हिन्दू राष्ट्र या धर्मनिरपेक्षता भन्नेबारे जनमतसंग्रह गरिनुपर्ने माग नेकपा माओवादी केन्द्रमा उठेको छ । नेकपा माओवादी केन्द्रका पूर्व सांसदद्धय रामकुमार शर्मा र ईन्दु शर्माले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनमतसंग्रहको माग सहित ज्ञापनपत्र बुझाएपछि यो विषय बाहिरिएको हो ।
माओवादी केन्द्रभित्रै हिन्दू राष्ट्र या धर्मनिरपेक्षता भन्ने विषय उठिसकेपछि यसलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न १८ बुँदे माग सहित ज्ञापनपत्र बुझाएका पूर्व सांसद रामकुमार शर्मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने इन्दु शर्मा केन्द्रीय सदस्य हुन् । उनीहरुले प्रचण्डलाई बुझाएको ज्ञापनपत्रमा यी बाहेक अन्य जनजिविकाका माग समेत समावेश गरिएको छ । उनीहरुले आफ्ना माग सम्बोधन गर्न संसदमा प्रतिनिधित्व गरेका दल तथा स्वतन्त्र सांसदहरुलाई आग्रह समेत गरेका छन् ।





