Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

चुकुल लगाएर बसेका खाँण हातपातमा उत्रिएका थिए


नक्कली भुटानी शरणार्थी प्रकरणमा पोलिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण मंगलबार दिउँसोदेखि मोबाइल बन्द गरेर बसेका थिए ।

खाँणको मोबाइल बन्द भएपछि एमाले सचिव टोपबहादुर रायमाझीजस्तै भाग्न सक्ने आशंका गरेर प्रहरी चनाखो भएर बसेको थियो ।

खाँणलाई पक्राउ गर्ने निष्कर्षमा पुगिसकेको प्रहरीले मंगलबारदेखि नै उनको निवास वरपर सादा पोशाकका प्रहरी खटाएको थियो । बुधबार बिहान आफूलाई पक्राउ गर्न प्रहरी निवास आएको सूचना पाएपछि खाँण घरभित्रै चुकुल लगाएर बसेका थिए ।

प्रहरी स्रोतका अनुसार बाहिर प्रहरी पुग्दा उनले भित्रैबाट निकै बेर विभिन्न व्यक्तिसँग फोनमा कुरा गरेका थिए । भित्रबाट लगाइएको चुकुल नखोलेपछि प्रहरीले बल प्रयोग गर्ने तयारी थाल्दा खाँण बाहिर निस्केको बताइएको छ । उनी निस्केलगत्तै प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिन खोजेको थियो ।

स्रोतका अनुसार त्यस क्रममा खाँण प्रहरीमाथि हातपातमा समेत उत्रेका थिए । खाँण प्रहरीमाथि नै हातपातमा उत्रिन खोजेपछि धकेलाधकेल हुँदा केही बेर तनाव भएको थियो । अहिले खाँणलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ । अब अदालतबाट पक्राउ पुर्जीसँगै म्याद थप गर्ने तयारी छ । यो प्रकरणमा खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि आजै पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले केसीलाई जडीबुटीबाट पक्रेको हो ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाँणसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललगायतले खाँणसहित उनकी श्रीमती मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाको नाममा करोडौँ रकम दिएको बयान दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार