Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

झुक्याए ओलीले, यही हो खास खुलासा ?


नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदबाटै विशेष खुलासा गर्ने भनेर केहीदिनदेखि सामाजिक सञ्जालमा व्यापक हल्ला थियो । अझ ओली आफैंले जेठ ४ गतेको बैठकमा यो विषयमा संसदमै बोल्छु भनेपछि त ओलीले आज सम्म कसैलाई थाहा नभएको कुरा बोल्ने भए भनेर धेरैले व्यग्रताका साथ संसदमा ओलीको बोलीको प्रतिक्षा नगर्ने कुरै भएन । ४ गते उनी संसदमै गएनन् । आफू बिरामी परेर संसदमा त्यो दिन उपस्थित हुन नसकेको उनले आइतबारको संसद बैठकमा जानकारी दिए । त्यो दिन बिरामी परेर संसद बैठकमा ओली आउन सकेनन् भन्ने जानकारीलाई अन्यथा मान्ने कुरा पनि भएन । तर, अनौठो त त्यो भयो कि आइतबारको संसद बैठकमा झण्डै दुई घण्टा बोलेका ओलीले करिब २१ मिनेट नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयमा बोलेपनि त्यस्तो गुह्य कुरो केही बोलेनन् । के के न बोल्लान् भनेर ध्यानपूर्वक उनको कुरा सुनिरहेकाहरुलाई हाती आयो हाती आयो फुस्सा भने जस्तै भयो । उनले यो प्रकरणका विषयमा आफूले तथ्य र प्रमाणहरु संकलन गरिरहेको र संसद बैठकमै बोल्ने बताउँदै आएका थिए । तर, आइतबारको संसद बैठकमा सक्कली भुटानी शरणार्थीका विषयमा अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुससँग आफूले भेटेकोदेखि संयुक्त राष्ट्रसंघको महासभामा बोलेको सम्मका कुराको फेहरस्ति प्रस्तुत गरेका ओलीले नक्कली भुटानी शरणार्थीको जालो बारे बोलेनन् ।

उनले यो प्रकरणमा अहिले निर्दोषलाई फसाउँने षडयन्त्र भइरहेको बारम्बार दोहो¥याए तर, निर्दोषलाई फसाउन खोजेको भनिरहँदा को चाहिँ निर्दोष हुन् र को चाहिँ दोषी हुन् त्यसबारे बोल्दै बोलेनन् । उनले संसद बैठकमा बोलिरहँदा धेरैलाई यो प्रकरणको इतिवृतान्त ओलीले कहन्छन् भन्ने लागेको थियो । तर, तथ्य र प्रमाणसहित बोल्ने दाबी गरिरहेका ओलीले यो प्रकरणको छेउ टुप्पो केही खुलाउन सकेनन् । नेपाली मुलका नेपाली भाषी भुटानी शरणार्थी ८९÷९० मा भुटानबाट लखेटिएर नेपाल आएको, त्यसपछि उनीहरु नेपालका खोला किनारामा बसेको, पछि उनीहरुका लागि बस्ने शिविरको व्यवस्था गरिएको त्यसबीचमा भुटानलाई आफ्ना देशका नागरिक लैजान पटक पटक आग्रह गरिएको तर, भुटानले नमानेको जस्ता जो कोहीलाई थाहा भएका कुरा उनले संसद बैठकमा प्रस्तुत गरे । भुटानी नागरिक फिर्ता लैजान भुटानसँग देउवा गृहमन्त्री हुँदा पनि कुरा गरेको र आफू गृहमन्त्री हुँदा पनि कुरा गरेको । विभिन्न पटक गरी १६ वटा वार्ता भुटानसँग गरेको तर, भुटानले शरणार्थी फिर्ता लैजान नमानेको सामान्य जानकारी संसदलाई दिने बाहेक ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही खुलाएनन् । सक्कली शरणार्थीको व्यवस्थापनमा आफू गृह र परराष्ट्रमन्त्री हुँदा गरेका वार्ताको सन्दर्भ उल्लेख गर्दै उनले संयुक्त राष्ट्रसंघको महासभामा जाँदा अमेरिकी तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग भेटेको कुरा सानपूर्वक संसदलाई सुनाए । बुससँग रिसेप्सनमा आफूले उतिबेला शरणार्थी व्यवस्थापनका विषयमा सहयोग मागेको र बुसले अमेरिकी विदेशमन्त्रीसँग कुरा गर्न सल्लाह दिएपछि आफूले विदेशमन्त्रीलाई भेटेको कुरा संसदमा सुनाएका ओलीले त्यो भेटपछि ६० हजार शरणार्थीको व्यवस्थापन भएको जानकारी दिए । तर, संसदको बैठकमा नै नक्कली भुटानी शरणार्थी प्रकरणको विषय खोल्ने दाबी गर्दै आएका ओलीले यो विषयमा तथ्य र प्रमाणसहित आफू संसदमा प्रस्तुत हुने बताएपनि यसबारे कुनै त्यस्तो गुह्य तथ्य र प्रमाण पेश गरेनन् ।

यसअघि उनका कुरा सुन्दा लाग्थ्यो, ओलीले यो प्रकरणबारे संसदमा सबै कुरा छताछुल्ल पार्नेछन् । उनले संसदमा बोलेपछि अनुसन्धानका लागि प्रहरीलाई विशेष क्लु मिल्नेछ । तर, त्यस्तो भएन । के के न बोल्ने भने झैं गरी प्रचार प्रसार गरेर ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कने भए र निर्दोष फस्ने भए भन्ने कुरामा विशेष जोड मात्रै दिए । तर, दोषी उम्कँदै छन् भने कसमाथि अनुसन्धान गर्दा उम्कन पाउँदैनन् र निर्दोष फस्दैछन् भने कस्ता व्यक्ति निर्दोष हुन् भन्ने बारे बोल्दै बोलेनन् ।

बरु उनले आफूसँग यो विषयमा बोल्ने धेरै कुरा भएको तर, आजको बैठकमा डिटेलमा नजाने भनेर फेरि मान्छेमा कौतुहलता मात्रै सृजना गरिदिए । आइतबारको बैठकमा ओलीलाई डिटेलमा जान के ले रोक्यो त्यो उनै जानुन् । समयको कमी भन्ने हो भने उनका लागि बोल्न समयको कुनै परिधी तोकिएको थिएन । तथ्य र प्रमाणको कमी भन्ने हो भने बारम्बार यसअघि उनी प्रमाणका आधारमा बोल्छु भन्दै थिए । एक्कासी ती तथ्य र प्रमाण कहाँ हराए ? जनजनले यतिबेला ओलीसँग यो सोधिरहेका छन्


प्रतिक्रिया दिनुहोस !
विचार