Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

आरजु राणा प्रहरीकोमा पुगिन्


नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा उजुरी सहित प्रहरीकोमा पुगेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोेडेर गरेको कुराकानी सहितको अडियोको सत्यतथ्य पत्ता लगाउँन माग गर्दै उनी बुधबार नेपाल प्रहरीको भोटाहिटी स्थित साइबर ब्यूरोमा पुगेकी हुन् । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको अडियो झुटो रहेको दाबी गर्दै आएकी राणाले यसअघि पनि यो विषयमा संसददेखि लिएर विभिन्न फोरममा बोलेकी छिन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि आरजु राणाका विषयमा धेरैले चासो लिइरहेका बेला उनी साइबर ब्युरो पुगेकी हुन् । कतिपयले राणा बालकृष्ण खाँण पक्राउ परेपछि आफू पनि त्यो प्रकरणमा समातिन सक्ने भयले साइबर ब्युरो गएको अनुमान गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाले साढे दुई करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले ६ करोड रुपैंयाँ बुझेको भनिएको अडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ ।

यसअघि आरजु राणाले यो विषयमा संसदमा समेत बोलेकी थिइन् । आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै महिला भएकै कारण आफूलाई लखेटिएको बताएकी थिइन् । गएको आइतबारको संसद बैठकमा उनले भनेकी थिइन् : “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।” आइतबारको संसद बैठकमा डा. आरजु राणाले आपूmलाई महिला भएकै कारण हेपिएको भनेपछि मंगलबार रास्वपा सांसद डा.तोषिमा कार्कीले उनलाई जवाफ फर्काउँदै भ्रष्टाचारको मामलामा महिला र पूरुष भनी लिंगका कुरा नगर्न चेतावनी दिएकी थिइन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आक्रोशित शैलीमा प्रस्तुत हुँदै डा. कार्कीले भनेकी थिइन् , एक माननीय महिला सांसदले भन्नुभयो– टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनपर्याे, भ्रष्टाचारमा कहाँनेर लिङ्ग जोडिएको हुन्छ ?”

डा.आरजु राणा र मञ्जु खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा लिएको भनिएको अडियो सार्वजनिक भएपछि उनीहरुलाई तत्काल पक्राउ गर्न राष्ट्रिय सभाको बैठकमा समेत आवाज उठेको थियो । राष्ट्रिय सभाको आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले अरजु राणा र मञ्जु खाँणलाई पक्राउ गर्न माग गरेका थिए । उनले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जि जारी हुन नसकेको हो भन्दै प्रश्न समेत उठाएका थिए ।

राष्ट्रियसभा सदस्य दाहालले बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा आरजु राणा देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड रुपैयाँ बुझेको भन्ने अडियो सार्वजनिक भएको आफूले सुनेको तर उनीहरुलाई पक्राउ पुर्जि जारी गरेको छ भन्ने नसुनेको बताएका थिए ।

उनले भनेका थिए ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो । आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ,तर, उनीहरुलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन ।’
आरजु राणा र मञ्जु खाँणले भुटानी शरणार्थी प्रकरणमा पैसा नै लिएको भन्ने अडियो सार्वजनिक भएपछि यसले संसददेखि सदन सम्म आक्रोशको रुप लिएको थियो । बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि यो प्रकरणमा हाइ प्रोफाइलका अन्य नेताहरु पनि समातिन सक्ने अनुमान गरिएका बेला कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा साइबर ब्युरोमा पुगेपछि यसलाई धेरैले चासोका साथ हेरेका छन् । साइबर ब्युरोले यस विषयमा कस्तो प्रकारको निष्कर्ष निकाल्छ त्यो भने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार