
नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बचाउ गरिरहेका बेला केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कडा अभिव्यक्ति दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय समिति बैठकमा शिवाकोटीले कांग्रेसले खाँणबारे दोहोरो चरित्र देखाउँन नहुने बताए । उनले कांग्रेसले कि त खाँण रोज्नुपर्ने कि त सरकार रोज्नुपर्ने भन्दै खाँणलाई पक्राउ गर्ने सरकार र पक्राउ पर्ने खाँण दुबै सही हुन नसक्ने बताए ।
खाँणलाई पार्टीले निलम्बन नगरेको भन्दै राजनीतिक वृत्तमा आवाज उठिरहेका बेला केन्द्रीय सदस्य शिवाकोटीले यसबारे पार्टीले ठोस निर्णय लिनुपर्नेमा जोड दिए । सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले भने, खाँणका विषयमा हाम्रो दुविधा अचम्मकै छ खाँणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुप¥यो होइन भने खाँणलाई निलम्बन गर्नुप¥यो ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएकै दिन कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणाले अजयबाबु शिवाकोटीलाई बैठकस्थल बाहिर धम्क्याएको भन्दै समाचार आइरहेका बेला अजयबाबु शिवाकोटीले खाँण निलम्बनको आवाज उठाएपछि यो विषयले फेरि राजनीति तरंगित बनेको छ । आरजु राणा तथा सभापति शेरबहादुर देउवा निकट मानिने पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बनको आवाज उठाउने हिम्मत केन्द्रीय समिति बैठकमा नै गर्नुलाई धेरैले अजयबाबु शिवाकोटीको साहस भनेका छन् । अझ त्यसमा पनि आरजु राणाको तारो शिवाकोटी बनिरहेको भन्दै समाचार आइरहेका बेला खाँणको विषय उठाउनुलाई सामान्य रुपमा लिन नसकिने केहीको भनाई छ । खाँण पक्राउ परेपछि विभिन्न तबरबाट आरजु राणाको पनि नाम सञ्चार माध्यममा आएको थियो । भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पनि समात्नुपर्ने भन्दै संसदमै आवाज उठेको थियो । सो आवाज अनौपचारिक रुपमा कांग्रेसकै नेताहरुले समेत उठाउन थालेपछि आक्रोशित बनेकी राणा कांग्रेस केन्द्रिय समितिको पहिलो बैठकबाट बाहिरिने क्रममा शिवाकोटीमाथि खनिएको सञ्चार माध्यमहरुमा समाचार आएका थिए । यता शिवाकोटीले कांग्रेस केन्द्रीय समितिको बैठकमै आफूमाथि केन्द्रीय समितिकै हलमा जिम्मेवार नेताले दादागिरी देखाएको बताएका छन् । आफूमाथि केन्द्रीय समितिकै हलमा जिम्मेवार नेताले बुलिङ गरेको भन्दै उनले सञ्चार माध्यममा व्यक्त धारणाका विषयमा त्यस्तो गर्न कांग्रेसका नेताहरुलाई नसुहाउने बताए । उनलेभ भने, वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै सार्वजनिक सञ्चार माध्यममा व्यक्त धारणाका विषयमा पार्टीकै जिम्मेवार व्यक्तिले केन्द्रीय समितिको यसै हलमा बुलिङ गर्नु गैर लोकतान्त्रिक हो ।