एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीले आफूले बाहिरको खाना नखाने भएकाले घरकै सादा खाना खान पाउनुपर्ने माग गरेका छन् । आइतबार राती काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परी सोमबार अदालतमा उपस्थित गराइएका रायमाझीले घरको सादा खाना खान पाउनुपर्ने माग गरेका हुन् । रायमाझीलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले सोमबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला अदालत काठमाडौंमा ढाका टोपी, कोट र जिन्स पाइन्टमा ठाँटिएर उपस्थित भएका रायमाझीले इजलासमा न्यायाधिश समक्ष नै खानाको कुरा निकालेका हुन् । आफू प्रोष्टेटको बिरामी रहेको जानकारी दिँदै उनले औषधी सेवन गरिरहेको बताए । न्यायाधीशले उनको औषधीको प्रबन्ध गर्न प्रहरीलाई भनेपछि रायमाझीले खानाको कुरा निकाले । न्यायाधीशले खाना औषधी लगायतको प्रबन्ध प्रहरीले गर्ने भन्दै उनलाई अरु केही छ भनेर सोधेका थिए । जवाफमा रायमाझीले त्यस्तो केही छैन भनेपछि न्यायाधीशले तीन दिन हिरासतमा राखेर रायमाझीबारे अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए ।
सोमबार दिउँसो करिब ३ बजे अदालतमा पु¥याइएका रायमाझीको पालो आउँन केही समय लागेको थियो । त्यसक्रममा रायमाझीले आफ्ना वकिलसँग इजलाशमा कसरी प्रस्तुत हुने भन्नेदेखि अन्य सल्लाह पनि लिएका थिए । अदालतमा रायमाझी पुग्दा उनी भन्दा अघि १०÷११ जना थुनुवाहरु थिए । ती थुनुवाहरुसँग न्यायाधीशले गरेको सवाल जवाफ ध्यानपूर्वक सुनेर बसेका रायमाझी शुरुमा केही हतास मुद्रामा जस्तो देखिन्थे । तर, विस्तारै उनको कन्फिडेन्स लेभल बढेको झैं देखिन्थ्यो । न्यायाधीशले अन्य थुनुवाहरुलाई पेशा लगायतका विषयमा सोधेका थिए । उनी ती सबै ध्यानपूर्वक हेर्दै आफ्ना वकिलसँग कानेखुसी गरिरहेका हुन्थे । जब न्यायाधीशले टोपबहादुर रायमाझी भनेर उनको नाम लिए त्यसपछि उनी अघि सरे र कहाँ उभिऔं भनेर सोधे । न्यायाधीशले उभिने ठाउँको संकेत गरेपछि न्यायाधीश र उनको दोहोरो संवाद शुरु भयो । न्यायाधीशले रायमाझीलाई धेरै कुरा सोधेनन् । तपाईँ कहिले पक्राउ पर्नुभयो भनेर न्यायाधीशले सोधेपछि उनले भने : गएराती मात्रै ।
३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि अदालतबाट बाहिरिँदै गर्दा सञ्चारकर्मी र अदालत परिसरमा उपस्थित भएकातर्फ हात हल्लाउँदै उनले अभिवादन गरे । उनको अभिवादन पनि जोश सहितको थियो । मुस्कान सहितको अभिवादन । उनको अभिवादन र मुस्कान देखेर अदालत परिसरमा उपस्थित भएका सञ्चारकर्मीहरु अचम्मित भए । केही सञ्चारकर्मी एकअर्कासँग कुरा गर्न थाले : टोपबहादुरको कन्फिडेन्स लेभल चाहिँ खतरै रहेछ । त्यसपछि केहीबेर अदालत परिसरमै सञ्चारकर्मीहरुको अनुमान शुरु हुन थाल्यो । टोपबहादुरको यो कन्फिडेन्सको अर्थ सबैले आ आफ्नै किसिमले लगाए । टोपबहादुर सँगसँगै जसो अदालतमा उपस्थित गराइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण मुखमा मास्क लगाएर आएका थिए । अघिल्ला दिनहरुमा लगाउँदै आएको क्याप र कोट सोमबार पनि बालकृष्ण खाँणको उही नै थियो । उनी घोसेमुन्टो लगाएर अदालत छिरेका थिए । तर, टोपबहादुर कुनै पिर चिन्ता केही नभए झैं गरी प्रस्तुत भएका थिए । उनको मुखमा मास्क थिएन । अनि अनुहारमा तनावको अलिकति पनि आभास देखिदैनथ्यो । उही अभियोगमा पक्राउ परेका पूर्व मन्त्री मध्ये एकजना पूरै तनावमा र अर्का बाल मतलब शैलीमा प्रस्तुत भएको देखेर धेरैले धेरै प्रकारका अड्कलबाजी लगाए ।
टोपबहादुरको कन्फिडेन्स लेभल कसरी बढेको होला भन्नेमध्ये केहीले अदालत परिसरमै व्यंग्य गर्दै भने : पक्राउ पुर्जी जारी भएदेखि करिब १२ दिन गुमनाम भएका रायमाझीले यही कन्फिडेन्स लेभल कसरी बढाउँने भन्ने ट्रेनिङ लिएछन् । व्यंग्य मिश्रित यो अभिव्यक्तिमा केहीले हो मा हो मिलाए भने केहीले फरक तर्क तेस्र्याइहाले । फरक तर्क तेस्र्याउँदै अर्काथरीले भने : यो कन्फिडेन्स लेभल बढ्नुको मुख्य कारण बाहरुले लगातार प्रधानमन्त्रीको सरकारी कार्यालयमा गर्दै आएको बैठक हो । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा दिनदिनै जसो बस्दै आएका तीन दलका शीर्ष नेताहरुको बैठकबाट रायमाझीले केही सकारात्मक सन्देश पाएको र त्यसै कारण कन्फिडेन्स लेभल बढेको उनीहरुको तर्क थियो । तर, जे जस्तो कारणले कन्फिडेन्स लेभल बढेको भएपनि त्यो चाहिँ मनोविज्ञान अध्ययन गर्नेहरुका लागि गज्जबकै विषय थियो ।





