Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

टोपबहादुरले पठाए पत्र : भने- बिरामी छु


नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमालेका निलिम्बित सचिव टोपबहादुर रायमाझीले आफू बिरामी रहेको व्यहोरा सहितको पत्र संसद सचिवालयमा पठाएपछि यसले नयाँ तरंग ल्याएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन रायमाझीले संसद सचिवलायमा बिरामी परेको पत्र पठाएका हुन् ।

संसद सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार रायमाझीले आफू बिरामी परेको पत्रमा उल्लेख गरेका छन् । तर, त्यो पत्र संसद सचिवालयमा भने दर्ता भएको छैन । इमेल मार्फत उनले पठाएको पत्रमा आफू बिरामी रहेका कारण संसद बैठकमा उपस्थित हुन नसक्ने भएकाले बिरामी बिदा पाउँ भनी माग गरिएको छ । बिरामी भएको व्यहोरा सहितको पत्र संसद सचिवालयमा आएपछि संसद सचिवालयका कर्मचारीहरु समेत चकित परेका छन् । उनको पत्र दर्ता गर्ने या नगर्ने अन्यौलमा रहेको ती कर्मचारीले बताए ।

रायमाझीले पठाएको पत्रमा आफू बिरामी भएर अस्पताल भर्ना भएको उल्लेख छ । तर, कुन अस्पतालमा कस्तो रोग लागेर बिरामी भएको भन्ने कुरा भने उनले खुलाएका छैनन् । लामो समय संसदका बैठकमा कुनै सांसद उपस्थित नभए सभामुखले कारबाही गर्न पाउँने व्यवस्था संसद नियमावलीमा छ । त्यही कारबाहीबाट जोगिन र सांसदलाई आउँने तलब भत्ता नरोकियोस् भन्ने मनसायले उनले पत्र पठाएको हुन सक्ने संसद सचिवालयका ती कर्मचारीले बताए ।

अघिल्लो साता अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै गएका रायमाझी पक्राउ पुर्जी जारी भएको खबर पाउँने बित्तिकै फरार भएका थिए । सो कार्यक्रममा पत्रकारहरुसँग आफूलाई फसाउने अभिप्रायले पक्राउ पुर्जी जारी गरेको बताएका उनी त्यसपछि बुटवल लागे । बुटवलबाटै उनले प्रहरीका आइजीपीलाई फोन गरी पक्राउ पुर्जीका विषयमा सोधखोज गरेको बताइएको थियो । एमाले अध्यक्ष ओलीले त आफूसँग रायमाझीको फोन संवाद भएको उल्लेख गर्दै रायमाझीलाई बाटैबाट समात्नपर्ने आवश्यकता के थियो भन्दै प्रश्न समेत गरेका थिए । उपप्रधानमन्त्री भइसकेको मान्छे कहिँ भाग्ने सम्भावना थिएन भन्दै उनले त्यसमा षडयन्त्र रहेको बताएका थिए । तर, ओलीले भाग्ने सम्भावना नरहेको भनेकै एक हप्ता पुग्यो तर, रायमाझी भने सम्पर्कमा आएका छैनन् । उनी कहाँ छन् भन्ने बुझिएको छैन ।

यसैबीच फरार सांसद तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई एमालेले निलम्बन गरेको छ । अनुसन्धान तथा कारबाही पक्रियामा सहयोग पुगोस् भन्ने अभिप्रायले निलम्बन गरिएको एमालेले बताएको छ । एमालेका महासचिव शंकर पोखरेलले सचिव रायमाझीलाई निलम्बन गरिएको विज्ञप्ती निकाल्दै भनेका छन् : उहाँ सम्पर्कमा आएर प्रहरीको अनुसन्धानलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार