Logo
११ असार २०८३, बिहीबार
|  Fri Jun 26 2026

काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन


काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।

‘कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौँ महानगरपालिकाले आफँै नै सञ्चालन गर्न लागेको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले जानकारी दिएका छन् ।

यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९ – ०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आसार मसान्तभित्र पठाउन पनि महानगरले निर्देशन दिएको छ ।

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई आह्वान गरिएको प्रमुख शाहले बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार