प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोनमेन्ट प्रकरणमा भ्रष्टाचार भएको प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका हुन् ।
बिहिबार संसदमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिनका लागि तपाईँ तयार हुनुहुन्छ भन्ने प्रश्न गरेका थिए । सो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू छानबिनका लागि तयार रहेको र छानबिनका क्रममा त्यो प्रमाणित भए जेल जान तयार रहेको बताएका हुन् । प्रधानन्त्री प्रचण्डले भने ः तर, लडाकु शिविरमा भ्रष्टाचार भएको कुरामा सत्यता छैन ।
सांसद शाहीले प्रधानमन्त्री प्रचण्डलाई वास्तविक लडाकुको संख्या एउटा र प्रमाणिकरण गरिएका लडाकुको संख्या अर्कै थियो भन्ने कुराको भिडियो नै सार्वजनिक भएको छ । तपाईँ आफैंले त्यो कुरा भन्नुभएको छ , यो के हो ? यसमा छानबिन गर्न तपाईँ तयार हो भनी प्रश्न गरेका थिए । सांसद शाहीको प्रश्नको जवाफमा प्रचण्डले भने : ‘कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु, सबै चिज छानबिन गर्न सकिन्छ । लडाकु शिविरको कुरा कपोलकल्पित र पूर्वाग्रही छ ।’ प्रधानमन्त्री प्रचण्डले लडाकु शिविरका कुरा राजनीतिक आग्रह र पूर्वाग्रहका साथ बेलाबेलामा उठाइने गरेको बताउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र रामशरण महत अर्थमन्त्री हुँदा रूजु गरेर यो विषय टुंग्याइएको बताए । लडाकुका नाममा पैसा दिँदा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा आरोपका लागि लगाइएको आरोप मात्र रहेको दाबी गर्दै उनले यी र यस्ता आरोपमा सत्यता नभएको बताए ।
प्रधानमन्त्री प्रचण्डलाई लडाकु शिविरबारे प्रश्न गर्नुअघि सांसद शाहीले नेपाली पोशाकमा सजिएकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका थिए । साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले चालेको कदममा राप्रपाको साथ र समर्थन रहेको जानकारी समेत दिएका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई सोधेको प्रश्न यस्तो थियो : सरकारी कर्मचारी विशेष गरेर सुरक्षाकर्मी प्रहरीहरु विगत चार महिनादेखि तलब खान नपाएर उधारोमा काम गरिरहेका छन् । यो समस्या समाधान गर्नका लागि प्रधामन्त्रीले के कदम चाल्नुहुन्छ र कहिले चाल्नुहुन्छ ? र, अर्को प्रश्न चाहिँ मेरो के छ भने सम्माननीय प्रधानमन्त्रीलाई ८४६० जना पूर्व माओवादी लडाकुका नाममा अरबौं रुपमा राज्यकोषबाट गएको छ । तर, ती ८४६० लडाकु को हुन् कहाँ छन् उनीहरुको नाम के हो भन्नेबारे कहिँ कतै पनि आज सम्म फेला परेको छैन । र, प्रधानमन्त्रीज्यूलाई एउटा अवगत गराउँन चाहन्छु स्वयं प्रधानमन्त्रीज्यूको २०६४ सालमा एउटा भिडियो आयो त्यो भिडियोमा प्रधानमन्त्रीज्यूले हामीसँग ७ देखि ८ हजार मात्रै लडाकु हो । तर, हामी ३५ हजार बनाउँछौं । बाँकी फेक बनाउँछौं भन्नुभएको छ । र, प्रधानमन्त्रीज्यू स्वयंले फेक लडाकु भर्ती गरेको स्वीकार्नुभएको छ । साथसाथै प्रधानमन्त्रीज्यूलाई के भन्न चाहन्छु भने त्यो ८४६० जना लडाकुको नाममा विगत करिब ५ वर्षसम्म अरबौं रुपैंयाँ राज्यकोषबाट गएर व्यापक भ्रष्टाचार भयो भन्ने छ र त्यो आरोप तपाईँलाई नै छ । तपाइँ यो आरोप अन्त्य गर्नका लागि संसदीय विशेष समिति बनाएर छानबिन गर्न तपाईँ तयार हुनुहुन्छ ?
सांसद शाहीको यो प्रश्नमा प्रधानमन्त्री प्रचण्डले संसदमा दिएको जवाफको पूर्ण पाठ यस्तो थियो : पहिलो कुरा पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा यो आरोपका निम्ति आरोप मात्रै हो भन्ने कुरा म बडो जोड दिएर भन्न चाहन्छु । किनकि त्यतिबेला शान्ति सम्झौता भएर क्यानटोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यानटोनमेन्टको भौतिक पूर्वाधार र योद्धाहरुको रासन पानीका निम्ति भनेर राज्यबाट दिइएको रकम, त्यसको अडिट, त्यसको हिसाबकिताब , त्यहाँ को को थिए को को ले लिए भन्ने सबै रेकर्ड रहेको कुरा माननीय सदस्यलाई जानकारी गराउँन चाहन्छु । र, त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो अनि डाक्टर रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरु समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो । यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरिएको देख्दा म आफैं आश्चर्यमा पर्ने गरेको छु । इतिहासको एउटा त्यस्तो परिघटना जसले देशलाई शान्तिको एउटा नयाँ युगतिर ल्याउँन मद्दत ग¥यो । इतिहासको त्यो संवेदनशील घडी जतिबेला विभिन्न क्यानटोनमेन्टमा हजारौं लडाकुहरु राखेर देशलाई, शान्तिलाई लोकतन्त्र र परिवर्तनलाई संस्स्थागत गर्न मद्दत ग¥यो र त्यो रकम जो राज्यबाट दिइयो र त्यसको अडिट भएर टुंगो लागिसकेको विषय पटक पटक राजनीतिक आग्रह र पूर्वाग्रहका रुपमा ल्याइएको छ भन्ने मेरो बुझाई छ । यदि त्यस्तो केही छ छानबिन गर्नुपर्छ भने मैले पहिला पनि आफ्नो दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटनाहरुको सबै उच्च पदस्थ अधिकारीहरुको सम्पति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचार सम्बन्धि सबै मुद्धाहरुमा छानबीन गर्न म तयार छु । हामी सबै राजनीतिक तहमा एउटा संकल्पको साथ सहमति गरेर जाँदा सबै चिज छानबिन गर्न सकिन्छ । देशमा सुशासनको , भ्रष्टाचारबाट उन्मुक्तिको एउटा नयाँ युग शुरु गर्न सकिन्छ । म फेरि पनि माननीय सदस्यको यो प्रश्नको उत्तर दिँदै के भन्न चाहन्छु भने क्यानटोनमेन्टको कुरा कपोकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरुलाई जानकारी गराउँन चाहन्छु ।





