Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मुर्रा भैंसीको प्रसंगले संसदमा हंगामा


मुर्रा भैंसीको सन्दर्भ संसदमा प्रवेश गरेपछि संसद बैठकमा हंगामा भएको छ । सोमबारको संसद बैठकमा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा भारतबाट प्रधानमन्त्री फर्कदा आफैंले उद्घाटन गरेको पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएपछि संसदमा हंगामा भएको हो । रास्वपा सांसदले प्रधानमन्त्री भैंसी चढेर आएको सुन्नुपरेको भन्ने बित्तिकै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए । त्यसपछि सत्ता र प्रतिपक्षका सांसदहरुले हो हल्ला शुरु गरेका थिए ।

माओवादी केन्द्रका सांसदहरुले भैंसी चढेर आएको भन्ने असंसदीय शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै टेबुल ठोकेपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिए । तर, संसदको होहल्लाका कारण बोल्ने अवस्था रहेन । सभामुख घिमिरेले त्यसबीचमा हो हल्ला गर्ने सांसदहरुलाई बस्न पटक पटक आग्रह गरे । तर, सांसदहरु बस्न मानेनन् । एमालेका सांसद सूर्य थापाले बोल्नका लागि बारम्बार सभामुखसँग समय माग गरेपछि सभामुखले थापालाई बोल्ने समय दिए । आफू भैंसी चढेर आएको भन्ने कुरा प्रधानमन्त्री स्वयंले भनेका कारण यसमा धेरै विवाद नगर्न उनले अन्य सांसदलाई आग्रह गरे । रास्वपाका सांसद शिशिर खनालतर्फ इंगित गर्दै उनले प्रधानमन्त्रीले भैंसी चढेर आएको भन्ने कुरा गर्दा केही नहुने तर, प्रतिपक्षी सांसदले भन्दा यत्रो हंगामा भन्दै सत्तापक्षका सांसदहरुलाई दादागिरी नदेखाउँन चेतावनी दिए ।

एमाले सांसद थापाले दादागिरी भन्ने शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरु थप आक्रामक बने । माओवादी सांसदहरुले थापातर्फ औंला ठड्याउँदै प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको देखाउन चेतावनी दिए । विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । तर, सभामुखको निर्देशनपछि पनि एमाले र रास्वपाका सांसदहरुले विरोध गर्न छाडेनन् । भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउने भए मुर्रा भैंसीका सन्दर्भमा प्रधानमन्त्रीले बोलेको कुरा पनि रेकर्डबाट हटाउँन उनीहरुले सभामुखसँग माग गरे ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ वटा मुर्रा भैंसी भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको देखिएको बताएका थिए । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री प्रचण्डले बोलेको त्यही शब्दमा टेकेर आफूहरुले पनि बोलेको भन्दै भैंसी चढेको भन्ने कुरा संसदको रेकर्डबाट हटाउने भए प्रधानमन्त्रीले बोलेको कुरा पनि हटाउन माग गरेका थिए । एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरेका थिए । बोल्ने क्रममा रास्वपा सांसद रवि लामिछानेले सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको बताएका थिए । संसद प्रतिपक्षको हुने भन्दै उनले सत्ता पक्षले दादागिरी देखाए ठिक नहुने चेतावनी दिए । उनले संसदको रेकर्डबाट सो शब्द हटाउँने भए यो विषयमा प्रधानमन्त्रीले बोलेको कुरा पनि हटाउँदा आफूहरुको विरोध नरहने बताए । प्रधानमन्त्रीले बोलेको कुराको दृष्टान्त दिँदै आफ्ना सांसदहरुले बोल्दा सत्ता पक्षका सांसदहरुले बोल्न नदिएको भन्दै उनले यस्तो तरिका आफूहरुलाई सह्य नहुने बताए ।

सांसद लामिछानेले बोलेपछि सभामुख घिमिरेले प्रधानमन्त्रीले फरक सन्दर्भमा बोलेको भन्दै जो कोहीले बोलेको भएपनि भैंसी चढेर आएको भन्ने कुरा आपूmले संसदको रेकर्डबाट हटाउन भनेको बताए । त्यसपछि संसदको हो हल्ला रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार