ला सभापति बनाएर पार्टीमा परिवारवाद लागु गरेको अरोप थियो । विभिन्न आरोपका बीचमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि भने उनको राजनीतिक जीवन सकिएको अनुमान गरिएको छ । तर, अदालतबाट दोषि ठहर नभएसम्म भने के ही भन्न सकिने स्थिती छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार