नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण समातिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तनावमा परेका छन् । यो प्रकरणमा आफ्नी पत्नी आरजु राणाको समेत नाम आइरहेका बेला आफ्ना विश्वासपात्र बालकृष्ण खाँण पक्राउ परेपछि उनी तनावमा परेका हुन् । शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला खाँण गृहमन्त्री थिए । आफ्नो क्याबिनेटका शक्तिशाली मन्त्री समातिएपछि देउवा बेचैन भएका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नी पत्नी आरजु राणाको संलग्नता रहेको दाबी सहितको अडियोका कारण केहीदिनयता देउवा तनावमा थिए । त्यही तनावका बीचमा मंगलबार मात्रै देउवा, ओली र प्रधानमन्त्री प्रचण्डको बैठक बसेको थियो । बैठकमा नक्कली शरणार्थी प्रकरणका विषयमा नेताहरुबीच कुराकानी भएपनि देउवाले आफ्नी पत्नी सहित खाँण लगायतका नेताहरुका विषयमा खुलेर कुरा गर्न सकेका थिएनन् । प्रधानमन्त्री निटक स्रोतले दिएको जानकारी अनुसार देउवा बैठकमा तनावपूर्ण मुद्रामा उपस्थित भएका थिए । ओलीको अनुहार पनि बैठकमा मलिन थियो । तर, प्रधानमन्त्री प्रचण्डले तीन नेताको बैठकलाई अनौपचारिक रुपमा अघि बढाउँदै शरणार्थी प्रकरणमा खास कुरा नगरेको बुझिएको छ । यो विषयको निष्पक्ष अनुसन्धानका लागि आफूले गृहमन्त्रीलाई भनेको बताउँदै उनले यसमा आफूले केही हस्तक्षेप नगर्ने बताएका थिए ।
यसैबीच बालकृष्ण खाँण पक्राउ परे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँगको छलफललाई तिब्र बनाएका छन् । सभापति देउवाले धुम्बाराहीस्थित आफ्नो निवासमा बालकृष्ण खाँण निकट मानिएका नेताहरुलाई समेत बोलाएर छलफल गरेको धुम्बाराही स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार खाँण पक्राउ परेपछि देउवाले धुम्बाराहीमा खाँणसँग लामो समयदेखि सम्बन्ध रहेका नेताहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा देउवाले उनीहरुसँग कुरा जे हो त्यही भन भनेको बैठकमा सहभागी एक नेताले बताए । खाँणलाई विश्वास गरेर गृहमन्त्री सम्म बनाएँ आज मेरो बदनाम भयो । बैठकमा सहभागी एक नेताले देउवालाई उदृत गर्दै भने : आरजु पनि नाम आएको छ यदि यो सही हो भने तिमीहरु भन । तर, बैठकमा सहभागी सबैले यो विषयमा आफूहरुलाई केही थाहा नभएको बताएका थिए ।
आफू निकटका नेताहरुसँगको बैठक सकिए लगत्तै देउवा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँगको बैठकमा हानिए । बालकृष्ण खाँण पक्राउ परेपछि प्रचण्ड, ओली र देउवाको बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास सिहदरबारमा बैठक बसेको हो । संक्रमणकालिन न्यायका विषयमा छलफल गर्न बैठक बसेको भनिएपनि यो बैठकलाई शंकाको नजरले हेरिएको छ । ठूला दलका उच्च नेताहरु नै एकपछि अर्को गर्दै यो प्रकरणमा धमाधम तानिन थालेपछि घटनालाई सामसुम पार्न नेताहरुले प्रयत्न गरेको रुपमा बुझिएको छ । यो प्रकरणले सबैभन्दा धेरै दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा परेका छन् । उनका अत्यन्तै विश्वासपात्र मानिएका बालकृष्ण खाँण पक्राउ परिसकेका छन् भने आफ्नी पत्नी आरजु राणाको समेत यो विषयसँग जोडेर नाम आइरहेको छ । पत्नी आरजुलाई आफूपछि कांग्रेसको सभापति बनाउँने दाउमा रहेका देउवा यही प्रकरणले नै पत्नीको राजनीतिक भविष्य ध्वस्त पारिदिने भयो भनेर आफू निकटकासँग गुनासो गर्न थालेका छन् । यो बीचमा देउवाले पत्नी आरजुका विषयमा सार्वजनिक भएको अडियोबारे चासो राख्दै प्रहरीका उच्च अधिकारीसँग आफैले फोन नै घुमाएको प्रहरीका एक अधिकारीले बताए ।
छानबिन नगर्न भनेर देउवाले भनेका छैनन्, ती अधिकारीले भने , तर, चासो चाहिँ देउवाले धेरै राखेका छन् । आफ्नो राजनीतकि जीवनको उत्तरार्धमा नक्कली भुटानी शरणार्थी जस्तो गम्भिर विषयमा पत्नीकै नाम जोडिएको भन्दै समाचारहरु आएपछि यसले उनलाई नराम्रोसँग पिरोलेको देउवा निकटका एक नेताले बताए । अहिले प्रचण्ड क्याबिनेटमा मन्त्री समेत रहेका ती नेताले भने, ‘देउवासँग मैले वर्षौंदेखि सम्बन्ध राख्दै आएको छु ,तर, यसपटक जति तनावको अवस्थामा भने मैले यसअघि कहिल्यै देउवालाई देखेको थिइनँ । गम्भिर विषयलाई समेत हल्काफुल्का रुपमा लिने गरेका देउवाले यो विषयलाई यति धेरै गहिरोसँग हेरेका छन् कि म चकित परेको छु ।’ ती नेताले भने ।
राजनीतिक जीवनको मात्रै नभएर वास्तविक जीवनकै उत्तरार्धमा रहेको अनुभूति गरिरहेका देउवा ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेपछि फेरि अर्कोपटक प्रधानमन्त्री बन्ने उपयुक्त अवसरको खोजीमा थिए । तर, पछिल्ला दिनमा आफ्नो ग्रह बिग्रिएको निष्कर्षमा देउवा पुग्न थालेका छन् । ज्योतिष र अध्यात्ममा विश्वास राख्ने देउवा आफैंले ज्योतिष विद्या समेत केही सिकेका छन् । तर, यसबीचमा उनले आफ्नो र श्रीमतिको कुण्डली राम्रोसँग हेरेनन् या हेरेर पनि मिलाउन सकेनन् । त्यो उनै जानून् । तर, राजनीतिक परिदृश्यले देउवाका आगामी दिन भने त्यति राम्रा देखिदैनन् ।





