पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आइतबार साँझ बुढानिकलण्ठस्थित साथीको घरबाट समातिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फन्दाबाट जोगिन उनले अनेकन उपाय लगाएपनि त्यसमा सफल हुन सकेनन् । आफ्ना कार्यकर्ता तथा हितैषि मित्र नारायण पौडेलको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले उनलाई समातेको हो । प्रहरी बुढानिकलण्ठ पुग्दा आइतबार साँझ व्यापक हावाहुरी सहित पानी परिरहेको थियो । त्यो बेजोडको हावाहुरीमा प्रहरी घरभित्र छिर्ने अनुमान टोपबहादुर र उनका साथी नारायण पौडेललाई थिएन । सायद टोपबहादुर र उनका साथीलाई गेटमा बजेको आवाज हावाहुरीको होला भन्ने थियो । तर, गेटको आवाज हावाहुरीको मात्रै नभएर भागेका टोपबहादुरलाई पक्राउ गर्न पुगेका प्रहरीको थियो । प्रहरीले गेट खोल्न भनेपछि उनीहरुको सातोपुत्लो उड्यो । प्रहरी स्रोतका अनुसार नारायण पौडेलका सहयोगीले गेट खोलिदिए । बालकृष्ण खाँणलाई पक्राउ गर्दा जस्तो त्यहाँ नोकझोक चलेन । टोपबहादुर प्रहरीले भन्ने बित्तिकै प्रहरीसँग गएर गाडीमा बसे ।
२१ वैशाखदेखि फरार रहेका टोपबहादुर त्यही दिनदेखि पौडेलको घरमा बसेका भने होइनन् । बुढानिलकण्ठस्थित साथीको घरमा उनी अघिल्लो दिन शनिबार मात्र पुगेका थिए । त्यसबीचमा उनी बुटवल, पोखरा र नयाँदिल्लीमा लुकेको अनुमान छ । स्रोतका अनुसार उनी शुक्रबार मात्रै नयाँ दिल्लीबाट नेपाल आएका थिए । आफूलाई पक्राउ गर्न प्रहरीको टोली भारतमै खटिएको जानकारी पाएपछि उनी नयाँ दिल्लीबाट पोखरा हुँदै काठमाडौं आएका हुन् । तर, उनी प्रहरीको आँखा छल्दै कसरी नयाँ दिल्ली पुगे अनि कसरी दिल्लीबाट काठमाडौं आए भन्ने कुरा भने खुलिसकेको छैन । कतिपयले सुरक्षा निकायकै सहयोगमा उनी विभिन्न ठाउँमा पुग्न र लुक्न सफल भएको भनेका छन् भने कतिपयले टोपबहादुर माओवादी द्धन्दकालका छापामार रहेका कारण पनि टोपबहादुरले सजिलै प्रहरीको आँखा छल्न सकेको भनेका छन् । प्रहरी स्रोतले भने टोपबहादुर नयाँदिल्लीबाट नेपाल फर्किएको सूचना पाएपछि पछ्याउँदै उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी हुँदाका बखत टोपबहादुर अर्घाखाँचीको एक विद्यालयमा विशेष अतिथिका रुपमा सहभागी थिए । त्यही दिन उनका विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी अर्घाखाँचीको कार्यक्रम सकिएको केहीबेरबाटै फरार भए । उनी यसरी फरार भए कि धेरैलाई उनले चकित तुल्याइदिए । पक्राउ पुर्जी जारी हुँदाका दिन आफूलाई फसाउन खोजियो भन्दै सञ्चारकर्मीसँग गुनासो गरेका रायमाझीले अनुसन्धानका लागि प्रहरीलाई भने सघाउने बताउएका थिए । अनुसन्धानमा प्रहरीलाई सघाउनु आफ्नो कर्तव्य भएको बताएर त्यहाँबाट बाहिरिएका रायमाझी आफैं प्रहरीकोमा उपस्थित हुने अनुमान गरिएको थियो । प्रहरीका उच्चपदस्थ अधिकारीलाई फोन नै गरेर आफ्ना विरुद्ध जारी भएको पक्राउ पुर्जी के हो भनेर उनले सोधखोज समेत गरेको भन्ने खबर सार्वजनिक सञ्चार माध्यमहरुमा आएका थिए । प्रहरीका उच्चपदस्थ ती अधिकारीसँग उनले आफैं प्रहरीकोमा आउने बताएका थिए । टोपबहादुर रायमाझी आफैंले प्रहरीलाई फोन गरेर म आउँदैछु भनेपछि प्रहरी उनको बाटो हेरेर बस्यो । कतिबेला टोपबहादुर आउलान् र उनलाई राखुँला भनेर प्रहरी अधिकारीहरु टोपबहादुरको प्रतिक्षामा रहे । तर, दिन बित्यो, रात बित्यो टोपबहादुर आएनन् ।
काठमाडौंमा टोपबहादुरका विरुद्ध पक्राउ पुर्जी जारी भएको खबर जसरी तिब्र गतिमा फैलियो । त्यही गतिमा टोपबहादुरका योजना पनि छिनछिनमै बदलियो । अर्घाखाँचीको कार्यक्रम सकेर उनी बुटवलतिर हानिए । सभामुख देवराज घिमिरे प्रमुख अतिथि रहेको अर्घाखाँचीको त्यो कार्यक्रममा उनी विशेष अतिथि थिए । अर्घाखाँचीको एउटा स्कुलमा विशेष अतिथिका रुपमा रहेका उनलाई प्रहरी प्रशासन चाहिँ हिरासतको विशेष अतिथि बनाउन चाहन्थ्यो । तर, उनी फरारका फरार भए । अर्घाखाँचीबाट प्रहरीका उच्च अधिकारीलाई फोन गरेर म आउँदैछु भनेपछि प्रहरीले नपत्याउँने पनि कुरा भएन । प्रहरीले पत्यायो । त्यहीभएर होला सायद प्रहरीले उनको पिछा आवश्यक ठानेन ।
प्राप्त जानकारी अनुसार अर्घाखाँचीको कार्यक्रम सकेपछि त्यो रात बुटवल बस्ने टोपबहादुर रायमाझीको योजना थियो । पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक हुनुपूर्व नै रायमाझीले बुटवलमै बस्ने भन्दै एउटा होटलमा कोठा समेत बुकिङ गरेका थिए । तर, पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएपछि उनी बुटवल गएपनि होटलमा गएनन् । बरु उनले भैरहवाबाट काठमाडौंका लागि जहाजको टिकट लिन आफू निकटलाई लगाए । उनी जहाज चढ्न भैरहवा एयरपोर्ट पुग्ने अनुमानका आधारमा प्रहरी उनलाई समात्न सादा पोसाकमा तैनाथ थिए । तर, उनी एयरपोर्ट पुगेनन् । यता काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि सादा पोशाकका सुरक्षाकर्मीहरु टोपबहादुरलाई समात्न तम्तयार अवस्थामा थिए । तर, उनका लागि गरिएको प्रतिक्षा अर्थहिन बन्यो । प्रहरीलाई छक्याएर उनी अन्तै लागे । प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार त्यो दिन रायमाझीको अन्तिम लोकेसन भैरहवामा ट्रयाक भएको थियो । तर, त्यसपछि भने उनको लोकेसन पत्ता लगाउँन प्रहरीलाई निकै हम्मे भयो । प्रहरीमाथि नै आशंका गरियो कतै प्रहरीकै सहयोगमा उनी फरार भइरहेका त छैनन् ?
कतिपयले टोपबहादुर उच्च राजनीतिक संरक्षणमा रहेको र प्रहरीको समेत साथ रहेका कारण उनी पक्राउ पर्नेमा शंका व्यक्त गरे । तर, जब कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे त्यसपछि भने उनी पनि एक न एक दिन पक्राउ पर्ने विश्वास धेरैमा पलायो । बालकृष्ण खाँण पक्राउ परेपछि भने एमालेमा पनि नैतिक दबाब सृजना भयो । बालकृष्ण खाँण पक्राउ पर्नुपूर्व एमालेका अध्यक्ष केपी ओलीले एमालेमाथि प्रतिशोध साँध्न खोजेको मात्रै बताएका थिएनन् उपप्रधानमन्त्री भइसकेको मान्छे बाटैबाट कहाँ भाग्न सक्छ र पक्राउ पुर्जी जारी गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए । तर, खाँण पक्राउ परेपछि भने एमालेले टोपबहादुरलाई एमाले सचिवबाट निलम्बन ग¥यो । एकपछि अर्को गर्दै कांग्रेसका उच्च नेताहरुको नाम पनि आउँन थालेपछि भने एमालेले त्यति धेरै संरक्षणको आवश्यकता ठानेन । पार्टीको समेत साथ नपाउँने देखेपछि टोपबहादुर आत्मसमर्पणको मनस्थितीमा पुगेको उनी निकटका व्यक्तिहरुको भनाई छ । तर, यसबीचमा तै भइपो हाल्छ कि भनेर उनले बिरामी परेको बहाना सहित संसद सचिवालयमा बिरामी बिदाको अनुनय सहितको निवेदन पनि पठाए । तर, त्यो निवेदन लिएर संसद सचिवालय पुग्ने व्यक्तिहरु को थिए भन्दै प्रहरीले सिसिटभी फुटेज लिएर गएपछि भने उनी आत्तिए ।
आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेर प्रहरीले गाडीमा राख्दा रायमाझी हतास मनस्थितीमा भने नभएको प्रहरी स्रोतको भनाई छ । उनलाई प्रहरी अधिकारीले आफैं प्रहरीकोमा उपस्थित हुन्छु भनेर किन भाग्नुभयो भनेर प्रश्न गर्दा आफै आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो र भागेँ भनेको ती अधिकारीले जनाए । पक्राउ परेका रायमाझीलाई आजै अदालत उपस्थित गराउँने तयारी छ ।





