नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी चुनावमा बहुमत ल्याउनका लागि अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमा दैनिक ५० हजार लाइक र कमेन्ट गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएपछि अहिले सामाजिक सञ्जालमा उनको ट्रोल बनेको छ ।
ओलीको फेसबुक पेजमा पोष्ट भएका सामग्रीमा दैनिक ५० हजार लाइक र कमेन्ट पु¥याउन सकियो भने एमालेको बहुमत कसैले रोक्न नसक्ने बताएपछि उनको ट्रोल बनेको हो । राजधानीमा आयोजिक एक कार्यक्रममा उपमहासचिव ओलीले अन्य पार्टी र स्वतन्त्र नेताहरुको फेसबुक पेजमा भएका लाइक र कमेन्टको उदाहरण दिँदै आफूहरुले त्यस्तै लाइक र कमेन्ट गर्न सके अन्य सञ्चार माध्यमले जे लेखे पनि फरक नपर्ने बताएका ह्ुन् । काठमाडौंका मेयर बालेन साहले फेसबुकमा केही लेखेपछि ८० ÷९० हजार लाइक आउने गरेको , धरानका मेयर हर्क साम्पाङले लेख्ने बित्तिकै ४० ÷५० हजार र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही लेख्नेबित्तिकै ३०÷४० हजार लाइक आउने गरेको उनले बताए । तर, एमाले अध्यक्षको पोष्टमा त्यति लाइक नदेखिएको भन्दै आक्रोशित शैलीमा प्रस्तुत भएका एमाले उपमहासचिव रिमालले एमाले कार्यकर्ताहरुलाई लाइक कमेन्टको अभियान सञ्चालन गर्न निर्देशन दिए । उनले कार्यकर्ताहरुलाई भने, अरुबाट तपाईँहरुले सिक्नुहोस् ।
चुनावमा एमालेले बहुमत ल्याउन लाइक कमेन्ट अभियानलाई तिब्रता दिनुपर्ने बताएका उनले फेसबुक पेजमा केही लेख्न नजाने सूर्यको जय होस्, जय सुर्य जस्ता शब्द लेख्न वा सुर्य चिन्ह राख्न कार्यकर्तालाई सुझाव दिए । कार्यकर्ताहरुलाई पार्टी अध्यक्षको पोष्टमा लाइक कमेन्ट गर्न निर्देशन दिएका उपमहासचिव रिमालले उदाहरण दिने क्रममा धरानका मेयर हर्क साम्पाङलाई बौलाहा मेयरको संज्ञा दिए । उनले भने, धरानतिरको एउटा बहुला टाइपको मेयर छ । काम त राम्रै गरेको होला बाहिर त पपुलर छ धरानभित्र कति छ थाहा छैन । उसैकोमा एक घन्टाभित्रै ४०÷५० हजारले लाइक गरेको देख्छु ।
धरानका मेयरलाई बहुला टाइपको मेयर र अन्य नेताकाप्रति पनि अनादरार्थी शब्द प्रयोग गरेकोमा उपमहासचिव रिमालको यतिबेला सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मध्ये केहीले सोमत नभएको नेता भनी टिप्पणी गरेका छन् । रिमालको बोलीले एमालेको बहुमत गिराउन मद्दत पु¥याएको उनीहरुको भनाई छ । धरानका मेयर हर्क साम्पाङलाई बौलाहा टाइपको मेयर भनेपछि उनलाई धेरैले त्यो शब्द फिर्ता लिन सुझाव समेत दिएका छन् । अनि कतिपयले चाहिँ रिमालले मेयरको मानहानी गरेको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग समेत गरेका छन् । धरानका मेयरले जति काम गरे त्यति काम गरेर देखाउँन चुनौती दिँदै केहीले अरुलाई मनपरी नभन्न चेतावनी पनि दिएका छन् ।
एमाले अध्यक्षको पेजमा दैनिक ५० हजार लाइक र कमेन्ट गर्न कार्यकर्तालाई दिएको निर्देशनबारे सामाजिक सञ्जालमा फरक फरक प्रतिकृया आएका छन् । एमालेकै केही नेता तथा कार्यकर्ताले उनको भनाईलाई गलत तबरले प्रस्तुत गरिएको भन्दै गुनासो गरेका छन् भने केहीले लाइक र कमेन्ट हुँदैमा बहुमत आउने भए रत्पार्कका मुकुन्देले चुनाव लडे जित्नुपर्ने भन्दै व्यंग्य गरेका छन् । लाइक र कमेन्टलाई आधार मानेर चुनाव जितिने या हारिने भन्ने मनोविज्ञान ठूला दलका नेताहरुमा देखिनु पछिल्लो राजनीतिक छटपटाहट भनेका छन् । तर, जसले जे भनेपनि विष्णु रिमालले भने जस्तै ओलीको फेसबुक पेजमा लाइक र कमेन्ट भने बालेन, हर्क र रवि लामिछानेहरुको तुलनामा कम देखिएको पक्कै हो । ओलीको फेसबुक पेजमा पोष्ट भएका सामग्रीमा बालेन, हर्क र रविहरुको जति लाइक र कमेन्ट किन आउँदैन भनेर चिन्ता लिनु पनि स्वभाविक नै हो । तर, सोसियल मिडियालाई नै सर्वेसर्वा ठान्नु र नेताहरु लाइक कमेन्टकै पछि लाग्नु चाहिँ कुरीकुरीकै विषय हो ।





