Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ


ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार सञ्चालक गुरुङलाई उनैको निवास नक्सालबाट पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् ।
यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलेमतोमा सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।

ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । हिनामिना भएको जग्गा मध्ये ११२ रोपनी ४ आना जग्गा गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी लगायतसँगको मिलेमतोमा खरिद गरेका थिए ।

जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । गुरुङ २०७७ माघ २१ गते आफैँ विशेषमा उपस्थित भएका थिए । उपस्थित भएकै दिन गुरुङ २ करोड धरौटी तिरेर छुटेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार