पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्ना छोरा सन्दीप रायमाझी पक्राउ परेपछि आफ्नो मन बिग्रिएको बताएका छन् । आइतबार साँझ बुढानिलकण्ठस्थित साथीको घरबाट समातिएपछि उनले प्रहरी अधिकारीसँग कुरा गर्दै छोरा समातिएपछि आफ्नो मन बिग्रिएर भागेको बताएका हुन् । बुढानिलकण्ठबाट समातेर प्रहरीले काठमाडौं प्रहरी परिसर पु¥याएपछि उनलाई प्रहरी अधिकारीले सोधेका थिए, तपाईँ आफैं प्रहरीकोमा उपस्थित हुन्छु भन्नुभएको थियो, किन भाग्नुभयो ? जवाफमा उनले भने, ‘आउन त आउने भनेको थिएँ तर, छोरा पक्राउ परेपछि मन बिग्रियो र भागेँ ।’ छोरा पक्राउ परेपछि मन बिग्रिनुलाई स्वभाविक मान्न सकिएपनि उप प्रधानमन्त्री भइसकेको व्यक्ति भाग्नुले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नतालाई पुष्ट्याइँ गर्ने प्रहरी अधिकारीहरुको तर्क छ । ती प्रहरी अधिकारीले भने, ‘ छोरा पक्राउ परेपछि मन बिग्रियो भन्नु ठिकै हो तर, मन बिग्रिएर भागेँ भन्नु चाहिँ शरणार्थी प्रकरणमा आफ्नो संलग्नता स्विकारे बराबर हो । यदि आफ्नो गल्ती छैन भने छोरा पक्राउ पर्दा कुनैपनि बाबु भागेर हिँड्दैन बरु आफू र छोराको संलग्नता छैन भन्ने प्रमाणित गराउँन प्रहरीकोमा जान्छ । ’
पक्राउ परेपछि प्रहरीले टोपबहादुर रायमाझीलाई आइतबार राती नै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । स्वास्थ्य परीक्षणका लागि काठमाडौंको तिनकुनेस्थित एक अस्पतालमा लगिएका रायमाझीले स्वास्थ्यकर्मीलाई आफूले एक गिलास बियर खाएको बताएका थिए । पक्राउ पर्नुपूर्व बियर खाएको बताउँदै उनले भनेका थिए, आज एक गिलाँस बियर चाहिँ लिएको छु ।
स्वास्थ्य परीक्षणका क्रममा उनको स्वास्थ्य अवस्था सामान्य देखिएको थियो । यसअघि रायमाझीले फरार रहेकै बेला संसद सचिवालयमा आफू बिरामी परेको पत्र पठाएका थिए । बिरामी परेर अस्पतालमा उपचार गराइरहेको बताएका उनले के कस्तो बिरामी र कुन अस्पताल भन्ने भने खुलाएका थिएनन् । उनको त्यो पत्र संसद सचिवालयमा दर्ता नै नगरी त्यत्तिकै राखिएको थियो । संसदका बैठकमा लगातार उपस्थित नहुने सांसदको सांसद पद जाने संँवैधानिक प्रावधानका कारण उनले बाठो चाल अपनाएका थिए । तर, उनको त्यो बाठो चालले काम गरेन । नेकपा एमालेका सांसद रहेका रायमाझीलाई पार्टीले पनि लामो समय पार्टीबाट निलम्बन नगरी राखेको थियो । तर, काग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि भने नैतिक दबाबमा रहेको एमालेले उनलाई पार्टी सचिवबाट निलम्बन गरेको थियो । पक्राउ परेपछि अब उनको सांसद पद के हुन्छ भन्ने आम चासो रहेको छ । दोषी प्रमाणित नभए सम्म सांसद पद नजाने संवैधानिक प्रावधान छ । तर, उनी निलम्बनमा भने पर्न सक्नेछन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न रहेका यथेष्ट प्रमाण संकलन गरेर मात्रै उनलाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले बताएको छ । त्यसैले पनि यो प्रकरणमा सांसद रायमाझी उम्कँने ठाउँ नभएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी प्रत्यक्ष संलग्न रहेका दर्जन बढी प्रमाण हामीसँग सुरक्षित छन्’ ती अधिकारीले भने, ‘रायमाझी उम्कने ठाउँ त छँदै छैन । ’ बरु उनको बयानबाट माथिल्लो तहका अन्य नेताहरु समेत तानिन सक्ने सम्भावना भने निकै ठूलो रहेको उनको भनाई छ । रायमाझी यअसघि पक्राउ परेका अन्य व्यक्तिहरुको बयानका आधारमा र केही प्रमाणमा आधारमा तानिएको बताउँदै प्रहरी स्रोतले भन्यो, ‘अब रायमाझीको बयानका आधारमा अरु नेताहरु तानिन सक्छन् । यसमा अनुसन्धान गर्दै जाँदा शीर्ष तह सम्मै जालो पुग्न सक्ने देखिएको छ । ’
प्रहरी स्रोतले भने जस्तै यो प्रकरणमा यसअघि प्रधानमन्त्री भइसककेका व्यक्तिहरु तानिए भने पनि अनौठो भने हुने छैन । तर, त्यो तहको अनुसन्धानमा प्रहरीले आँट गर्छ या गर्दैन भन्ने कुरो भने महत्वपूर्ण छ । शीर्ष तीन नेताको दिनहुँजसो बसिरहेको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको माथिल्लो जालो तोडिन सक्नेमा भने आशंका जन्माएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दिनहुँजसो बसिरहेका बैठकलाई धेरैले शंसयपूर्ण रुपमा हेरेका छन् । कतिपयले त यसअघि टोपबहादुर रायमाझी पक्राउ नपर्नुलाई पनि तीन शीर्ष नेताकै चाँजोपाँजोका रुपमा आशंका गरेका थिए । आफू निकटका अन्य व्यक्तिहरुको नाम पनि टोपबहादुरले लिन सक्ने डरले उनीहरु दिनहुँजसो बैठक बसेको कतिपयको आरोप थियो । केही साताअघि सम्म पानी बाराबारको झैं अवस्थामा रहेका प्रचण्ड, ओली र देउवाको बैठक अन्य प्रयोजनका लागि भनिएपनि मुख्यतः यही विषयमा केन्द्रीत रहेको धेरैको भनाई थियो । त्यसो त यो बैठकमा आफूहरुलाई सहभागी नगराइएको भन्दै रास्वपा सभापति रवि लामिछानेले पटक पटक प्रधानमन्त्री प्रचण्डसँग गुनासो गरे । अबदेखिको बैठकमा रास्वपालाई सहभागी गराउँने भनेर प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई बचन दिए । तर, आइतबार पनि देउवा, प्रचण्ड र ओलीले मात्रै बैठक गरे । त्यो बैठकमा रविलाई बोलाइएन । रविलाई बाहिर राखेर तीन दलका नेताहरु मात्रै बैठकमा बस्नुले के संकेत गर्छ भन्ने प्रश्नमा राजनीतिक विश्लेषक श्याम बस्नेत भन्छन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कसरी जोगिन सकिन्छ भन्ने बैठकमा रविलाई बोलाएर के काम ? त्यहीभएर उनी बोलाइएनन् । ’





