Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

मेयर बालेन शाह पनि गए भारत


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि भारत गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहेकै बेला रास्वपा सभापति रवि लामिछानेको मुम्बई यात्राले नेपाली राजनीति तरंगित भइरहेका बखत काठमाडौं महानरपालिकाका मेयर बालेन शाह भारत गएको खबरले सामािजक सञ्जाल थप तातिएको छ । प्रधानमन्त्री भारत भ्रमणमा जानु, त्यस लगत्तै रवि लामिछाने पनि भारततिर हानिनु अनि त्यसको केही घण्टा व्यतित हुन नपाउँदै काठमाडौं महानगरका मेयर बालेन शाह पनि भारत जानुलाई कतिपयले संयोग मानेका छन् भने कतिपयले विशेष रहस्य रहेको रुपमा टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहले उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर बिहीबार भारत गएको बुझिएको छ । तर, मेयर शाहले भारत जानुको कारण भने खुलाएका छैनन् । त्यसो त उनले कार्यबाहकको जिम्मेवारी दिँदै उपमेयर सुनिता डंगोललाई दिएको पत्रमा पनि भारत गएको भनेका छैनन् । काठमाडौं बाहिर जानुपर्ने भएका कारण भनी उनले पत्रमा उल्लेख गरेका छन् । कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले उपमेयर सुनिता डंगोललाई दिएको अख्तियारी पत्रमा उल्लेख छ ।

यता बालेन निकट स्रोतले दिएको जानकारी अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह भारतको बैंगलोर गएका हुन् । बालेन शाह पत्नीको उपचारका लागि गएको बुझिएपनि कतिपयले भने यसमा पारिवारिक मात्रै नभएर राजनीतिक भेटघाटको उद्देश्य पनि रहेको आशंका गरेका छन् । रवि लामिछाने पनि भारतमा हुनु अनि बालेन शाह पनि भारत जानुले राजनीतिक उद्देश्य निहित रहेको केहीको बुझाई छ । रवि लामिछाने पनि पत्नी निकिता पौडेल सहित भारत गएका छन् । उदीयमान दुई नेताको भारत यात्रालाई राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आशंका गरिएपनि यसमा खास दम भने नरहेको विश्लेषकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार