पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिँदा हत्कडी नलगाइएको भन्दै एक महिलाले सडकमा उभिएर व्यापक आक्रोश पोखिन् । सडकमा उभिएर खाँण र प्रहरीतर्फ धारे हात लाउँदै उनले पटक पटक आक्रोशित शैलीमा भनिन् यस्ता मान्छेलाई त इराकमा सदाम हुसेनलाई झैं गर्नुपर्छ । आफूलाई कुशुम खड्का बताउँने ती महिला सडकमा एक्लै खाँणमाथि खनिएकी थिइन् । कहिले धारे हात लाउँदै त कहिले औँंला ठड्याँउदै उनले खाँणलाई विभिन्न उपमा समेत दिइन् ।
प्रहरीको उच्च सुरक्षा घेरामा अदालतमा उपस्थित गराइएका खाँणले ती महिलाको आक्रोशतर्फ कुनै ध्यान दिएनन् । अदालतबाट बाहिरिँदा बाहिरिदै खाँणलाई पत्रकारले सोधे : तपाईँ के भन्न चाहनुहुन्छ ? जवाफमा खाँणले आफू संलग्न नरहेको छोटो प्रतिकृया दिए । मुखमा मास्क लगाएर अघि बढेका खाँणको बोली अत्यन्तै मलिन थियो । मलिन स्वरमा उनले यत्तिमात्रै भने : म संलग्न छैन ।
खाँण सहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा केहीलाई हत्कडी लगाइएको थियो भने केहीलाइ थिएन । एउटै अभियोग लागेका मध्ये केहीलाई हत्कडी लगाइनु र केहीलाई नलगाइनुलाई विभेद भन्दै सामाजिक सञ्जालमा पनि आक्रोश पोखिएको छ । हत्कडी लगाइएका र नलगाइएकाहरुको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै केहीले लेखेका छन् : कठै मेरो देश, एउटै अभियोगमा कसैलार्ई के कसैलाई के ।
यसैबीच जिल्ला अदालत काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहितका व्यक्तिलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँलाई कांग्रेस नेता खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।





